निलम्बित सांसद रेशम चौधरीद्धारा जेलबाटै नयाँ पार्टी दर्ता

१९ पुष २०७८, सोमबार मा प्रकाशित

काठमाडौं । जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन् । उनले ‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिएर नयाँ राजनीतिक दल गठन गरेका हुन् ।

उनले आफ्नो नाममा पार्टी गठन गर्न नमिलेपछि आफ्नै श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।

उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेका थिए ।

र्‍यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी भएकी थिइन् । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।

उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।

पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here