पश्चिमा विद्वान् लेखकहरु नेपाल र नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति किन सद्भाव र आदरभाव राख्तैनन् भन्ने कुरा कोरल्न पश्चिमाहरुको नेपाल आगमन र त्यसको अन्तर्यसम्बन्धमा बुझ्नुपर्ने हुन्छ । त्यो बुझ्न मध्यकालीन नेपाल खाल्डाका मल्ल राजाहरुसम्म पुग्नुपर्छ । इसाई धर्म प्रचार गर्ने निहूँमा भारत पसेका चर्चका प्रतिनिधिहरु नेपाल र नेपाल हँुदै तिब्बत जाने–आउने गर्थे । यस क्रममा कान्तिपुरे राजा लक्ष्मीनरसिंह मल्लका समयमा पादरी जुअन क्याब्रेल र राजा प्रताप मल्लका पालामा आएका पा. अल्बर्ट डिओर्भिल र जोहन ग्रुबरको उल्लेख इतिहासमा पाइन्छ । डा. प्रेमरमण उप्रेतीका अनुसार कान्तिपुर र भक्तपुरका राजाहरुले केपुचिन इसाई पादरीहरुलाई आफ्ना राज्यमा इसाई धर्म प्रचार गर्ने साथै अन्य विभिन्न सुविधा उपभोग गर्न पाउने ताम्रपत्र नै दिएका थिए । गोर्खाली राजा पृथ्वीनारायणले नेपाल एकीकरणका क्रममा काठमाडौं उपत्यकामा नाकाबन्दी शुरु गरेपछि यी पादरी र यिनका नेपाली शिष्यहरु शाहप्रति सशंकित बने । काठमाडौं र बेतिया आउजाउ गरिरहने यी पादरीहरुको पनि गोर्खाली सैनिकले कुम्लोकुटुरो खोलखाल पार्थे ।
नाकाबन्दीमा नुन, कपास र अन्य बस्तुमा समेत कडाइका साथ प्रतिबन्ध लगाइएको थियो । उपत्यकाका मल्ल राजाहरुले चाहिँ सम्मान–सुविधा दिने र सद्भाव देखाउने अनि गोर्खाबाट आएको पहाडे ठकुराइको रजौटो भने बाटो हिँड्दा पनि झोला खानतलासी लिने ! केपुचिन पादरीलाई पृथ्वीनारायणसँग यहीँबाट रिस उठ्न शुरु भएकोे हुनुपर्छ । यी पादरीहरु मल्ल दरबारमा पाएको सुविधामा टेकेर त्यहाँ युरोपेली व्यापारीको कोठी निर्माण गर्ने दाउमा थिए । बाइबल, तराजु र तरवार त पश्चिमाहरुको नीति नै थियो । तर, यस नीतिको नेपालमा कार्यान्वयन गर्ने बाटामा गोर्खाली राजाको घेराबन्दी, नाकाबन्दी र कीर्तिपुरमाथि विजयले तगारो लाउने छाँट देखायो । त्यसकारण कान्तिपुरका हतास राजा जयप्रकाश मल्ललाई गोर्खाली राजाविरुद्ध सहयोग दिनु आवश्यक छ भन्ने निक्र्यौल पादरीहरुले निकाले । यसका लागि बंगालमा जमेर बसेको इस्टइन्डिया कम्पनीलाई गुहार्नुपथ्र्यो । त्यसका लागि बेतियाको अंग्रेज वाणिज्य दूतको सिफारिससहित पटनाको अंग्रेज हाकिमकामा पुग्नुपथ्र्यो । पटनाका हाकिमले सिफारिश गरिदिएपछि मात्र कलकत्तामा गर्भनर जनरलकहाँ पुगिन्थ्यो । त्यहाँको विषय समितिले निर्णय गरेपछि मात्रै अंग्रेजी सहयोगको टुङ्गो लाग्थ्यो । यो सबै कुराको बेलिबिस्तार लाएर पादरीहरुले जयप्रकाश मल्ललाई यस कामका लागि सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।
