क्षयोन्मुख आदर्श

0
797

चेतनाको विकास भएसँगै घरेलु हिंसामा पनि बढोत्तरी भएको तथ्यांकले नेपाली मनलाई दुःखी बनाउनुपर्छ । घरेलु हिंसाको क्षेत्रमा काम गर्दै सभ्य समाज निर्माणका लागि, जनताको जिउधनको सुरक्षा र अमनचयन कायम राख्ने जिल्ला प्रहरी कार्यालय झापाले यस्ता हिंसा प्रत्येक वर्ष बढ्दै गएको देखाएको छ । झापाको मेचीनगरमा भएको एक औपचारिक कार्यक्रममा प्रहरी निरीक्षक सपना खड्काले तथ्यांक प्रस्तुत गर्दै धेरै घरेलु हिंसा पारिवारिक बेमेलका कारण हुने गरेको उल्लेख गरिन् । उनका अनुसार विविध पारिवारिक कारणले जिल्लामा बाउन्न प्रतिशत उजुरी दर्ता भएका छन् । त्यसैगरी मादकपदार्थ सेवन, सामाजिक सञ्जाल, फोनको दुरुपयोग, यौनजन्य अपराध लगायतका उजुरी पनि पर्न थालेका छन् । झापा शैक्षिक, आर्थिक, राजनीतिक लगायतका पूर्वाधारका कारण अग्रणी जिल्लामा पर्दछ । विश्वविद्यालयसम्मको अध्ययन–अध्यापन हुने झापामा यी र यस्ता अपराध बढ्नु चिन्ताको विषय हो ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार घटेका र दर्ता भएका उजूरीका आधारमा बिर्तामोड नगरपालिकामा कूल उजुरीको चौबीस प्रतिशत रहेको छ । पन्ध्र वटा पालिकामध्ये सबैभन्दा कम उजूरी परेको दक्षिणी पालिका बाह्रदशी रहेको छ, जहाँ कूल उजूरीको शून्य दशमलव ४८ प्रतिशत छ । यसले गरेको संकेत सामाजिक अपराध बढ्नुमा शैक्षिक विकास पनि जिम्मेवार रहेको मान्नुपर्ने भएको छ । अपराध अनुसन्धानका क्रममा प्रकट भएका हिंसाका कारणहरु पारिवारिक बेमेल, मादकपदार्थको सेवन, फेसबुक लगायतका सामाजिक सञ्जाल, फोनको पहुँच आदि देखिएको छ । यसले सुविधाभोगी वर्ग नै अपराध कर्ममा संलग्न रहेको अनुमान गर्न सकिन्छ । यसैगरी यौनजन्य अपराधका घटनामा अठाह्र वर्षमुनिका अड्तीस प्रतिशत संलग्न रहेको तथ्यांकले देखाएको छ भने अठाह्रदेखि पच्चीस वर्ष उमेर समूहका त्रिचालीस प्रतिशत रहेका छन् ।

सामाजिक अपराध मानव सभ्यताको कलंक हो । भौतिकता र आधुनिक सेवासुविधाको सहजता र उपलब्धताले मानिस दुराचारी बन्दै गएको उदाहरण प्रहरीमा परेका उजूरीले दिएको छ । जुन मानव जातिको श्रेष्ठतालाई कलुषित बनाउने कारण पनि हो । विश्वलाई एउटै बन्धुत्वको पछ्यौरा ओढाएर निसन्देह, निसंकोच, निर्बिध्न र निश्चिन्तता दिनुपर्छ भन्ने मान्यता राख्ने पूर्वीय दर्शनको मूल्य र मान्यताविरुद्धको यस्ता अपराधमा संलग्नलाई कानूनी कठघरामा उभ्याएर पूर्वीय सभ्यताको आदर्शलाई जोगाउनु पर्दछ । शारीरिक सुख, भौतिक आनन्द र क्षणिक लाभको उद्देश्यले बढोत्तरी भइरहेको अपराधका उजूरीले सबैको शिर निहुराउनु पर्दछ । सहनशीलता, क्षमाशीलता, संयम, धैर्य, सहिष्णुता आदि हाम्रा विशिष्टताहरुलाई जोगाइ राख्न शिक्षा प्रणाली मै परिवर्तन ल्याउनु पर्छ कि चिन्तन गर्ने बेला भएको छ । त्यसो भएन भने आदर्श परिवारको हाम्रो चिनारी पनि अस्तित्वविहीन हुन बेर लाग्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here