‘राष्ट्रिय जनमुक्ति पार्टी सबै किसिमका भ्रष्टाचार विरुद्ध लाग्ने’

0
526

अर्जुनधारा ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले पार्टी आर्थिक मात्र नभएर सबै किसिमका भ्रष्टाचार विरुद्ध लाग्ने बताए ।

पार्टीले देशव्यापीरुपमा सञ्चालन गर्न लागेको ‘जनता जागौं राष्ट्रिय अभियान–२०७८’ बारे जानकारी दिने उद्धेश्यले मंगलबार झापाको अर्जुनधारामा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष पालुङवाले उक्त कुरा बताएका हुन् ।

उक्त अभियानको मुख्य उद्धेश्य सिंहदरबारदेखि वडा समितिसम्म पुगेको भ्रष्टाचार विरुद्ध जनतालाई सचेतना जगाउनु रहेको अध्यक्ष पालुङवाले दावी गरे । अभियानमार्फत् मुलुकमा आएका असमान सन्धि सम्झौता, स्वास्थ्य, मुलुकलाई आवश्यक अर्थनीति, संगठन सुदृढीकरण, अभिलेखिकरण र सदस्यता विस्तारलगायतका विषयमा गोष्ठी, अन्तरक्रिया, सभा, सम्मेलन गरी जानकारी गराइने उनले बताए ।

आगामी फागुन २१ गते सम्म सञ्चालन हुने अभियानको समापन काठमाण्डौंमा शक्ति प्रदर्शनसहित गरिने बताइएको छ । सोही भेटघाट कार्यक्रममा पार्टीको राजनीतिक दस्तावेज घोषणा पत्र पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन धिमाल, महासचिव पदम जवेगु, उपमहासचिव विष्णु थाम्देन, सचिव गजेन्द्र आङबुहाङलगायतको उपस्थिती रहेको थियो । किरात लिम्बुवान खम्बुवान प्रदेश परिचालन समिति प्रदेश नं.१का अध्यक्ष पर्शुराम मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव कृष्णकुमार थेवेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here