बहुमुखी क्याम्पसमा तोडफोड :सम्पूर्ण शैक्षिक गतिविधिहरु स्थगित

0
764

पथरीशनिश्चरे,

बहुमुखी क्याम्पस पथरीले नेपाल विद्यार्थी सङ्घका केही प्रतिनिधिहरूले प्राध्यापक- कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै सहज परिस्थिति नहुन्जेलसम्मका लागि क्याम्पसको पठनपाठन स्थगित गरिएको छ ।

हिजो शुक्रबार बिहान ८ बजे बैठक चलिरहेको वेला विना अनुमति बैठकमा प्रवेश गरी प्राध्यापक- कर्मचारीमाथि अभद्र व्यवहार गरेको र सञ्चालक बैठक कक्षको ढोकासमेत तोडफोड गरेका हुनाले उक्त निन्दनीय कार्यको घोर भर्त्सना गर्दै तोडफोडको सत्यतथ्य छानबिन गरी क्षतिपूर्ति भई सहज परिस्थिति नहुन्जेलसम्मका लागि क्याम्पसको पठनपाठन स्थगित गरिएको एक विज्ञप्ति जारी गरिएको थियो ।

पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत नेपाल विद्यार्थी सङ्घका केही प्रतिनिधिहरूले प्राध्यापक कर्मचारीमाथि अभद्र व्यवहार गरी सञ्चालक बैठक कक्षको ढोकासमेत तोडफोड गरेका हुनाले उक्त निन्दनीय कार्यको घोर भर्त्सना गर्दै तोडफोडको सत्यतथ्य छानबिन गरी क्षतिपूर्ति भई सहज परिस्थिति नहुन्जेलसम्मका लागि क्याम्पसको पठनपाठन स्थगित गरिएको जनाइएको हो ।

हिजो नै क्याम्पसको बैठक कक्षमा नयाँ भर्नाका लागि प्रचारप्रसार, स्नातक तह प्रथम वर्षको पठनपाठन, नेपाल विद्यार्थी सङ्घले राखेका माग आदि विषयमा प्राध्यापक तथा कर्मचारीहरुको बैठक भइरहेको अवस्थामा विना अनुमति बैंठक कक्षमा प्रवेश गरी अभद्र व्यवहारमा उत्रिएको भन्दै प्राध्यापक संघले समेत निन्दा गरेको छ ।
यसै असहज परिस्थितिमा असुरक्षाका कारणले सहज वातावरण नभएसम्म पठनपाठन कार्य गर्न पनि असमर्थ रहेको भन्दै हिजो नै प्राध्यापक संघका सचिव सूर्यबहादुर कटुवाल तथा अध्यक्ष उमेशकुमार खड्काद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच , नेविसंघका इकाई कमिटिका कार्यवाहक सभापति बिदूर बस्नेत ( काजी ) सित फोन गरेर जिज्ञासा राख्दा उनले नेविसंघले आफै आयोजना गरेको वनभोज कार्यक्रमको नाम जोडेर प्राध्यापक संघले नेपाल विद्यार्थी संघको बद्नाम गर्न खोजेको भनेका छन् ।

उनले शैक्षिक गुणस्तर सुधार, पुस्तकालय व्यवस्थापन , कक्षाकोठामा लाईट – रंगरोगन – पर्दाको व्यवस्था , खेलकुद सामग्री व्यवस्थापन , टाढाबाट आउने विद्यार्थीहरुको लागि यातायात व्यवस्था गर्न लगायतका यस अघि सबै विद्यार्थी संगठनहरूसित भएका निर्णयहरु लागु गर्न क्याम्पस प्रसाशनसमक्ष माग गरिएको दाबी गरे । अघिल्लो बैठकले विद्यार्थी भर्ना वापत वार्षिक १८ हजार रुपैयाँ लिईने भनी निर्णय गरिएको तर हाल क्याम्पस प्रसाशनले विद्यार्थीबाट २१ हजार शुल्क लिने गरिएकोमा विरोध जनाईएको उनको भनाई थियो ।

उनले भोलि मोरङ्गको बांसेचौरीमा हूने वनभोज कार्यक्रमको आयोजनाका लागि आफ्नो संगठन( नेविसंघ) आफै सक्षम रहेको भन्दै शुभचिन्तक प्राध्यापक र कर्मचारीहरुसित स्वेच्छिक सहयोग रकम मागिएको तर सबै प्राध्यापक- कर्मचारीहरुसित जबरजस्ती आर्थिक सहयोग नमागिएको पनि उल्लेख गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको उक्त क्याम्पसले अहिले शिक्षा शास्त्र, व्यवस्थापन तथा मानविकी संकायमा अध्ययन – अध्यापन गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here