विद्यार्थी हूँ भन्नु अभिषाप पो हो कि !

0
1157

कवि तथा साहित्यकार वीरेनजीले लेखेको बोर्डिङ मास्टरको पीडा कविता संग्रहको मलाई कलेज जीवनमा याद आयो, बोर्डिङ मास्टरले सामुदायिक विद्यालयको मास्टरको हैसियतमा बढीमा ५० प्रतिशत मात्र तनखा पाउँछन् । प्रिन्सिपलको किचकिच, समयमा तलब नपाउने समस्या, बोर्डिङ मास्टरको पीडामा शब्दमय ब्याख्या गरेको पाइन्छ ।

कलेज पढ्ने उमेर न्यूनतम् १६–१७ देखि शुरु हुन्छ, यो उमेर भनेको भविष्य निर्माण गर्ने उर्बर उमेर हो । आधारभूत शिक्षादेखि माध्यमिक शिक्षा तहमा पुग्दा स्वभावैले माध्यमिक विद्यालयको विद्यार्थी सिनियर हुने गर्छ । मावि उक्लिएपछि उच्च शिक्षा अध्ययनका लागि कलेज जानैपर्ने हुन्छ । माथि भनिएको सबै तहको शिक्षा प्राप्त गर्न छात्र–छात्राहरुलाई पक्कै पनि सजिलो छैन । प्रशङ्ग बिद्यार्थीको पीडाबाट शुरु गरौं– मुख्य सडकखण्ड (लोकमार्ग)मा बिहानको ४ बजेदेखि चिसो सिरेटो पचाउँदै बस बिसौनीमा बस पर्खेर बसेका थुप्रै दृश्य बाटोभरि देख्न सकिन्छ । सिरेटोका कारण घरको परिवार समेत बिहान सबेरै उठ्न नसकिरहेको बेला विद्यार्थीहरु सडकमा देखिनु बाध्यता होइन । उनीहरुलाई यो चेत छ कि हामी भविष्य निर्माण गर्न हिँडेका हौं । बस बिसौनीमा विद्यार्थी देखेपछि चालकले बस नरोक्नु, सह–चालकले विद्यार्थीहरुलाई होचो अर्घेलो गर्नु, सार्वजानिक बसमा चढ्ने विद्यार्थी जीवनको दिनचर्या नै हो । यो त रह्यो बिहानको रुटिन, त्यसपछि बिहानको ९ बजेदेखि कलेज जानेको अर्को हुलको बरियात शुरु हुन्छ । त्यस समयसम्ममा मानिसहरुको चहल–पहल निक्कै बाक्लिन थाल्छ । गन्तव्यमा हिँडेका सज्जन यात्रुहरुलाई सह–चालकले लछार्दै–पर्छार्दै गाडीमा चढाउँदै गरेको दृश्य विद्यार्थीका लागि नौलो भने होइन । सज्जन यात्रुसँगै उभिइरहेका विद्यार्थीहरु यो लोकको मानिसै होइन जस्तो व्यवहार सह–चालकहरुले गरेको दुर्दान्त पीडा मेरो आत्माभरि खेलिरहन्छ । यस्तो लाग्छ बिद्यार्थी हूँ भन्नु अभिषाप पो हो कि !

आफ्नो दैनिकी सकेर सुत्नअघि माथि उल्लेख गरिएको दृश्य मेरो मस्तिष्कमा घुमिरहन्छ । किनभने भोलि बिहान सबै नित्यकर्म सकेर कलेज जानका लागि तयार हुनु छ । विद्यार्थीहरु भनेका भोलिका देश निर्माणक हुन । कलेज जीवनबाटै युवा अवस्थाको गतिविधि शुरु हुन्छ । कोही सामाजिक उत्तरदायित्वका लागि गरिने सेवामा लाग्छन्, कोही सरकारी जागिरमा लाग्ने कोशिस गर्छन्, कोही राजनीतिमा प्रवेश गर्छन् भने कोही व्यापार–व्यवसायलाई आफ्नो रुचीको विषय बनाउँछन् । त्यही भएर कलेज जीवन विद्यार्थीहरुका लागि उर्बर समय हो । कलेज जानका लागि घरबाट निस्किएपछि मैले चढ्ने सार्वजानिक बस रोक्ला कि नरोक्ला ? रोके पनि चढ्न देला कि नदेला ? समयअघि नै कलेज पुगिएला कि नपुगिएला ? भन्ने एउटा त्रास शुरु हुन्छ । गन्तव्यका लागि जब मुख्य सडकको बस बिसौनीमा पुगिन्छ, चालक र सह–चालकले विद्यार्थीहरुलाई गर्ने व्यवहारको सिलसिला शुरु हुन्छ । सबैभन्दा पहिला त कलेजको युनिफर्मधारी छात्र–छात्रालाई बसमा चढ्ने अनुमति हुँदैन, कथमकदाचित अहोभाग्यले चढ्ने अनुमति प्राप्त गरियो भने पनि सिटमा बस्न सकिन्न किनभने उक्त सिटअघि नै सज्जन यात्रुका लागि रिर्जभ भइसकेको हुन्छ ।