गोर्खाली नाकाबन्दीले त्यस समयमा उपत्यकामा वाणिज्य व्यापारमा संलग्न कास्मिरी मुसलमान पनि गोर्खालीहरुसँग चिढिएका थिए । नाकाबन्दीले त्यहीँ थुनिएका नागावैरागी पनि गोर्खाली राजासँग मुरमुरिएका थिए । कान्तिपुरे राजाले उमदा नाम गरेका कास्मिरी मुसलमानलाई वकिल र रामदास फकिर (बैरागी ?) लाई सहायक बनाएर अर्जीसहित बेतिया पठाए । गोर्खालीको कडा निगरानीलाई छलेर शिवरात्रीमा पशुपतिनाथको दर्शन गरी फर्कने दर्शनार्थीहरुका हुलसँगै भेष बदलेर यिनीहरु बेतिया पुगेको अनुमान छ । त्यहाँ वाणिज्य दूत गोल्डिङको सिफारिश लिएर यिनीहरु पटना गए । कान्तिपुरे राजालाई सैनिक सहयोग दिँदा कम्पनीलाई आर्थिक लाभ हुने, पूर्वको सल्लाको काठ र खोटोबाट फाइदा आइरहने, बेतियामाथि सम्भावित गोर्खाली आक्रमण टार्न सकिने, अनि चीनसँग व्यापारको बाटो खुल्ने जस्ता कुरा सिफारिशमा परेको हुनुपर्छ । फेरि यस पटक अंग्रेजी सैनिक अभियानको खर्च मल्ल राजा आफैंले बेहोर्ने कुरा अंग्रेजहरुलाई सुनाइएको थियो । पटनाका अंग्रेजी हाकिम रम्बोल्डले सामान्य शक्ति प्रयोगले गोर्खाली पराजित हुनेछन्, मल्ल राजालाई सहयोग दिन आवश्यक छ भनी सिफारिश गरेका थिए । यता पृथ्वीनारायणले पनि कम्पनीसँग आफ्नो राज्यको भू–भाग जोडिएकाले भेट गर्न इच्छा देखाई पत्र पठाएका थिए । रम्बोल्डले पृथ्वीनारायणको यस पत्रको त्यति वास्ता गरेनन् । बरु मल्ला राजाको अर्जी, गोल्डिङ र आफ्नो सिफारिशसँग यो चिठी पनि कलकत्ता पठाइदिए ।
कलकत्तामा सम्पूर्ण परिस्थिति विचार गरी मल्ल राजालाई सहयोग दिने निर्णय विषय समितिले ग¥यो । पहिले पृथ्वीलाई उपत्यकाको नाकाबन्दी हटाउन पत्र लेखियो । तर, अंग्रेजको पत्रले उठाउने गरी लगाएको नाकाबन्दी थिएन त्यो । त्यो नेपाल एकीकरण अभियानको एक अंश थियो । एउटा सबल, संगठित र समृद्ध राज्य निर्माणको प्रक्रिया थियो । समुद्रपारिबाट आएको उपनिवेशवादी शक्तिले थर्काउँदैमा थर्किने थिएनन् गोार्खाली राजा । उनीबाट पत्रको नकारात्मक जवाफ पाएपछि पटना आइपुगेका कप्तान किनलक उमदा र रामदासबाट गोर्खाली सेना, हतियार, रणकौशल र भूबनोट आदिको सूचना लिएर नेपाली भूमितर्फ लागे । २४०० जति सेनाको यस समूहलाई रोक्न पृथ्वीनारायणले वीरभद्र उपाध्याय र वंसु गुरुङलाई ५०० सेना, वंशराज पाण्डे र श्रीहर्ष पन्थलाई ७०० सेना दिई पौवागढीमा राखेका थिए ।
