वैदेशिक रोजगारीको पीडा

0
503

घरलाई मन्दिर भनिन्छ, जसले तनाव र थकानबाट मुक्ति दिन्छ । घररुपी मन्दिरमा रहने भगवान महिला अर्थात् आमा जाति हुन् जसले सबै सदस्यहरुलाई एउटै छानामुनि निश्चिन्त सुस्ताउने र निदाउने वातावरण दिन्छिन् । पूर्वीय सभ्यता मात्र होइन सम्पूर्ण मानव सभ्यता नै त्यही मातृशक्तिका कारण, उसकै हार्दिकता, सहिष्णुता, प्रेम र समर्पणबाट प्रारम्भ भएको थियो । वैदिक सनातन धर्ममा नारीशक्तिलाई समर्पण, तपस्या र धैर्यको मूर्ति मानेर देवीकै दर्जा दिइएको छ । त्यही सभ्यता, संस्कार, आदर्शमा हिजोआज विचलन आउन थालेको छ । आधुनिकता र भौतिक विकासले आममानिसमा चेतनाको विकास त भयो, सेवासुविधाको पहुँचमा त पु¥यायो तर, त्यही भौतिक सुखको लालसाले आसक्ति पनि बढायो । ऐश्वर्यरुपी सुख बटुल्ने नाममा मानसिकता नै एकाकी, स्वार्थी र संकीर्ण बनायो । पछिल्लो कालमा वैदेशिक रोजगारीको बढ्दो आकर्षण त्यही मानसिकता र त्यसले जन्माएको परिणामको दुःखद् अवस्था हो ।

वैदेशिक रोजगारीबाट हुने प्रतिफल बिप्रेषणका रुपमा भित्रिन्छ । अहिले नेपालीको जीवन निर्वाहदेखि सुविधाभोगी जीवन बाँच्ने आधार पनि त्यही विप्रेषण हो । देशको अर्थतन्त्रको मूल आधार नै बनिएको वैदेशिक रोजगारीले इतिहसादेखि नै सुखी, शान्त, मन्दिररुपी घर विश्रृंखलित हुन थालेको तथ्यांकले देखाउन थालेको छ । वैदेशिक रोजगारीकै कारण पारिवारिक कलह बढ्दै गएको, सम्बन्ध विच्छेददेखि हिंसा–हत्यासम्मका घटनाहरु क्रमशः उकालो चढ्दैछन् । प्रकट भएका घटनाका आधारमा प्रहरीले वैदेशिक रोजगारीले अर्थतन्त्रमा टेवा पु¥याए पनि पारिवारिक कलह बढ्दै गएको देखाएको छ । त्यसैगरी असमझदारीले उत्पन्न विवाद हिंसासम्म पुग्दा पूर्वी नेपालमा मात्रै सम्बन्धविच्छेदका घटनामा प्रत्येक वर्ष बढोत्तरी भएको उच्च अदालत विराटनगरले उल्लेख गरेको छ । उसका अनुसार आव ०७४–०७५ मा न्यायीक निकायमा त्रियानब्बे उजुरी परेका थिए भने क्रमशः बढ्दै गएर ०७६–०७७ मा एक सय चौरासी पुगेको छ ।

परिवार, समाज र राष्ट्रकै आर्थिक आधार भन्न थालिएको वैदेशिक रोजगारीले ठगी, बलात्कार, घरेलु हिंसा जस्ता सामाजिक अपराध बढाएको बताउँछन्– नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवर । तथ्यांकले पनि भन्छ कि १ नम्बर प्रदेशमा मात्रै आव ०७७–०७८ मा छत्तीस जनाले श्रीमतीको हत्या गरेका छन् । यही अवधिमा दुई श्रीमती श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । वैदेशिक रोजगारीले नै ल्याएको यस्तो परिस्थितिका पछि देहसुखको चाहना हुनसक्छ जो पेटको भोकभन्दा पनि ठूलो मानिन्छ । यसै पनि परम्परागत आदर्श, मूल्य र मान्यतालाई नाघेर हाम्रो समाज उन्मुक्तितर्फ, स्वतन्त्रता, समानता र प्रतिष्पर्धा उन्मुख हुन थालेको छ । जसका कारण महिला र पुरुषलाई एउटै रथको दुई पाङ्ग्रा ठान्नुभन्दा आधुनिक र पश्चिमी सभ्यताको अनुशरणमा रमाउन थालेको छ । दया, माया, प्रेम, सहिष्णुता, सद्भाव र सांस्कृतिक धरोहर भङ्ग गर्न उद्यत भएको छ । यसले हाम्रो पहिचान नै धुलिसात बनाउँदै लगेको छ । तसर्थ, सरोकारवाला, जिम्मेवार निकाय, दलहरु र सरकारले पराई संस्कृतिले पारेको प्रभाव रोक्न स्वदेशमै रमाउने परिस्थिति बनाउनुपर्छ । अन्यथा मानिस हुनुको श्रेष्ठता र हाम्रो पहिचान हराउन बेर लाग्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here