भद्रपुरमा ६ महिने निःशुल्क कम्प्युटर तालिम शुरु

0
682

भद्रपुर ।

भद्रपुरमा ६ महिने निःशुल्क कम्प्युटर तालिम शुरु भएको छ । भद्रपुरस्थित व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको सहकार्यमा भद्रपुर नगरपालिका नगर युवा परिषद्को आयोजना सो तालिम शुरु भएको हो । सो तालिमको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठले तालिमको उद्घाटन गर्दै कम्प्युटर तालिममा छनौट भएकाहरू लगनशील भएर तालिम लिएर आफ्नो सिप व्यावसायिक प्रयोजनमा ल्याउनु पर्नेमा जोड दिए । ‘कम्प्युटर तालिममा आकाङ्क्षी उम्मेदवारहरू धेरै छन्,’ उनले भने, ‘छनौटमा परेकाहरूले ६ महिने लामो तालिममा सहभागी नभए अहिले जानकारी गराइदिनुहोस्, त्यसको ठाउँमा वैकल्पिक उम्मेदवारले अवसर पाउँछ ।’ ‘यो अवसर हो, यसको सदुपयोग युवापुस्ताले गर्नुपर्ने छ,’ उनले बताए ।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज प्रसाईँ, व्यावसायिक तथा सिप विकास तालिम केन्द्रका निमित्त केन्द्र प्रमुख रमेश कोइराला लगायतको उपस्थिति रहेको थियो ।

तालिमको उद्देश्यमाथि व्यावसायिक तथा सिप विकास तालिम केन्द्रका कर्मचारी गौतम पौडेलले प्रकाश पारेका थिए । सामाजिक विकास शाखाका प्रमुख जीवनकला राउतले स्वागत मन्तव्य राखेकी कार्यक्रमको सञ्चालन नगरपालिकाकी प्रेस संयोजक गंगा बरालले गरेकी थिइन् ।

कम्प्युटर तालिमका लागि १७२ जनाले आवेदन दिएकोमा उत्कृष्ट ३१ जना छनौट भएका थिए । त्यसमा ११ जना वैकल्पिक रहेकोमा तालिमका लागि २० जना छनौट भएको जनाइएको छ । त्यस्तै व्यावसायिक तथा सिप विकास तालिम केन्द्रले झापासहित विभिन्न जिल्लामा विभिन्न तालिम कार्यक्रम सुरु गरिसकेको केन्द्रका कर्मचारी पौडेलले जानकारी दिए ।

केन्द्रले दमक नगरपालिकामा सिलाई कटाई, दमकमा अपाङ्गता सहयोग समितिमा सिलाई कटाई, बेलबारी साना सहकारी खानेपानी समितिमा प्लम्बिङ, दमक ३ नम्बर वडा कार्यालयमा प्लम्बिङ, कुम्मायक गाउँपालिका पाँचथरमा मोबाइल मर्मत, लालीगुराँस सामुदायिक संस्था इलाममा मोबाइल मर्मत, इलाम ७ नम्बर वडा कार्यालयमा ६ महिने कम्प्युटर तालिम, जनकल्याण सामुदायिक पुस्तकालय इलाममा ६ महिने कम्प्युटर तालिम, इलाम ८ नम्बर वडा कार्यालयमा ढाका बुनाई, बुद्धशान्ति गाउँपालिका ७ नम्बर वडा कार्यालयमा विद्युत् जडान, भद्रपुर जेसीजको आयोजनामा विद्युत् जडान र फिदिम नगरपालिका ४ नम्बर वडा कार्यालयमा ६ महिने कम्प्युटर तालिम सुरु भइसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here