जनकपुरदेखि सिन्धुलीगढीसम्म बस्ती खाली गराइएको हुँदा पटनाबाट हिँडेको सातौं वास सिन्धुलीगढीमा बस्ता पनि अंग्रेज अधिनको यस सेनाको गोर्खालीसँग मुठभेड भएन । हिन्दुस्थानमा भएका अहिलेसम्मका सम्पूर्ण लडाइँमा विजय पाएका अंग्रेजहरुले गोर्खालीहरु डरले भागेको अनुमान गर्न थाले । उमदा र रामदासको पथप्रदर्शनमा आएका यस सैनिक दलमा सबभन्दा अगाडि टाउकामा भारी बोेकेका मधेसी भरिया, त्यसपछि सामान आपूर्ति गर्ने हार्डीसहित सैनिक जवान अनि अन्त्यमा कप्तान किनलक थिए । पौवागढीको घुमाउरो उकालामा लस्करै चढेको यस दलका भरियाहरु पौवागढी टुप्पामा पुग्दा–नपुग्दा त्यहाँ बसेका बंशराज पाण्डे र श्रीहर्ष पन्तका मातहतका सेनाले आक्रमण गरे । यता ढुङ्ग्रेवासमा ढुकेर बसेका बंसु गुरुङका दलले सैनिक लस्करका बीचभाग माथि गुरिल्ला शैलीमा आक्रमण ग¥यो । यसरी थाप्ला र ढाडमा एकसाथ आक्रमण हुँदा किनलक अधिनका अंग्रेजी र हिन्दुस्थानी फौजको सातो गयो । बन्दुक फ्याँकेर यिनीहरु ज्यान जोगाउन जंगलतिर पसे तर गोर्खालीको खुकुरीसँग जोगिन सकेनन् । १६०० जति शत्रुसेनालाई मारेर बहादुर गोर्खालीहरुले नेपालमाथि आइलागेको यो महासङ्कट टारे । शत्रुसेनाका बन्दुक र गोलीगा खुर्कोट लगेर थन्क्याए । बन्दी भरियालाई मुक्त गरिदिए ।
यस युद्धले नेपाली समाजमा पु¥याएको एक ठूलो मनोवैज्ञानिक असरको बारेमा कम चर्चा भएको पाइन्छ । त्यो हो– नेपाल एकीकरणको नेतृत्व गरिरहेका तत्कालीन गोर्खाली राजा, राजपरिवार, भाइभारदार र त्यस प्रक्रियामा सहभागी तल्लो तहसम्मका पहाडे मूलका सम्पूर्ण नेपालीहरुको इसाई पादरीसहित सम्पूर्ण अंग्रेजहरुप्रति शङ्का, अविश्वास र शत्रुवत् भावनाको बीजारोपण भयो । यसपछिका अंग्रेजप्रतिको नेपाली नीति यसै घटनाले निर्देशन गरेको छ । तर, प्रभाव यतिमा मात्र सीमित छैन– इतिहासकारहरुले कप्तान किनलकले नेतृत्व गरेको २४०० फौजमा २०० जति गोरा र अरु भारतीय सैनिक भएको अनुमान गरेका छन् । बंगाल–बिहारमा संगठित त्यस कम्पनी सेनाका भारतीय जवानहरुलाई नेपालको पहाडमा मधेसी फौज भनेर चिनिन्थ्यो । संभवतः तत्कालीन नेपालमा मधेसी फौजसहितको यस आक्रमणलाई मधेसीले नेपाल एकीकरणमा भाँजो हालेको अर्थ लगाइयो । उता कान्तिपुरे राजा जयप्रकाश मल्लले पनि केही मधेसीहरुलाई आफ्नो सेनामा संगठित गरेका थिए । र, तिनले गोर्खाली सेनाको सक्तो प्रतिकार