नेपालको यातायात व्यवस्थापन ठिटलाग्दो मात्रै छैन, अव्यवस्थित र अस्वस्थ प्रतिस्पर्धात्मक छ । अझ यसो भनौं अमर्यादित छ । त्यसैले हुलका हुल बसहरु अस्वस्थ प्रतिस्पर्धा गर्दै बस बिसौनीसम्म आइपुग्छन् । प्रायः बसहरु बस बिसौनी आउनुअघि नै भरिभराउ भइसकेका हुन्छन् । बसमा पसिसकेपछि अब भाडाको बिषय आउँछ । यातायात व्यवसायी संघ र नेपाल सरकारबीच भएको सम्झौता त्यहाँनेर च्यूत हुन्छ । विद्यार्थीले पाउनुपर्ने परिचयपत्रको छुटको सम्झौता उल्लंघन हुनु, पहिलो कुरा त कानूनको खिल्ली उड्नु हो ।

यस्ता पीडा केबल विद्यार्थीमा मात्र छैन । ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तहरु पनि यो पीडाबाट अछुतो छैनन् । एकजना ज्येष्ठ नागरिक महिला बसमा आफ्नो ज्येष्ठ नागरिकको परिचय पत्र देखाउँदै आफूले पाउनुपर्ने सुविधाको विषयमा खुलेर कुरा उठाउँदै थिइन् । यो प्रतिनिधि घट्ना हो आफू समेत सोही बसको यात्रु भएकाले मैले उक्त दृश्य हेरिरहेकी थिए । त्यहाँ भने बसका सहचालकको व्यवहारको पर्दाफास हुन्छ, उनले उक्त ज्येष्ठ नागरिक महिलाको खिल्ली उडाए, ज्येष्ठ नागरिक महिलाले आफूले पाउनुपर्ने अधिकारको विषयमा बसको भाडामा छुटको कुरा गरिरहेकी थिइन् । तर, सहचालकले परिचय–पत्र हेर्दै यो परिचय–पत्र ज्येष्ठ नागरिक भत्ता थाप्ने बेलामात्र देखाउनुहोस् भन्दै पुरै पैसा लिएको दृश्य मैले ट्वाल्ल परेर हेर्नु बाहेक केही गर्न सकिनँ । म विवश थिए किनभने म पनि उस्तै निरीह पात्र थिए । कलेज जानु र आउनु मेरो विवशता हो । मैले ज्येष्ठ नागरिकको अधिकारको बारेमा बोल्दा बसमा चढ्ने अवसरबाट वञ्चित हुनेछु भन्ने त्रासले मलाई रोक्यो ।

दुनियाँमा अधिकार प्राप्तिका लागि लड्ने योद्धाहरु धेरै छन् । तर, त्यो लडाई सांगठनिक हुनुपर्छ भन्ने मलाई अवगत छ । तर, त्यस्तो अवस्था हामीमा हुन नसक्नु बिडम्बना हो । सवारी चालक, सह चालकको ज्यादतीको ब्याख्या जसरी गर्दा पनि पुग्दैन । यो मेरो विद्यार्थी जीवनले सिकाएको अनुभव हो । त्यसो त केही नीजि तथा सरकारी कलेजहरुले कलेज बसको व्यवस्था मिलाएको छ । तर, यो विषय सबैको पहुँचमा छैन । उच्च शिक्षा हासिल गर्ने मनोकांक्षाले बिद्यार्थीहरुले राम्रो कलेज चयन गर्छन् । सबै सङ्कायको पठन–पाठन सम्पन्न भएपछि पालो हिसाबले कलेजको बिदा हुने गर्छ । छुट्टिसँगै गन्तव्यसम्म पुग्न विद्यार्थीहरु बस बिसौनीमा भेला हुन्छन् । त्यहाँ एक किसिमको गतिविधि शुरु हुन्छ । आफ्नो गन्तव्यसम्म पुग्न सबै विद्यार्थीहरुलाई हतारो हुन्छ । तर, विद्यार्थीहरु बस चढ्न पाउँदैनन् । यो पीडा बोर्डिङ मास्टरको पीडाभन्दा कमको छैन् । म झिलझिलेबाट कलेजका लागि गन्तव्य तय गर्दा बिहानको साढे ९ बजेको हुन्छ । मेरो कलेज दमकको दमक बहुमुखी क्याम्पस हो । म उक्त कलेजमा बिएसडब्ल्यु प्रथम वर्षकी छात्रा हूँ । मैले घरबाट निस्किदा एक घण्टाको समय राखेको हुन्छु । झिलझिलेबाट दमक पुग्न १२ किलोमिटरको दूरी पार गर्नुपर्छ । जुन ढिला गरी २० मिनेटमा गन्तव्यमा पुग्न सकिन्छ । एकातिर समयको नष्ट भइरहेको छ भने अर्कोतर्फ बस यात्राको झमेलाले सताइरहेको हुन्छ ।

देशमा वर्षेनि लाखौंको संख्यामा दक्ष शैक्षिक जनशक्ति उत्पादन भइरहेको छ । यस्ता जनशक्तिहरुलाई नेपाल सरकारले समेत सही व्यवस्थापन गर्न सकेको छैन । आधारभूत, मावि तह र उच्च शिक्षा तहसम्म विद्यार्थीहरुले भोग्नुपरेको पीडालाई नेपाल सरकारले मिहिन ढंगले अनूसन्धान गर्दै शैक्षिक क्षेत्रलाई सहज बनाइदिन सके भोलिका राष्ट्र निर्माणकहरुले सही मानेमा न्याय पाउनेछन् कि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here