पृथ्वीनारायण शाह साम्राज्यवादी कि एकीकरणकर्ता ?

२७ पुष २०७८, मंगलवार मा प्रकाशित

पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) शाह वंशीय राजा थिए । स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झना र सम्मानमा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सम्म राणाशासन थियो भने सात सालको परिवर्तन पश्चात् योगी नरहरिनाथले नेपालमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया शुरु गरेका थिए । तर, पृथ्वीनारायण शाहमाथि एकल नश्ल, एकल धर्म र एकल सम्प्रदायको वर्चस्व स्थापित गरेको आरोप लगाउँदै राष्ट्रनिर्माता भन्न नसुहाउने तर्क पनि गरिरहेका छन् कतिपय ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उनको सम्बन्धमा सकारात्मक र नकारात्मक दुबै कोणबाट धेरै चर्चा परिचर्चा हुने गर्छ । उनलाई राष्ट्रनिर्माता र वर्तमान नेपालको एकीकरणकर्ताको रूपमा गरिने चित्रण र चर्चालाई मन नपराउने र उनको शालिकमा थुक्नुपर्छ भन्ने जातिवादी र उग्रवादी सोच पनि देखापरेको छ । वर्षैपिच्छे पुस २७ गतेलाई पृथ्वी जयन्ती मनाउनेहरूलाई बाहुन–क्षेत्री कम्युनिष्ट भन्नेहरू पनि छन् नेपालमा । पृथ्वीनारायण शाह यहाँका अहिन्दू मूलवासी मंगोलहरुलाई षडयन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट, काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिए भनेर आरोप लगाइएको छ ।

उनी एक कुशल सैनिक नेतृत्व र सफल शासक त छँदै थिए, एउटा दूरदर्शी रणनीतिज्ञ पनि थिए । एकीकरणका दौरानमा राज्य विस्तार गर्नुपरेको कारणबाट पृथ्वीनारायण शाहले आक्रामक नीति अवलम्बन गर्नुपरेको हो । पृथ्वीनारायण शाहका योगदानको चर्चा गर्ने सबै राजावादी भएको र देशबाट राजतन्त्रको उन्मूलन भए पनि संरचना र राजतन्त्रका ठेकेदारहरू पृथ्वीनारायणलाई एकीकरणकर्ता मान्नेहरू भएको भनी आरोपित गरिएको छ । पृथ्वीनारायण शाहलाई साम्राज्यवादी सामन्ती राजा मान्दै वर्तमान नेपाल एकीकरण गर्ने व्यक्तिका रूपमा मान्न नसकिने र एकीकरणका नाममा निष्पक्ष कहीँ कतै राज्य जितेका थिएनन् भन्ने पृथ्वीनारायण विरोधीको आरोप छ । उनले त एकीकरणको नाममा साम्राज्य फैलाएको र उनको लक्ष्य राज्य एकीकरण थिएन भन्ने मत राखेको पाइन्छ । तेस्रो पटकमा नुवाकोट आक्रमण गरी विजय हासिल गरेपछि जयन्त राना मगरको छाला काढ्न लगाई निर्दयतापूर्वक मार्न लगाइएको थियो भनी केही इतिहासकारले लेखेका छन् । किर्तिपुरलाई पनि तेस्रो पटक आक्रमण गर्दा मात्र पृथ्वीनारायण शाहले जितेका थिए । तर, त्यहाँका नेवार समुदायका १७ धार्नी नाक, कान काटियो भनी पृथ्वीनारायण माथि दोष थोपरिएको छ । यो घटना १७७५ को चैत्र महिनामा भएको थियो । विजेताले विजित जनतामाथि कुनै अत्याचार र ज्यादती गरेनन् भनेर नकार्न पनि सकिँदैन ।

अर्को कोणबाट हेर्ने हो भने पृथ्वीनारायण शाहले स–साना क्षेत्र जस्तै भिरकोट, कास्की, लमजुङ, गोरखा आदिमा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले शुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । पछि सुगौली सन्धिपछि मात्र नेपाल खुम्चिनु परेको थियो । विश्वका अधिकांश देशमा बलिया र बहादुरले नै समेटेर लगेको र मुलुक निर्माण गरेको देखिन्छ । शत्रुपक्ष भन्दै दमन गर्न खोज्दा सफलता भएको देखिँदैन । अमेरिकामा आदिवासीलाई बीऊका रूपमा मात्र छुट्टै क्षेत्रमा राखेका छन् । वास्तवमा स्वतन्त्र अमेरिका बनाउँदा आदिवासीमाथि ठूलै ज्यादती गरिएको थियो ।

