निगरानी बढाऊ

0
276

विगत दुई वर्षदेखिको कोरोना त्रासबाट मुक्ति पाउँदै गर्दा त्यसकै उत्परिवर्तित स्वरुपले फेरि आतंकित बनाउन थालेको छ । दक्षिण अफ्रिकामा पहिचान भएको ‘ओमिक्रोन’ नामक भाइरसको संक्रमण विश्वका चालीसभन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म अनुसन्धान नै नभएको उक्त भाइरसको संक्रमणले मानव स्वास्थ्य र जीवनमा पर्ने असरको मूल्याङ्कन गर्न नसकिने भएकाले लापरवाही गर्नुहुँदैन । तर, आम मानिसले कोरोना पूर्वको व्यवहार गर्न थालेको सन्दर्भले सरोकारवालाहरुलाई चिन्तित तुल्याएको छ । त्यसकै असरको अनुमान गर्दै कतिपय देशहरुले आवागमनमा रोक लगाइसकेका छन् भने संक्रमण पहिचान भएका मुलुकहरुसँगको हवाई सेवा विच्छेद गरेका छन् । कोरोनाले विगतमा नेपालको अर्थव्यवस्था, मानवीय स्वास्थ्य र जीवनमा पारेको प्रतिकूल प्रभावका बारेमा सबै जानकार छौं, तर पनि हामीमा स्वास्थ्य सजगता, सावधानी र सचेतना हराउन थालेको अनुभूत गरिँदैछ ।

दक्षिण अफ्रिकाको बढी जनघनत्व भएको ‘गाउटेङ’ प्रान्तमा केही दिनदेखि कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भइरहेको छ । कम हुँदै गएको संक्रमण एकाएक बढ्न थालेपछि कोरोनाको उत्परिवर्तित स्वरुपको पहिचान भएको हो । यद्यपि यसको प्रारम्भ बिन्दुका बारेमा विश्व अनभिज्ञ छ र विश्व स्वास्थ्य संगठनले अनभिज्ञताकै बीच सबैलाई सजग रहन आग्रह गरिसकेको छ । भर्खरै पत्ता लागेका कारण ओमिक्रोन र त्यसको असरका बारेमा जनस्वास्थ्यविद् तथा वैज्ञानिकहरुको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छैन । तर, कोरोनाको विगतको असरका आधारमा यसले पार्न सक्ने नकारात्मक प्रभावको बारेमा पूर्वानुमान गर्न भने गाह्रो छैन । त्यसकारण पनि ओमिक्रोनको संक्रमण नहोस् भन्नेतर्फ सचेतता, सावधानी र सुरक्षा उपायको अवलम्वन जरुरी छ । इतिहासबाटै सिकेर अन्य देशहरुले जस्तै नेपालले पनि सम्भावित देशहरुसँगको अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ’, त्यही सत्यलाई आत्मसात गरेर स्वास्थ्य मापदण्डको पालनामा सचेत रहने हो भने कोरोनाको यो भेरियन्टबाट आफू, परिवार, समाज र देशलाई सुरक्षित राख्न सकिन्छ ।

नेपाल सरकारले सम्भावित क्षति रोक्न यसपटक सतर्कता अपनाउन शुरु गरेको छ । छिमेकी देश भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै नेपालले सीमानाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । खुल्ला सीमाना भएकाले भारत र नेपालकाबीच आवागमन पनि खुल्ला नै हुने गरेको छ । त्यसैले संक्रमण पनि भित्रिन सक्ने भएकाले यात्रुको स्वास्थ्य सुरक्षामा थप कडाइ गर्न थालिएको बताइन्छ । यसको लागि ‘हेल्थ डेस्क’, स्वास्थ्य परीक्षण, प्रतिबन्ध लगाइएका देशका नागरिकको आगमनलाई रोक तथा संक्रमण देखिए आइसोलेशनसम्मको व्यवस्था गरिएको झापाका प्रजिअ श्रवणकुमार तिमिल्सिनाले बताएका छन् । रेडक्रसकर्मी समेतको समन्वयमा पूर्वी नाका काँकरभिट्टामा गरिएको प्रबन्ध सतर्कताको उदाहरण हो । अझै सतर्कताका लागि अहिले खुल्ला गरिएका शिक्षण संस्थाहरु, हाटबजार, सिनेमा हल, राजनीतिक कार्यक्रमहरुमा पनि सरकारले अनुगमन र निगरानी बढाउन जरुरी छ । यस्तै सतर्कता र सावधानीले मात्र सम्भावित क्षति रोक्न सकिने हुँदा खोप लगायत स्वास्थ्य सुरक्षाको पालनामा सबैले गम्भीर हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here