२२६ खानेपानी आयोजनाको निर्माण कार्य सुरु

0
188

तनहुँ, 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तनहुँ र नवलपुर जिल्लामा खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाएको छ ।

‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा १५१ र नवलपुरमा ७५ खानेपानी आयोजना निर्माण कार्यलाई तीव्रता दिएको हो । नागरिकलाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो कार्यालयले जनाएको छ ।

तनहुँको खानेपानी आयोजनाको लागि रु २७ करोड १६ लाख र नवलपुरको लागि रु २६ करोड १५ लाख रहेको खानेपानी तथा डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इञ्जिनियर वामदेव पौडेलले जानकारी दिनुभयो ।

उक्त आयोजनामध्ये १८ वटा नयाँ आयोजनाको सर्भे कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “अधिकांश खानेपानी आयोजना लिफ्टिङ प्रणालीका छन् ।” आयोजना साना र ठूला रहेकाले कुनै एक वर्षदेखि पाँच वर्ष अवधिसम्म सम्पन्न गर्ने किसिमका छन् ।

तनहुँमा प्रादेशिक खानेपानी आयोजना ८६, सङ्घीय सरकारबाट सशर्त अनुदानबाट आएका २३, प्रादेशिक आधारभूत १६, अन्य १८ र विशेष अनुदानका आठ छन् । सङ्घीय सरकारबाट रु चार करोड ३३ लाख विनियोजित भएको छ भने अन्य सबै गण्डकी प्रदेशको बजेट रहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here