गरेका थिए । अर्कातिर सन् १७६२ मा पृथ्वीले मकवानपुर कब्जा गरेपछि दिग्बन्धनसेनलाई सघाउन आएको मीर कासिमले पठाएको गुरगिनखाँ नेतृत्वको तीन हजार मुसलमान सेना पनि मधेसी नै भएको गोर्खालीहरुको बुझाइ थियो । यसरी नेपाल एकीकरणको गोर्खाली अभियानमा मधेसीहरुबाट तीन वटा शक्ति केन्द्रमार्फत अवरोध पुगेको गोर्खालीहरुको बुझाइ अनुमान गर्न सकिन्छः–
१.जयप्रकाश मल्लको सेनामार्फत्
२. मीर कासिमको मुसलमान सेनामार्फत्
३. कप्तान किनलकको अभियानमा संलग्न सेनामार्फत्
स्वयम् पृथ्वीनारायणले दिव्योपदेशमा भनेका छन्– “…जयप्रकाशका मतलप लाई दषिन बाट नागा झिकाया र नेपाल भित्र पस्न न दि सात गाउँ भित्रै मा मिजायां कास्मेरी षान् नवाफ् मकुवानपुर मा चढ्यो र छअविस षोडाले काटि चर्काई सिवाना कटाई आञां तिन चार पल्टन लिएर सिन्दुलि गढि मा हाँडि साहेब चड्यो र वा वाहि पनि काटि पथर्काला च्यापि ल्याञा…।”
यसरी अंग्रेजसँग मात्र होइन, यी युद्घले पहाडी मूलका नेपालीहरुका मनमा मधेसीहरुप्रति पनि आशंका बढाए, अविश्वास जन्माए र वैरभाव विकास गराए । इतिहासकारहरुले नेपाली समाजभित्र गहिरो मनोवैज्ञानिक असर पार्ने यी युद्धहरुको यस कोणबाट विश्लेषण गरेका छैनन् । संभवतः यी र यस्तै घटनाहरुको पृष्ठभूमिबाट उपत्यका प्रवेश गर्न अनुमति लिनुपर्ने प्रावधान राखियो होला । जे होस् पृथ्वीनारायणप्रति अंग्रेजहरु अत्यन्त धेर पूर्वाग्रही हुनुमा कप्तान किनलकको असफल अभियान एक प्रमुख कारण हो । किनभने चीन र भारत जस्ता विशाल भू–भागमा प्रभाव विस्तार गर्दै, कब्जा जमाउँदै ल्याएको, सुदूर पूर्व कोरियाली प्रायद्विपदेखि सुदुरपश्चिम उत्तर अमेरिकासम्म एक छत्र शासन विस्तार गरिरहेको विश्वविजयी अंगे्रजी शक्तिलाई गोर्खाबाट आएको कोदे राजा पृथ्वीनारायणले घोक्रेठ्याक लगाइदिए । भनिन्छ भारतीय प्रायःद्विपका स्थानीय सत्तासँगको पहिलो हार थियो यो । २४०० सैनिक लिएर आएका किनलकले १६०० जवान गुमाएर बाँकी ८०० को ज्यान जोगाउँदै भाग्नु प¥यो । यो लज्जास्पद हारको कुण्ठा साम्राज्यवादी अंग्रेजी सत्ता र तिनको टेकोपुँडो गर्ने विद्वत्वर्गमा यति गहिरोसँग बस्यो कि पृथ्वीनारायणको भूतसँग तिनीहरु अहिले पनि तर्सिन्छन् । पृथ्वीनारायणले चौदण्डी र विजयपुर राज्यअन्तर्गत पर्ने तराई इलाका कब्जा गर्न अंग्रेजसँग कुटनीतिक सहयोगका लागि पत्र लेखेका थिए । अंग्रेजले सहयोग दिनु ता परै जाओस्, उल्टै “ती इलाका बंगालका हुन्, तुरुन्तै खाली गर” भन्ने उत्तर पठाए । तर, यो चिठी पाउनु अगाडि नै पृथ्वीनारायणले ती इलाका कब्जा गरिसकेका थिए र उनले त्यस चिठीको पूरै उपेक्षा गरे ।
