महिलाका सवालमा सञ्चारमाध्यम कमजोर

२३ पुष २०७८, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

प्रदेश–१ मा महिलाका सवालमा सञ्चारमाध्यमहरु कमजोर रहेको पाइएको छ ।

सञ्चार माध्यमले महिलाका सवाल तथा महिला पत्रकारहरुको सहभागिताको विषयमा उठान गर्नुपर्ने विषयलाई प्राथमिकता नदिएको पाइएको हो । मिडिया एक्सन नेपालले प्रदेश–१ सहित देशभरका सबै प्रदेशहरुका १–१ वटा अनलाइन तथा छापामाध्यमको अध्ययन गरेको थियो ।

अध्ययनबाट नेपालका पत्रपत्रिका र अनलाइन मिडियाले लैङ्गिक सवाललाई खासै महत्वका मुद्दाका रूपमा समावेश गर्न सकेको पाइएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए । मिडिया एक्सन नेपालले शुक्रबार लैङ्गिक संवेदनशील पत्रकारितासम्बन्धी हाते पुस्तकको विमोचन गर्दै सञ्चारमाध्यमले महिलाका सवाललाई प्राथमिकता दिन नसकेको निकर्ष निकालेको छ । प्रदेश–१ का ब्लाष्ट दैनिक र पूर्वेली न्यूज अनलाइनमा प्रकाशित समाचारहरुको अध्ययन गरेको थियो ।

२०७८ भदौ १६ देखि कार्तिक १४ सम्म दुई महिनाको अवधिमा जम्मा २३ हजार ५१५ ओटा समाचार÷सामग्री प्रकाशित भएका छन् । तीमध्ये महिला र फरक यौनिक पहिचान भएका समुदायका सवालमा जम्मा ३८८ ओटा अर्थात १.६७ प्रतिशत सामग्री मात्रै प्रकाशित गरेका छन् । यो अवधिमा महिलाका सवालमा केन्द्रित रहेर ३८६ ओटा समाचार/ सामग्री प्रकाशित भएका थिए भने फरक यौनिक पहिचान भएका समुदायबारे जम्मा एउटा समाचार र एउटा विचार गरी जम्मा दुईओटा मात्रै समाचार प्रकाशित भएका थिए । नेपाली मिडियाले महिला र फरक यौनिक पहिचान भएका समुदायका मुद्दालाई प्राथमिकता दिँदैनन् भन्ने बिगतदेखिको तथ्यलाई यो तथ्याङ्कले पुनःपुष्टी गरेको छ ।

प्रदेश–१ बाट अध्ययन गरिएको ब्लाष्ट दैनिकका एक हजार ३८१ समाचार सामग्रीको अध्ययन गरिएको थियो भने १७८ वटा समाचार समाग्रीको अध्ययन पूर्वेली न्यूज अनलाइनको गरिएको थियो । जसमध्ये ब्लाष्ट दैनिकले महिलाका सवालमा प्रकाशित सामग्री मध्ये तीन वटा मात्र सामग्री प्रकाशन गरेको पाइएको छ भने अनलाइनले कुनै पनि सामग्री समावेश गरिएको पाइएको छैन ।

सञ्चार संस्थाहरूलाई पनि लैङ्गिक संवेदनशील बनाउन सरकारी र गैरसरकारी संस्थाहरूले प्रयास जारी राखेका छन् । लैङ्गिकनीति समेत केहि समाचार संस्थाहरूमा लागू पनि भएका छन् । विगत २० वर्ष यता महिला पत्रकारको संख्या पनि बढ्दै गएको छ । तर, प्रदेश–१ का सञ्चारमाध्यममा यस्ता विषयले प्राथमिकता पाउन नसकेको अध्ययनको क्रममा देखिएको छ ।

यसैबीच मिडिया एक्सन नेपालले प्रदेश स्तरिय लैङ्गिक संवेदनशील पत्रकारिता तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरेको छ । शुक्रबार बेविनार मार्फत सातै प्रदेशको तालिमको उद्घाटन गरिएको हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाका सामचार तथा महिलाका सकारात्मक विषयलाई प्राथमिकताका साथ स्थान दिन आग्रह गरिन् । उनले मिडिया एक्सन नेपालले महिलाका हरेक विषयलाई प्राथमिकता दिदैं तालिम तथा सीिप विकासका लागि गरेको कार्यको प्रशंसा गरिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया एक्सन नेपालले महिलाको संख्यालाई मात्र प्राथमिकता नदिएर सञ्चारमाध्यममा महिलाका बाइलाइन समाचार, स्रोतमा महिलाको भनाई लगायतका विषयलाई प्राथमिकता दिएको भन्दै प्रशंसा गरे ।

उनले तालिम लिइसकेपछिका उपलब्धीका विषयमा खोजी गर्ने काम मिडिया एक्सन नेपालले गरेको भन्दै तालिममा सबै पत्रकारलाई सकेसम्म ज्ञान आर्जजन गर्न सुझाव दिए । उनले अबका नीति निर्माणदेखि हरेक काममा मिडिया एक्सन नेपालसंग सहकार्यगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

मिडिया एक्सा नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा क्यानडाका प्रतिनिधि लगायतले शुभकामना ब्यक्त गरेका थिए । सात वटै प्रदेशका १४० जनाभन्दा धेरै पत्रकारहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियङ्का झाले गरेकी थिइन् । प्रदेश–१ बाट छनोट भएका २० जना पत्रकारहरु सहभागि कार्यक्रम आगामी सोमबार र मंगलबार सञ्चालन हुने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here