उर्लाबारी नगरपालिकाको वडा संख्या थप्न सबै दल सहमत

0
662

पथरीशनिश्चरे,
पूर्वी मोरङको उर्लाबारी नगरपालिकाको वडा संख्या थप गर्न सबै दलहरु एकजुट भएका छन् ।
हाल कायम रहेका ९ वटा वडामा २ वडा थप गरी कुल ११ वटा वडा बनाउन लागिएको हो ।
उर्लाबारी नगरपालिकाको आयोजनामा हिजो बुधबार बसेको सर्वदलीय बैठकमा वडा संख्या थप गर्न सहमति जुटेको छ ।
नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा सम्पन्न बैठकमा हाल ९ वटा वडा रहेको उर्लाबारीमा भूगोल र जनसंख्यालाई आधारमा अरू थप दुई वटासम्म वडा बढाउने निर्णय भएको हो ।
सोहि क्रममा सोका लागि वडा वडामा गएर छलफल चलाउने निणर्य समेत भएको छ ।
यस अघि राज्य पुनर्संरचना गरिंदा उर्लाबारी नगरपालिकामा तत्कालीन राजघाट गाविस र मधुमल्ला गाविसको वडा नं। ७, ८ र ९ मिसाएर यो नगरपालिका घोषणा गरिएको थियो ।
यस अघि मधुमल्लाबाट समायोजित हालको वडा नं। १ को भूगोल ठूलो भएको र बीचमा बक्राहा खोलाका कारण विभिन्न समस्या उत्पन्न हुने गरेको पाइन्छ भने तत्कालीन राजघाटलाई समायोजन गरी बनेको वडा नं। ८ र ९ को भूगोल पनि ठूलो हुँदा वडा संख्या बढाउने उद्देश्यले सर्वदलीय सहमति खोजिएको नगर प्रमुख फागोले बताए ।
अब वन्ने बडाको खाका अनुसार वडा नं। १ को बक्राहा पश्चिमका भाग वडा नं। ४ मा मिसाउने, वडा नं। ४ को तल्लो भागलाई वडा नं। ८ मा मिसाएर राजघाटतर्फ वडा थप्ने विषयमा छलफल केन्द्रीत भएको थियो । सोहि सन्दर्भमा वडा वडामा छलफल गरी साझा धारणा बनाएर वडा थप गर्न प्रदेश हुँदै संघीय सरकारमा सिफारिस गर्ने प्रक्रियाको थालनी गर्ने पनि बैठकले निणर्य गरेको छ ।
वडा कायम हुनका लागि ६ हजार ४ सय जनसंख्या हुनुपर्ने प्रावधानलाई आत्मसाथ गर्दै दुई वडा थप गरी ११ वटासम्म बनाउन सकिने विषयमा छलफल भएको छ । हाल पछिल्लो तथ्यांक अनुसार उर्लाबारीको ७५ हजार हाराहारीमा जनसंख्या रहेको बताईएको छ ।
स्थानीय तहले वडा थप गर्न नगर सभाको दुई तिहाइले पारित गरी प्रदेश सरकारमा सिफारिस गर्नु पर्ने वर्तमान संविधानमा व्यवस्था रहेको छ । सोहि अनुसार प्रदेश सरकारले संघीय सरकारमा निणर्य कार्यान्वयनका लागि पठाउँछन् । उर्लाबारीमा नगर सभा र कार्यपालिका बैठकले यसअघि नै वडा थप गर्ने निणर्य गरेको थियो ।
उर्लाबारीमा रहेका क्रियाशील राजनीतिक दलका प्रमुखहरु नेकपा एमालेका नगर अध्यक्ष गंगा बास्तोला, नेपाली काँग्रेसका सभापति सुरेन्द्र लिम्बू, माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, नेकपा एसका अध्यक्ष डिवी थापा, राप्रपा अध्यक्ष देवीप्रसाद दाहाल, जसपा अध्यक्ष मात्रिका धिमाल, वडाध्यक्षहरु, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई लगायतको बैंठकमा उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here