तत्कालीन नेपालको अंग्रेजसँगको सम्बन्ध नै अविश्वास र शंकामाथि निर्माण भएको थियो । यिनीहरु विधर्मी, विदेशी, म्लेच्छ भनेर चिनिन्थे । उपनिवेशवादी– साम्राज्यवादी यिनीहरुको परिचय थियो । ब्वाँसो शैलीमा यिनीहरु नयाँ ठाउँमा प्रस्तुत हुन्छन् भन्ने नेपालीहरुलाई ज्ञान थियो । यिनले भारतमा कसरी जरा गाड्दैछन् भन्ने पृथ्वी अवलोकन गरिरहेका थिए । उनले दिव्योपदेशमा भनेका छन्–…“दषिन को समुद्रका बादशाह सित घाहा ता राषनु तर त्यो महाचतुर छ हिन्दुस्थाना दबाई राषे छ सरजिमीमा परि रहेछ, हिन्दुस्थान जाग्यो भन्या कठिन् पर्ला भनि किल्ला षोजन आउन्या छ सन्धी सर्पन हेरी गढि तुल्याइ राषनु…”
जयप्रकाश मल्ल र इस्ट इन्डिया कम्पनीबीच सम्पर्क सूत्र बनेका अंग्रेजी इसाई पादरीले कान्तिपुर विजय पछाडि पनि आफूविरुद्ध षडयन्त्र गर्दै गरेको आशंका थियो पृथ्वीलाई । कान्तिपुरबाट भागेका नगरकोटी सेनाले पाटनमा आश्रय लिएका थिए । उपनिवेशका दूत अंग्रेज पादरी पनि पाटनमै थिए । कान्तिपुर र पाटनका दुबै राजा भक्तपुरका शरणमा थिए । उपत्यका कब्जाको अन्तिम तर सबभन्दा कठिन युद्ध लड्न बाँकी नै थियो । यस्तो विषम परिस्थितिमा पृथ्वीले पाटनमा आसन जमाएका केपुचिन पादरीलाई नेपाली भू–भागबाट निष्कासन गर्ने कामको अभिभारा युवराज प्रतापसिंहका जिम्मामा सुम्पेर आफू तनहूँसँगको खटपट मिलाउन हिँडे । पादरी जिसेप्पी र माइकल एन्जेलोसहित तिनका ५७ जना नेपाली शिष्यलाई निष्कासन गरेर युवराज प्रतापसिंहले दायित्व पूरा गरे । तर, जयप्रकाश मल्ल र किनलकलाई पनि सघाउने कास्मिरी मुसलमानलाई भने पृथ्वीले छोएनन् ।
यसरी लक्ष्मीनरसिंह मल्ल (सन् १६१७–१६५९) का पालादेखि दरबारमा सम्मानसाथ ताम्रपत्र पाई बसोबास गर्न, धर्म प्रचार गर्न र अन्य सुविधा पाउँदै आएका पादरीहरुलाई पृथ्वीले देशबाटै धपाउन लगाएर यिनका साम्राज्यका सपना तोडिदिए । यही कारणले चर्च सम्पूर्ण शक्ति जुटाएर पृथ्वीनारायण र उनका उत्तराधिकारीका विरुद्ध लाग्यो । त्यो क्रमले २०६२–२०६३ मा शिखर छोयो र परिणाम हामी सबैको सामुन्ने छ । पादरी जिसेप्पी र पादरी माइकल एन्जेलोका सन्तानले डाँडा–काँडा–मैदान ढाकेको रंगीन दृश्य हामी भष्मासुरहरु टेलिभिजनमा सिरियल जसरी हेरिरहेछौं, सबैलाई चेतना भया ।