नेवार समुदाय नै बोल्न जान्दैनन् नेवारी भाषा: आफ्नो संस्कार संस्कृति सिकाउन बिर्तामोडमा फुड फेस्टिवल

0
418

बिर्तामोड,  साबिक शनिश्चरे गाविस – ५ निवासी तारादेवी श्रेष्ठ ५० बर्षको भइन् । यो उमेरसम्म आइपुग्दा उनले सन्तानलाई जन्माइन, हुर्काइन्, बढाइन् र पठाइन् पनि । सान्तानको लालन–पालन, हेरचाह र स्याहार सुसारमा उनलाई कुनै दिन समस्या भएन । समस्या भयो त आफ्ना सन्तान हुर्किएसंगै आफ्नै मातृ भाषाको विषयमा सोधी खोजी गर्न थालेपछि ।
तारादेवीलाई अहिले आफ्नै मातृ भाषा (नेवारी) नजान्दा लाइलैपिच्छे अफ्ट्यारो पर्दै गएको छ । ‘सिक्न जाउँ कहाँ जानु, नसिकौं छोरा छोरीले सोधेको उत्तर कसरी दिँऊ’ दुखेसो बिसाउँदै उनले भनिन् – ‘हाम्रो सात जनाको परिवार छ, परिवारका सदस्य कसैलाई पनि नेवारी भाषा बोल्न आउँदैन । पाहुँना आउँदा र कतै पाहुँना जानु पर्दा भाषा नजानेर फसाद नै पर्छ ।’
नेवारी भाषा नजान्दा कहिले काँही कसैले नेवारी भाषामा केही कुरा सोधे वा भने फर्काउन नसक्दा लाजले भुतुक्क हुन्छु तारादेवीले भनिन् – ‘मलाई भाषा आउने भनेको सामान्य साइनो लगाउन मात्रै हो । पाजु, मलेजु , निनी जस्ता बोलचालमा प्रयोग भइरहने सामान्य शब्द मात्रै आउछ ।’
आफू नेवार भएर पनि नेवारी भेषभूषा , सहनसहन , धर्मसंस्कृति नजान्दा समस्या हुँदो रहेछ बिर्तामोडस्थित एक कार्यक्रममा सहभागी हुन आएकी उनले दुखेसो सुनाउँदै भनिन् – ‘मैले नै नेवारी भाषा जानेकी छैन, छोरा छोरी र जाति नातिनीले भोलिका दिनमा के गर्लान् सम्झदा मन खिन्न हुन्छ ।’
आफूलाई धिमेबाजा शुभकार्यमा बजाउनु पर्ने, र कुनै कर्म गर्दा लाखे जात्रा गर्ने चलन थाहा भएको बताउँदै उनले भनिन् – आफ्नो उमेर ढल्किएर पनि भावी सन्ततिले बेलैमा आफ्नो भाषा,धर्म, संस्कार र संस्कृति सिकुन् झैं लाग्छ ।
तारादेवी मात्र होइन झापाको बिर्तामोडमा बसोवास गर्ने अधिकांश नेवार समुदायलाई नेवारी भाषा बोल्न आउँदैन । उनीहरु बोल्ल त जान्दैनन् नै भाषा समेत बुझ्न समस्या हुने गरेको बताउँछन् ।
बिर्तामोड नगरपालिका १ निवासी निलम प्रधानले नेवारी भाषा नजान्दा आफुहरलाई समस्या हुने गरेको बताइनन् । उनले भनिन् – हाम्रो पुस्तालाई नेवारी भाषा आउँदैन त्यसैले हाम्रो भावी पुस्तालाई नेवारी भाषा सिकाउन हामीले पहल गरेका छौं । अहिले देखिनै नेवारी भाषा, संस्कार , संस्कृति , चालचलन र रहनसहन सिकाउन सक्यौं भने भावी सन्ततिलाई हामीलाई जस्तो दुःख हुँदैन ।
नेवा पासा मुन पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको पनि उस्तै दुःखेसो छ । उनलाई पनि आफ्नो भाषा आउँदैन । भाषा नजान्दा समस्या हुने गरेको उनी बताउँछन् । आफूलाई आफ्नै मातृ भाषा नआएपछि भावी पुस्तालाई नेवारी भाषा सिकाउन बिभिन्न खाले कार्यक्रमहरु गर्दै आएको उनको भनाई छ ।
नेवा लेमा र नेवा पुचःको आयोजनामा आज झापाको बिर्तामोडमा नेवा फुड फेस्टिवलको आयोजना गरिएको छ । नेवारी समुदायको खानाको परिकार बनाउन सिकाउने उद्देश्यले यो फेस्टिवलको आयोजना गरिएको हो । नेवार समुदायको खानाको मौलिक परिकार बनाउन र खान सिकाउन फुट फेस्टिवलको आयोजना गरिएको लेमा मेस पुचः अध्यक्ष समेत रहेकी प्रधानले बताइनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here