पथरीशनिश्चरे,
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत मोरङको पथरीशनिश्चरे वडा नम्बर ९ मा समेत ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ ।
नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको आज मंगलबार नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्नुहुदैं एक व्यक्तिले धेरै तालिम लिइ प्रमाणपत्र भेला पार्नुभन्दा एउटा विषयको तालिम लिएर व्यवसायिक वन्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यपालिका सदस्य निर्मला गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य खरिन्द्र धिमाल, घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजीकरण गर्नुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत गत वर्षदेखि नगरमा यो कार्यक्रम अघि बढाएको छ । यसैबीच, नगर उपप्रमुख वास्तोलाले वडा नम्बर २ मा सञ्चालित लघु उद्यम कार्यक्रम अन्तर्गत सिलाइ कटाइ तालिमको अनुगमन गर्नुभयो ।
साथै, उहाँले सोही वडामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (दोस्रो) कार्यक्रम अन्तर्गत गौरी इन्टरनेशनल टेक्निकल एकेडेमी द्वारा सञ्चालित ३ महिने निःशुल्क टेलरिङ तालिमको पनि अनुगमन गर्नुभएको थियो ।