नयाँ पर्यटकीय गन्तव्य ‘१३ कुने सिमसार’को प्रर्वधन गर्न महोत्सव

0
668

अमित खम्बू
बिहीबारे ।

नागबेली आकारमा रहेको पोखरीकोबिच भागमा एउटा आकर्षक टापु । पोखरीको वरिपरी स्पष्टरुपमा देख्न सकिने सात वटा कुनासँगै अग्ला डाँडाहरुमा रहेको विभिन्न प्रजातिका रुखबिरुवाहरु । त्योसँगै छेउमै रहेको छ वटा कुनासहितको पोखरीको आकारमा रहेका आकर्षक खेतका फाँटहरु ।

शहरको कोलाहलदेखि टाढा चिसो हावापानीसँगै शान्त वातावरणमा रमाउन चाहनेहरुको लागि उक्त क्षेत्र आकर्षक गन्तव्य हुने छ । आदिवासी जनजाति समुदायमध्ये बहुसंख्यक राईहरुको बसोबास रहेको उक्त क्षेत्रमा उनीहरुसँग रहेको परम्परागत सीप र मौलिक खानेकुरा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि थप आकर्षणको विषय हुने छ ।

माथि वर्णन गरिएको विशेषताहरु इलाम जिल्लाको दक्षिणी भेगमा रहेको माई नगरपालिका–१ र ९ बिहीबारेस्थित ‘१३ कुने सिमसार’को हो । झापाको व्यापारिक केन्द्र बिर्तामोडस्थित मुक्तिचोकदेखि अनुमानित ३० किलोमिटर उत्तर र इलामको इलाम बजारदेखि अनुमानित ३४ किलोमिटर दक्षिणमा रहेको उक्त सिमसार नयाँ पर्यटकीय गन्तव्य हो ।

३५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरी समुद्र सतहदेखि पाँच सय मिटरको उचाईमा रहेको सिमसार व्यवस्थापन समितिका सचिव गोविन्द सोताङले जानकारी दिए । वि.सं.२०५० सालदेखिनै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्य राखिएकोमा संरक्षणको कार्य भने विगत केही वर्षदेखि मात्र अगाडि बढेको सचिव सोताङले बताए ।

उनका अनुसार सिमसार संरक्षणको लागि हालसम्म राष्ट्रपति चुरे संरक्षण समितिबाट २५ लाख, जलाधारबाट १० लाख र प्रदेश वन मन्त्रालयबाट पाँच लाख गरी ४० लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ । उक्त बजेटबाट सिमसार क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार, सिमसार क्षेत्र वरिपरी १५ सय मिटर सडकको ट्रयाक निर्माण र पोखरीको ड्याम निर्माण अन्तिम चरणमा पुगेको छ ।

झापा र इलामको सिमानामा रहेको सुखानी शहादतस्थल–१३ कुने सिमसार–पङखेलुङ झरना–झुल्के घाम हेर्न सिद्धीथुम्का–पानीटार–गजुरमुखी–गुफाथुम्का–माइपोखरी–इलाम बजार–भालुढुंगा–श्रीअन्तु–कन्याम हुँदै झापा पुग्ने पर्यटकीय प्याकेजभित्र उक्त सिमसारलाई समावेश गर्न सके उक्त क्षेत्रले सिङ्गो नगरपालिकाको गौरव बढाउने सचिव सोताङ बताउँछन् ।

त्यसैगरी २०२७ सालदेखि नै मानिसहरुको बसोबास सुरु भएको त्यस क्षेत्रमा देवीको बासस्थान रहेको आफूहरुले स्थानीय धामीहरुबाट जानकारी पाएको समितिका अध्यक्ष करसिंह राईले बताए । त्यस समयमा देवीको मानभाव नपुग्दा स्थानीयहरुको पशुचौपाया हराउने गरेको र पुनः पूजाअर्चना सुरु भएपछी हालसम्म त्यस किसिमको घटना नदोहोरिएको हुँदा सिमसार क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्ने समितिको लक्ष्य रहेको छ ।

विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त क्षेत्रलाई एक सय रोपनीको क्षेत्रफलमा विस्तार गरिने अध्यक्ष राईले जानकारी दिए । समितिसँगै स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूह विशेष संरक्षणकर्ता रहेको उक्त क्षेत्रमा आगामी दिनमा दुई वटा भ्यू टावर, आकाशे पुल, ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ चौतारी, मनोरञ्जन पार्क, चिल्ड्रेन पार्क आदि निर्माण गरिने बताइएको छ ।

सडक सञ्जालसँगै मदन भण्डारी राजमार्ग, केचना–कञ्चनजंगासँग जोडिएको माई नगरपालिकामा पर्यापर्यटन प्रबद्र्धन हुन नसकीरहेको अवस्थामा ऐतिहासिक एवम् जैविक विविधता संरक्षण गर्ने उद्धेश्यले विकास भइरहेको उक्त क्षेत्रको विकास गर्न सके अत्याधिक संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्रयाउन सकिने स्थानीय सञ्चारकर्मी बिमल दाहाल बताउँछन् । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीय कृषकहरुले उत्पादन गर्ने कृषिजन्य वस्तुहरुले पनि उपयुक्त मूल्य पाउँदा उनीहरुको आर्थिक जीवनस्तरमा पनि सुधार हुने उनले बताए ।

‘१३ कुने सिमसार’को प्रबद्र्धन गर्न महोत्सवः

नयाँ पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको ‘१३ कुने सिमसार’को राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रबद्र्धन गर्ने उद्धेश्यले यही पुस ८ गते देखि ११ गते सम्म चार दिने महोत्सव हुने भएको छ ।

सिमसार व्यवस्थापन समिति आयोजक र स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूह सहआयोजक रहेको उक्त महोत्सवमा राष्ट्रिय कलाकारहरु राजेशपायल राई, पार्वती राई, विनोद खम्बू, हाँस्य कलाकार खड्गबहादुर पुन(खबपु), मनोज गोर्खाली र जादुगर राजेन्द्र गिरीको प्रस्तुती रहने मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
महोत्सवमा विभिन्न जातीहरुको झाँकी प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यत्रम, डुंगा शयरको उद्घाटन, ट्रि हाउस चढ्ने व्यवस्था हुने अध्यक्ष राईले बताए । झाँकी र भलिबल दुवै प्रतियोगिताका विजेता र उपविजेताले क्रमश १७ हजार १३ रुपैयाँ र १० हजार १३ रुपैयाँ प्राप्त गर्ने छन् ।

दैनिक चार हजार पर्यटक भित्रयाउने लक्ष्य लिएको आयोजक समितिले उक्त महोत्सव सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ लाग्ने बताइएको छ । खर्चको स्रोत माई नगरपालिका, सहआयोजक वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूहसँगै प्रायोजकहरु र प्रवेश शुल्कबाट जुटाउने समितिका सचिव सोताङले जानकारी दिए ।

प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्ने उक्त महोत्सवको समापन पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य राम रानाले गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here