महिला सहकारीलाई उपकरण

१३ पुष २०७८, मंगलवार मा प्रकाशित

पाँचथर,

पाँचथरको कुम्मायक गाउँपालिकाले महिला सहकारीलाई कम्प्युटरसहितका विद्युतीय उपकरण उपलब्ध गराई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

कुम्मायक गाउँपालिकाले गत वर्ष पाँच वटा वडामा रहेका पाँच महिला सहकारी संस्थालाई एक÷एक थान कम्प्युटर, प्रिन्टर र स्क्यान गर्ने मेसिन उपलब्ध गराएको थियो ।

महिला सहकारीलाई प्रविधिमा आधारित लेखा व्यवस्थापन गर्न सक्षम बनाउन तथा सूचना प्रविधिमा दक्ष बनाउन यस वर्ष गाउँपालिकाले एड्भान्स कम्प्युटर तालिम आयोजना गरेको हो । गाउँपालिकाको केन्द्र यासोकमा सोमबारदेखि उक्त तालिम सुरुआत भएको हो ।

तालिममा पाँचवटै सहकारी संस्थाका दुई/दुई पदाधिकारी सहभागी भएको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिनुभयो । तीन महिनासम्म चल्ने तालिममा कम्प्युटर सञ्चालनदेखि मर्मत र सूचना प्रविधिको प्रयोगसमेतका जानकारी दिइने प्रशिक्षक मदन थापाले वताउनुभयो ।

तालिमको उद्घाटन गर्दै कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले सहकारीसहित वित्तीय संस्थाको सञ्चालनमा प्रविधिको प्रयोग अत्यावश्यक भएको देखिएपछि गाउँपालिकाले उक्त तालिम चलाएको बताउनुभयो ।

गाउँपालिकाले महिला सहकारीका माध्यमबाट जनचेतनाको विस्तार, महिलाको क्षमता विकास र आयआर्जन अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दुई वर्षअघि महिला सहकारीका सञ्चालकलाई क्षमता विकास तथा उद्घोषण कलासम्बन्धी तालिमसमेत दिइसकेको गाउँपालिका उपाध्यक्ष सीता आचार्यले बताउनुभयो । तालिममा सहभागी नवज्योति महिला सहकारी संस्था कुम्मायक–४ की अध्यक्ष कमलादेवी चौलागाईंले ग्रामीण क्षेत्रका महिलाले एड्भान्स कम्प्युटर तालिम लिन पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here