देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न

१९ पुष २०७८, सोमबार मा प्रकाशित

काठमाडौँ,

खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ ।

विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोट कस्तो छ र उक्त स्थानमा शहर बस्न हुन्छ कि हुँदैन भन्ने उदेश्यका साथ प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको हो ।

विभागले हालसम्म काठमाडौँ, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौँडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा र नारायणघाटको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ ।

चालू आर्थिक वर्षमा बर्दियाको गुलरिया बजार क्षेत्रमा भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन भइरहेको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । विभागले विसं २०५२ देखि प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको उहाँको भनाइ थियो ।

“शहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ”, महानिर्र्देशक घिमिरेले भन्नुभयो । विभागको राय र सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका छन् ।

विभागले शहरको कुन भागमा विद्यालय, कुन भागमा अस्पताल, कुन भागमा डम्पिङसाइड, कुन भागमा अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ भन्नेबारेमा अध्ययन गर्नेछ । यस्तै कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्नेसमेत अध्ययन हुने गरेको छ । उक्त अध्ययनले शहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागले लिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here