इतिहासमा भएको अन्यायलाई अन्याय नै भन्नुपर्छ । तर, एउटा जातले अर्को जातलाई अपमान गर्ने, एउटा राज्यले अर्को राज्यलाई परास्त गर्दै अहिलेको अवस्थामा सबै आएको इतिहास छ । यो कुरा हाम्रो नेपालमा मात्र होइन, विश्वमा पनि त्यही भएको हो । एकीकरणका क्रममा शासकहरूबाट केही अन्याय, थिचोमिचो अवश्यै हुन सक्छन् । चाहेर वा नचाहेर पनि त्यस्तो हुन्छ । के गइसकेको कुरा अब फर्काउन सकिन्छ ? बितेका कुरा छाडेर नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । हामी अहिले एक्काइसौं शताब्दीको उत्तरआधुनिक युगमा छौं । पृथ्वीनारायण शाहको विशाल देशको महाराजा हुने व्यक्तिगत चाहना रहेको भए पनि उनी एकीकरणकर्ता नै हुन् । विश्वभर विगतमा जति पनि राज्य विस्तार वा राज्य निर्माण भएका छन् अधिकांश व्यक्तिगत इच्छा वा महत्वाकांक्षाबाटै शुरु भएका हुन् ।

इतिहास त इतिहास भइसकेको छ । इतिहासलाई लिएर अहिले एक जातिलाई अर्को जातिमाथि अन्याय गर्न प्रपञ्च रच्नु घातक काम हो । पृथ्वीनारायण शाहलाई कसैले नायक र कसैले खलनायक भन्नु भनेको हामी नेपाली अबुझ बन्नु हो । सिंगो र एकताबद्ध मुलुक बनाउने क्रममा पटक–पटक रक्तपात भएको नेपालको इतिहास छ । भारत र चीनमा पनि सयौँ राज्यहरू थिए । ती मुलुकमा विभिन्न सम्राट थिए । लडाइँ लडेर नै ठूलो र अखण्ड देश बनाउने काम अन्य देशमा पनि भयो । ठूला देश भारत र चीनबीचका हामी साना–साना राज्य छौँ, मिलेर अगाडि बढेमात्र टिक्छौँ, भारत र चीनले हेप्न सक्दैनन् भनेर ‘दुई ढुङगाबीचको तरुल’ भने पृथ्वीनारायण शाहले । उनले एकीकरण अभियानलाई गण्डकीसम्म पु¥याए, त्यसलाई उनका उत्तराधिकारीहरू राजेन्द्रलक्ष्मी, बहादुर शाह आदिले अगाडि बढाएका हुन् ।

एकीकृत, सिंगो र एकताबद्ध नेपाल नभएको भए आज कस्तो हुने थियो होला, एकछिन कल्पना गरौं त । नेपाल एकीकरण नभएको भए अहिले कस्तो अवस्थामा हुन्थ्यौँ ? भारत वा चीनको एक भागमा हामी रहन्थ्यौं होला । एकीकरण पूर्व ५५ बढी राज्य थिए नेपालमा । त्यही अवस्था अहिले हुने हो भने नेपाल र नेपालीको अस्तित्व हुने थिएन । पृथ्वीनारायण शाहको योगदान र त्यागका कारण हामी अहिले अखण्ड नेपालका नागरिक बनेर शिर ठाडो पारेर सम्मानसाथ बाँच्न पाएका छौं । आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठनिक जग निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ ।

गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी–चौबीसी राज्य–रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे । उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण संसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही बिन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुख–दुःख गर्दै बाँचेका तथा कुनै सीमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्रनिर्माणको प्रक्रिया शुरु भयो ।

पृथ्वीनारायणका बारेमा नेपालीहरू गौरवान्वित हुनुपर्छ । आज नेपाल टिकेको मात्र छैन, आवश्यक पर्दा यसले शत्रुलाई लडाएको र शत्रुलाई ढालेको पनि छ । पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थ्यो वा हुन्नथ्यो, यसै भन्न सकिँदैन । एकीकरण आजको अकाट्य र चुनौति दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः विस्मृतिको गर्भमा विलीन भएको कथा भइसकेको हुने थियो । आज हामी स्वतन्त्र देशका नागरिक हुन पाएका छौं । हाम्रो विश्वभर नेपाली भनी प्रतिष्ठा छ । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने, तर निर्माता चाहिँ अभिशाप कसरी हुन सक्छ ? यसकारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here