अति विपन्न सुत्केरी महिलाका लागि पोषण कार्यक्रम

0
681

विष्णुप्रसाद पोखरेल,दमक ।

झापाको दमक नगरपालिकाले अति विपन्न सुत्केरी महिलाका लागि पोषण कार्यक्रम कार्यन्वयनमा ल्याएको छ ।

विपन्न समुदायका महिलाहरुलाई लक्षित गरेर ल्याएको कार्यक्रम अनुसार सुत्केरी महिलाहरुले तोकिए अनुसारको पोषणयुक्त खानेकुरा उपलब्ध गराउने नीति लिईएको नगरपालिकाले जनाएको छ ।

ब्याक्तिगत घटना दर्ता समयमा होस भनेर त्यसका लागि प्रेरित गर्न पनि यो कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा लिईएको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताउनु भयो । गर्भवती महिलाले बच्चा जन्मिएको बढिमा २ महिनाभित्रमा जन्मदर्ता गरेको प्रमाण सहित आफ्नो वार्ड कार्यालयमा निवेदन दिएपछि यो सुविधा पाउने पनि उहाँको भनाई छ ।

नगरपालिकाको चालु आर्थिक बर्षमा स्वीकृत बजेट अनुसार दमक नगरपालिका क्षेत्र भित्र स्थायी बसोवास गर्ने बिपन्न तथा असहाय सुत्केरी महिला हरुलाई पोषिलो खानेकुरा उपलब्ध गराउने निर्णय भएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भयो । यो निर्णय यहि मंसिर महिनादेखि नै कार्यन्वयन शुरु गरिएको समेत जनाईएकोछ ।

अधिकारीका अनुसार यसमा कोटा प्रणाली वा संख्या नतोकिएको र मापदण्डभित्र पर्ने सबैले पाउने ब्यवस्था गरिएकोछ । अहिले पनि कतिपय समुदाय तथा बस्तिहरुमा सुत्केरी महिलाहरुले बिहानबेलुका चाउलो समेत खान नसक्ने अवस्था रहेको पाईएकाले नगर सभा मार्फत नै यो कार्यक्रम ल्याईएको समेत अधिकारीको भनाई छ ।

शुद्ध मन्सुली चामल २५ के.जि., मिक्स गेडागुडि, नौनि घिउ, कुखुराको अण्डा, सुत्केरी मसला, मौरिको मह सुत्केरी महिलाले पाउनेछन् । वार्ड कार्यालयबाट सिफारीस, पारिवारिक लगत कार्ड र शिशुको जन्मदर्ताको प्रमाणपत्रको आधारमा सुत्केरी महिलाहरुले यो सामाग्रि पाउने समेत नगरपालिकाको भनाई छ ।

यसभन्दा अघि दमक नगरपालिकाले घरमा सुत्केरी गराउने कार्य बन्द गराउनका लागि सरकारी दमक अस्पताल मार्फत घर लैजान र ल्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा पनि घोषणा गरेको थियो । महिलाहरुको सहजताका लागि नगरपालिकाले महिला एम्बुलेन्स चालक नै ब्यवस्थापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here