नेपाली कांग्रेस झापाको पद हस्तान्तरण

0
902

झापा, नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
गत मंसीर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाइ निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात शपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।
नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं काङ्ग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराउनुभएको थियो । थेवेले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराउनुभएको थियो । नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा एवं बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराउनुभएको थियो ।
सो क्रममा प्रमुख अतिथि डिल्लीप्रसाद सिटौलाले महाधिवेशनमा देखिएको गुटउपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिनुभयो ।
नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई शुभकामना दिदै नेता सिटौलाले भन्नुभयो–‘नेता–नेताबीच कुम जोडेर मात्रै हुँदैन, मन जोड्नुस्, अनिमात्रै कांग्रेस बलियो र अपराजित शक्ति बन्छ ।’
१४ औं महाधिवेशनबाट पार्टीमा युवाहरुको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले बिचार दिएर सगठन अघि बढाउन नसके चुनौती थपिने धारणा राख्नुभयो ।


नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरुको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको पाँच ब को नीतिको कार्यान्वयन एवं गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गर्नुभयो ।
थापाको कार्यकालमा विचार, ब्यवहार, ब्यवसाय, विकास र विपदमा कांग्रेस भन्ने पाँच ब को नीति अघि सार्दै झापा कांग्रेस एवं भातृ संगठनहरुलाई सशक्त बनाइएको थियो ।
कांग्रेसको संगठन कमजोर भएर विगतको निर्वाचनमा कांग्रेसका उम्मेद्वार पराजित नभएको दावी गर्दै सभापति थापाले प्रदेश १ कै संगठनलाई गुटरहित बनाउने र कार्यक्षमता एवं क्रियाशिलताका आधारमा कार्यकर्तालाई अवसर दिने उद्घोष गर्नुभयो ।
नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताउनुभयो । कसैलाई भेदभाव नगर्ने र सबैले शिर ठाडो बनाएर हिँड्ने वातावरण निर्माण गर्ने उहाँको प्रतिबद्धता छ ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद महेन्द्राकुमारी लिम्बू, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, काङग्रेस झापा सभापतिका उम्मेदवार राम कट्टेल लगायतले बोल्नुभएको थियो ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन समितिका सदस्य यज्ञप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रम तीनचरणमा विभाजन गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाई, निवर्तमान सचिव प्रेम सम्बाहाम्फे र निर्वाचन समिति सदस्य एवं प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेलीले संयुक्त रुपमा गर्नुभएको सचिव नवीन विमलीले जानकारी दिनुभयो ।

प्रेस युनियनको अक्षयकोषमा ३६ हजार सहयोग

नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषका लागि दुईजना सामाजिक ब्यक्तित्वबाट ३६ हजार १०५।– रुपैया सहयोग प्राप्त भएको छ ।


नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समितिका अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी एवं अष्ट्रेलिया जनसम्पर्क समितिको तर्फबाट २५ हजार रुपैयाँ एवं नेपाली कांग्रेस क्षेत्र नं–२ प्रदेश ९ख० का उपसभापति गंगाप्रसाद मैनालीले अक्षयकोषका लागि ११ हजार १०५ ।– रुपैयाँ प्रदान गर्नुभएको हो ।
नेपाली कांग्रेस झापाको पदहस्तान्तरण कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि डिल्ली सिटौला, सभापति उद्वव थापा, कृष्ण गिरीका बुवा एवं कांग्रेस झापाका सदस्य एलबहादुर गिरी र मामा तेजबहादुर गिरी एवं गंगाप्रसाद मैनालीले प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्यद्वय लोकराज ढकाल र कृष्ण हुमागाई, सल्लाहकार राजेन्द्र गौतम, सचिव डिल्लीराम घोसाई, केन्द्रीय पार्सद एवं नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुशिला संग्रौला, प्रदेश पार्षद ज्ञानेन्द्र निरौला, सुरेन्द्र भण्डारी, रणदेव हजाम, अनुसा चुडाल लगायतलाई हस्तान्तरण गर्नुभएको हो ।
झापाको अर्जुनधारा–५ का स्थायी बासिन्दा कृष्ण गिरी रोजगारीका सिलसिलामा अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ भने झापासहित नेपालका विभिन्न सामाजिक संघसंस्थाहरुलाई सहयोग समेत प्रदान गर्दै आउनुभएको छ ।
नेपाल प्रेस युनियन झापाले संस्थाका गतिविधि सञ्चालन एवं पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धि, उपचार सहयोग एवं पत्रकारहरुको सर्वाङ्गीण हितमा खर्च गर्ने गरी अक्षयकोषको स्थापना शुरु गरेको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शिव कडेल दम्पत्तीले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेपछि लगभग डेढ महिनाअघि शुरु गरिएको अक्षयकोषमा सामाजिक ब्यक्तित्व ओम–पार्वता विमली दम्पतीले ११ हजार १ सय १० रुपैयाँ सहयोग गर्नुभएको छ ।

कांग्रेसको पहिलो बैठकका निर्णय

यसैबीच नेपाली कांग्रेस झापाको सोमबार सम्पन्न पहिलो बैठकले यही पुस १६ गते पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।
यसैगरी प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं वी.पी. कोइरालाका सहयोद्धा आदिबासी नेता तुर्सा हेमरमको स्मृति दिवस पुस २० गते मनाउने, पुस २५ गते केन्द्रीय महामन्त्रीमा निर्वाचित झापाका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, प्रदेश सभापतिमा निर्वाचित उद्वव थापा एवं प्रदेश सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
देउकुमार थेवेको सभापतित्वमा सम्पन्न पहिलो बैठकले नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उपविजयी बन्नुभएका सभापतिका उम्मेद्वार राम कट्टेललाई कांग्रेसको विधान बमोजिम जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
१४ औं जिल्ला अधिवेशन सम्पन्न गर्न वार्डदेखि जिल्ला तहसम्म खटिने निर्वाचन अधिकृत, सहायक अधिकृत, सहयोगी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज एवं सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिनुभयो ।
यसैगरी बैठकले क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ÷नगर कार्यसमितिका बैठक यथाशिघ्र सम्पन्न गरी पार्टी संगठनलाई सशक्त बनाउने, टोल समिति गठन, बुथ समिति गठनलाई तिब्रता दिने र उमेर पुगेका मतदाताहरुको नामावली अध्यावधि गर्ने कार्य अघि बढाउने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here