पथरीशनिश्चरे नगरभित्र हरियालीले नयाँ वर्षदेखि पर्यटन भित्र्याउने

0
548

छविराज ढकाल / पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरमा स्थापित पर्यटन क्षेत्रमा आगामी नयाँ बर्षदेखि पर्यटक भित्र्याउने योजना पास भएको छ ।

हरियाली सामुदायिक वन पब्लिक लिमिटेडको सोमबार आयोजित दोस्रो वार्षिक साधारण सभाले आगामी २०७९ बैशाख १ बाट आन्तरिक पर्यटकहरुको लागि खुल्ला गर्ने निर्णय भएको हो ।
पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले उक्त अवसरमा हरियाली सामुदायिक वनमा बन्न लागेको पर्यटन क्षेत्रले नगरमा सबैभन्दा ठूलो आम्दानीको श्रोत बन्नेमा आशावादी रहेको बताएका छन् ।

आफूले बिदेश हङ्कङ भ्रमण गर्न जाँदा त्यहाँ बिग बुद्ध र पूर्बी नेपालको बिभिन्न स्थान घुमेको अनुभव सुनाउदै हरियालीमा बन्न लागेको पर्यटन क्षेत्रको उच्च संभावना बोकेको जनाएका थिए । सभामा हरियाली सामुदायिक वन पब्लिक लिमिटेडका अध्यक्ष अशोककुमार राईले बार्षिक प्रगति र भावि कार्ययोजना पेस गरेका थिए ।

शेयरधनीबाट संकलन भएको रकम र संघीय सरकार संस्कृति, पर्यटन नागरिक उड्ययान मन्त्रालयबाट परेको दुबै गरी चार करोड १६ लाखको लागतमा स्वीमिङ पुल, शौचालय, बोटिङ पोखरी, प्रवेश द्वार, सुरक्षाको लागि प्रहरी विट लगायतको १२ प्रकारको भौतिक संरचना निर्माण भइरहेको छ । सो रकम घटाघटमा वल्र्ड वाईड कोशी शिवालय जेभी काठमाडौंले टेन्डर पारेर संरचना निर्माण भइरहेको छ ।

साधारण सभामा शेयरधनीहरुले आम्दानी हुने काम तुरुन्त सुरु गर्न माग गरेपछि काम तिव्र रुपमा गराएर आगामी नयाँ बर्षमा पर्यटकको लागि खुल्ला गर्ने लक्षसहित कम्पनी अघि बढ्ने अध्यक्ष अशोककुमार राईले बताए ।

कम्पनीका सदस्य काशीहाङ राईले सञ्चालन गरेको साधारणसभामा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगर, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, नगरपालिका ३ नम्बर वडा अध्यक्ष डम्बर चेम्जोङ लिम्बू, कम्पनीको पूर्ब अध्यक्ष देवि भेटवाल लगायतले शुकामना दिएका थिए ।

कम्पनीमा ८६१ जना शेयर सदस्यहरु रहेका छन् । २० करोड अधिकृत पुँजी रहेको कम्पनीले पहिलो किस्ता एक करोड संकलन गरी पर्यापर्यटन क्षेत्र बिकासमा लागेको हो । शेयरधनीहरुबाट आवश्यकता अनुसार पाँच किस्तामा रकम संकलन गर्ने योजना बनाएको छ । पहिलो किस्ताबाट काम भइसक्न लागेकोले दोस्रो किस्ता संकलन गर्न प्रकृया सुरु गरिने कम्पनी संचालक समितिको सदस्य गणेश बाछना राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here