राष्ट्रिय एकताका प्रतिक राष्ट्रनिर्माता पृथ्वीनारायण शाह

२७ पुष २०७८, मंगलवार मा प्रकाशित

लामो इतिहास बोकेको प्राचिन मुलुक नेपालमा शाहवंशीय राजाहरु भन्दा अघि गोपाल, अभीर, किरात, लिच्छवी र मल्लवंशी राजाहरुको शासन रहेको इतिहास पढ्न पाइन्छ । केन्द्रीय शासनको कमजोरीबाट फाइदा उठाई थुमहरुले स्वतन्त्र भएको घोषणा गर्ने चलनले राज्यको सीमामा एकरुपता रहन नसकेको देखिए पनि नेपालको बाटो हुँदै दक्षिणी मुलुकहरुको भ्रमण गर्ने चिनीयायात्री युवानचाङको यात्रा वृतान्तले नेपाल वर्तमानको आकारभन्दा धेरै सानो नरहेको भनेको छ । मौर्यसम्राट समुद्रगुप्तबाट (९३५ई.)मा उत्तर प्रदेश प्रयागको स्तम्भ लेखमा आसामदेखि कुमाउँसम्मको भू–भाग नेपालकै रहेको उल्लेख छ । ४६४ई.को चाँगुनारायण शिलालेखबाट प्रामाणिक लिच्छवीराजा मानदेवले पूर्वका सामन्तहरुलाई दमन गरी गण्डकी तरेर मल्लपुरी समेतका राज्य एकीकरण गरेका थिए । पछि यक्ष मल्ल (१४८५–१५३८)ले ५३ बर्षको आफ्नो शासनकालमा “नरपतिजयचर्या टीका” नामको ग्रन्थमा उल्लेख भए अनुसार मिथिला, मगध र गया बिजय गरेको र कर्कपेट्रिकका अनुसार उत्तरमा शिकारजोङसम्म यिनको राज्य पैmलिएको थियो, भनेको छ ।

ईशाको एघारौंसम्ममा मुलुक तीन भागमा टुक्रियो, पश्चिम कर्णाली क्षेत्र खस मल्ल राज्य, दक्षिण कर्णाटवंशी नान्यदेवको सिम्रौनगढ राज्य र उपत्यका नेपाल मण्डल, तर टुक्र्याई यति मै शान्त हुन सकेन, यस वर्गीकरणबाट हौसिएर बाइसी–चौबिसी हुँदै प्रायः सबै थुमहरुले आफू स्वतन्त्र भएको घोषणा गर्दै जाँदा, अझ चोइँटिदै गयो । ती सबैमध्ये चौबिसी राज्य लम्जुङको छिमेकी राज्य गोरखा चाहिँ सानो र कमजोर नै हो, तापनि राजा पृथ्वीनारायण शाहको अदम्य साहस र एकीकरण अभियानको अठोटको अगाडि सानो हुन पाएन ।

राजा पृथ्वीनारायण शाहका १२ बर्र्षीय साइँला भाइ दलमर्दन शाह, जसलाई ‘तँ केटाकेटी छस् लडाइँमा जानुहुँदैन घर जा’ भनिएका बालकले सिपांहि चढेको नौकामा लुक्दै त्रीशुली तरेर पहिलो नुवाकोट युद्धको अन्त्य गराइदिए । उनको हातको तरवारबाट नुवाकोट सेनाप्रमुख उमराव शंखमणि राणा ई.सं.१७४४ को २६ सेप्टेम्बर शनिबार बिहानको पहिलो युद्धमा मारिंदा यस एकीकरण अभियानको ‘जेठी तरवार’ उनैको भएको घोषणालाई इतिहासले उल्लेख गरेको छ । सेना प्रमुखको मृत्यु हुनाले भएको भागदौडमा धेरै मल्लसेना मारिएपछि सहजै नुवाकोट बिजय भएको थियो ।

विद्वान ज्योतिषी कुलानन्द जैसी (ढकाल)को साइत, गोरखाली जनताको राजाप्रतिको श्रद्धा, विश्वास र सहयोगका कारण नुवाकोटसँगै उपत्यका वरिपरिका मकवानपुर, किर्तिपुरसहितका धेरै राज्यहरु बिजय हुँदै गए । किर्तिपुर बिजयपछि झस्किएका कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेजसँग सहयोगको याचना गरे । तत्काल गोर्खाली फौजसँग युद्ध गर्न टिप्राको लडाइँका बिजयी योद्धा कप्तान किनलकको नेतृत्वमा २४ सय फौज सिन्धुलीगढीको पौवागढीमा पसिना पुछ्दै उकालो चढ्दै आउँदै थियो । राजा पृथ्वीनारायण शाहको आदेशमा वीरभद्र उपाध्याय र शिकारी बंशु गुरुङ नेतृत्वको पाँच सय जतिको गोर्खाली फौजको सिस्नो र अरिङ्गालो गोलोसहितको अप्रत्याशित आक्रमणबाट अत्तालिएर भाग्दा १६ सय अंग्रेज फौज मरे, जसमा केही हातहतियारसहित तीन सय बन्दुक गोर्खाली फौजलाई प्राप्त भएको थियो ।

त्यसपछि वि.स. १८२५ कात्तिक १३ गते आइतबार मध्यरातमा इन्द्रजात्रा पर्व मनाइरहेका समयमा गोर्खाली फौजले तीनतिरबाट गरेको कान्तिपुरको आक्रमणमा नरदेवीतर्पmको फौजको नेतृत्व स्वम् राजा पृथ्वीनारायण शाहले गरेका थिए । दरबार घेरेको चार घण्टामा सामान्य झडपपछि नै बिजय प्राप्त गरी पृथ्वीनारायण शाह हनुमानढोकाको न्हुछेदरबार अगाडिको डबलीमा राखिएको कान्तिपुरको राजसिंहासनमा बसे । ललितपुरका राजा गद्दी छाडेर भागेकाले पाटन युद्ध नगरी प्राप्त भयो ।

