सालबारी नजिकै धार्मिक पर्यटनस्थल

0
811

विनोद पाण्डे,
चारपाने ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा रहेको सालबाडी पर्यटन क्षेत्रको नजिकै फाल्गुनन्द स्मृति प्रतिष्ठानले धार्मिक पर्यटनस्थल तयार पारेको छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन र विकास गर्ने उद्देश्यले नमूना सामुदायिक वन क्षेत्रभित्र किराँतेश्वर हाङ्साम थेवा युमा माङ्हिम धार्मिकस्थलको भौतिक संरचना निर्माण गरेको हो ।

नमूना सामुदायिक वन समिति र स्थानीय सरोकारवालाको सहमतिमा किरातेश्वर हाङ्साम थेवा युमा माङ्हिम स्थापना गरिएको आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका कोषाध्यक्ष खगेन्द्र इङ्नामले जानकारी दिए ।

बहुधार्मिक पर्यटकीय पहिचान बनाउन शुरु गरेको नमूना सामुदायिक वन क्षेत्रमा बिभिन्न जातजाति र धर्मावलम्वीहरुको धार्मिक आस्थाका मन्दिरहरु निर्माण भइसकेका छन् । जस अन्तर्गत २०७४ सालमा निर्माण शुरु गरिएको माङ्हिम २०७५ सालमा आएर सम्पन्न भएको छ । माङ्हिमसँगै किरात धर्मका आस्थाका धरोहर महागुरु फाल्गुनन्द लिङ्देनको ८ फिट ५ इञ्च अग्लो पूर्णकदको शालिक बनाइएको छ । उक्त शालिकको अनावरण र माङ्हिमको उद्घाटन मंसीर २६ गते नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेती, किरात धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुआमा पवित्रा हाङ्माले गर्ने कार्यक्रम तय भएको आयोजक समितिका प्रचारप्रसार समिति संयोजक लवकुश गौतमले बताए ।

किरात धार्मिक क्षेत्रमा मूल मन्दिर, महागुरुको शालिक, धुनी कुण्ड, पुजारी आश्रम, मूलगेट, शौचालय, घेराबारा लगायतको भौतिक संरचना निर्माण गरिएको छ । उक्त धार्मिक क्षेत्र निर्माणको लागि नेपाल सरकारबाट २० लाख, साविक जिल्ला विकास समितिको ५ लाख र दाताहरुबाट उठेको २५ लाख गरी जम्मा ५० लाखको लागतमा निर्माण सम्पन्न भएको आयोजक समितिका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले बताए ।

धार्मिकस्थलको आकर्षणको रुपमा महागुरु फाल्गुनन्दको शालिक रहेको छ । शालिक निर्माणमा समितिले १० लाख खर्च गरेको छ । उक्त ढुङ्गाको शालिक मोरङ उर्लाबारीस्थित मञ्जुल मितेरी कला केन्द्रले तयार पारेको हो । २६ गते हुने कार्यक्रमलाई भव्य बनाउन समितिले विभिन्न कार्यक्रमहरु तयार पारेकोे छ । धर्मगुरुहरुलाई स्वागत गर्नको लागि माईखोलाबाट र्यालीसहित ल्याउने तयारी गरेको छ ।

आयोजकले विभिन्न उपसमितिहरु पनि बनाएको छ । उपसमितिहरुको संयोजकमा प्रचारप्रसार तथा स्वयम्सेवक परिचालन लवकुश गौतम, अतिथि एवम् दानवीर दाता सत्कार शेरबहादुर इङ्नाम, खाद्यान्न व्यवस्थापन तिलकसिंह लिम्बू, पूजा सामग्री तथा प्रसाद व्यवस्थापन फिपराज कुरुम्वाङ, कार्यक्रम स्थल व्यवस्थापन मोहन सुब्बा, अनुगमन उपसमिति संयोजकमा लक्ष्मी इङ्नामलाई चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा स्वागत मूलसमिति सदस्य मोहन सुब्बा र सञ्चालन खगेन्द्र लिम्बूले गरेका थिए । देशकै नमूना प्रतिष्ठानको रपमा विकास गर्ने लक्ष्यका साथ माङ्हिमको गुरुयोजना तयार पारिएको, फाल्गुनन्द बाटिका निर्माण गर्ने नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्ने लगायतको योजनाहरु फाल्गुनन्द स्मृति प्रतिष्ठानले अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here