यो बिजयको झण्डै एक बर्षपछि राजा पृथ्वीनारायण शाहका कान्छो भाइ शूरप्रताप शाह, सेना प्रमुख वंशराज पाँडे र केहरसिंह बस्नेत नेतृत्वको १५ सय गोरखाली फौजको अत्यासपूर्ण आक्रमणबाट राजा रणजित मल्लले युद्धको तेश्रो दिन दरवारको झ्यालबाट आफ्नो पगरी देखाएर आत्मसमर्पण जनाउँदा भक्तपुर समेतको बिजय भई उपत्यका एकसूत्रमा बाँधियो, एउटा सिङ्गो राज्य भयो र शाहकालको एकीकरण अभियानमा नेपालको पहिलो र महत्वपूर्ण बिजयले पूर्णता पायोे ।

पृथ्वीनारायण शाहले चाहेको भए यो विजित मुलुकको नाम नेपाल नराखी यक्ष मल्लका छोराहरुले भैंm भाइहरुलाई बाँडेर सबैलाई खुशी बनाउन सक्थे, तर त्यसो नगरी राज्य फेरि टुक्रिन नपाओेस् भनि दह्रो नियम स्थापित गरिदिए । युद्धभूमि मै जीवन न्यौछावर गर्नुपर्दा सन्तानहरुको शिक्षा–दीक्षामा ध्यान पुग्न सकेन, फलस्वरुप छोरा प्रतापसिंह शाह अयोग्य शासक हुन पुगे, नाती राजेन्द्रबिक्रमको पनि शिक्षा–दीक्षा राम्रो हुन सकेन, पनाति रणबहादुर शाह पनि अयोग्य नै भए । यता ज्यान पातमाथि राखेर युद्ध लडेका तर अन्तिम कालसम्म पनि राज्यको भाग नपाएका भाइहरु यिनीसँग क्रुद्ध भएका थिए, एकपटक ज्योतिषी कुलानन्दले साइत नदिएका बेला सल्लाह बिना हतारिएर युद्धमा होमिँदा कालु पाण्डे जस्ता दूरद्रष्टा सहयोगी गुमाउन पुगे, आफू पनि शत्रूपक्षको घेरामा परे । जतिसुकै पीडा व्यहोर्नु परेको भए पनि उनको चिन्तन, स्वभाव र आचरणमा स्वार्थ कहिल्यै पलाउन सकेन ।

ई. पु. ३५६ तिर सानो मुलुक मेसोडोनियाका गोरिल्ला युद्ध निपुण विश्वविजेता अलेक्जेण्डर र पृथ्वीनारायण शाह दुवैमा केही समानता देखिन्छन्–(१) दुवैको राज्य सानो थियो, २) दुवैको सेना सानो थियो, ३) दुबैसँग आधुनिक हातहतियारको अभाव थियो । तापनि अदम्य साहस र गुरिल्ला युद्ध निपुणताले पराजय नभोगी अघि बढिरहे ।

नुवाकोटको पहिलो युद्ध बिजय गर्दैगर्दा पृथ्वीनारायण शाह २१ बर्ष लाग्दै थिए । यिनका सेनापती कालु पाण्डे ३१ बर्ष, यता भिमसिंह थापाका छोरा सरदार अमरसिंह थापा १८ बर्षको उमेरबाट नै युद्धमा होमिएका थिए । १२ बर्षीय साइँला भाइ दलमर्दन शाहको हातको तरवारबाट नुवाकोट सेना प्रमुख शंखमणि राणा नै मारिए । यसरी युवा जोस–जाँगरबाट एकीकरण भएको नेपालको तालाचाबी र सञ्चालन प्रक्रिया अब शिक्षित युवाहरुको दरिलो काँधमा सुम्पनुपर्छ, यो अपरिहार्य छ । विश्वका कैयौं मुलुकहरु– फ्रान्स, फिन्लैण्ड, कोष्टारीका, भूटान लगायतका मुलुकहरुमा शिक्षित युवाहरुको नेतृत्व बढ्दै जाँदा विकासका लहरहरु तीव्रताका साथ अघि बढिरहेका छन् ।

राष्ट्रिय एकताका प्रतिक, राष्ट्रनिर्मातालाई मुलुकले सम्झनुपर्नेमा विगतका केही बर्ष सम्झेको देखिएन, यस्तो अवस्था अब फेरि दोहोरिन दिनुहुँदैन । यसै महान एकीकरणको सफलताको कारण आज हामी विश्वसामु स्वाभिमानी नेपालीका रुपमा परिचित हुने अवसरबाट गौरवान्वित हुन सकिरहेका छौं । नेपालका हाल विद्यमान दलहरुले पनि आन्तरिक संगठन व्यवस्थापनमा र नेतृत्व चयनमा शैक्षिक मापदण्ड निर्धारण गर्नुपर्छ, समाजसेवामा तल्लीन, विकासप्रेमी, इमान्दार, शिक्षित व्यक्तित्वहरुलाई आकर्षित गराउनुपर्छ । सांसद पदलाई स्नातकोत्तर तह हुनैपर्ने बाध्यकारी व्यवस्था अवलम्बन गर्नुपर्छ, यो नै नेपाल एकीकरणका श्रद्धेय व्यक्तित्व, राष्ट्रिय एकताका प्रतिक, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण हुन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here