इतिहास बिर्सेका युवा,भविष्य बिर्सेका शासक

२८ पुष २०७८, बुधबार मा प्रकाशित

नेपालको राजनीतिक आन्दोलनको नेतृत्व गरेका प्रमुख दलहरुले नेपाली समाज र इतिहासको वस्तुगत मूल्याङ्कन गर्ने कामलाई आफ्नो दायित्व सम्झेका छैनन् । कुनै लेखक वा इतिहासकारबाट आधिकारिक मान्न सकिने जनइतिहास लेखिएको पनि छैन ।

इतिहासबोध नभएको राजनीतिले वर्तमानलाई गलत दिशामा डो¥याउँछ र राष्ट्रको भविष्य बिथोलिदिन्छ । नेपाली राजनीतिमा कम्युनिस्ट र गैरकम्युनिस्ट दुबै धारका दलको नेतृत्वमा देखिएको अन्धराष्ट्रवादी चेतना त्यसैको उपज हो । आजका युवा राजनीतिकर्मीहरुले नेपाली इतिहास, समाज र राजनीति बुझ्न तथा बदल्न इतिहासका मूलतः दुईवटा पक्षको गम्भीर अध्ययन गर्नैपर्छ ।

पहिलो– पृथ्वीनारायण शाहलाई प्रस्थानबिन्दु बनाएर सुगौली सन्धि, राणाकाल हुँदै नेपालको समग्र इतिहासको वस्तुगत अध्ययन र समीक्षा गर्नु आवश्यक छ, जसले नेपाली समाज, नेपालको राज्यनिर्माण, यहाँको जातव्यवस्था, जातीय तथा क्षेत्रीय उत्पीडन, साम्राज्यवादी प्रभुत्व र परराष्ट्र सम्बन्ध लगायत समग्र ‘नेपाल निर्माण’ को प्रक्रिया र विकास बुझाउनेछ ।

दोस्रो– माओवादी आन्दोलनलाई प्रस्थानबिन्दु बनाएर नेपालका राजनीतिक पार्टी, तिनका सङ्गठन, पार्टी नेतृत्वका आन्दोलन, राजनीतिका सशस्त्र र शान्तिपूर्ण प्रयोगहरुको अध्ययन गर्न आवश्यक छ, जसले सुगौली सन्धीयताको सबैभन्दा ठूलो परिघटनाका रुपमा रहेको माओवादी जनयुद्धको उठान, सञ्चालन र अवसानको समीक्षा मार्फत् आउँदो राजनीतिक यात्रालाई गम्भीर शिक्षा दिनेछ ।

इतिहासको सही मूल्याङ्कन गर्न सक्नेले नै वर्तमानलाई सही दिशा दिन र भविष्यको सही यात्रा तय गर्न सक्छ । आज राज्य सञ्चालनको जिम्मेवारी लिएका राजनीतिक दलहरुको नेतृत्वमा न सुस्पष्ट इतिहासबोध छ, न भविष्यदृष्टि ! नेपालको समग्र इतिहास र पछिल्लो दूरगामी राजनीतिक आन्दोलन दुबैको वस्तुगत समीक्षा र मूल्याङ्कन गरेर नयाँ आन्दोलन उठाउने र नयाँ इतिहास निर्माण गर्ने दायित्व युवा राजनीतिकर्मीहरुको काँधमा आएको छ ।

एक्काइसौं शताब्दीको ज्ञान–विज्ञानले सज्जित नयाँ मान्छे निर्माण गर्ने आन्दोलनका लागि आजका युवा राजनीतिकर्मीहरुले पहल लिनैपर्छ । यस सन्दर्भमा चे ग्वेभाराको समाजवाद र नयाँ मानव निर्माण सम्बन्धी एउटा लेखांश उदृत गर्नु सान्दर्भिक ठान्दछु– ‘आजसम्मको अनुभवद्वारा स्थापित सिद्धान्तले समाजवाद निर्माणका सम्बन्धमा दुईवटा स्तम्भमा विशेष जोड दिन्छ ।

पहिलो हो, नयाँ मानवको सिर्जना र दोस्रो हो, प्रविधिको विकास । हामीले यी दुबै स्तम्भहरुको विकासका लागि धेरै नै काम गर्न बाँकी छ ।’ चे ग्वेभाराले भने जस्तै नयाँ मानव सिर्जना गर्ने र प्रविधिको प्रचुर विकाससहितको नूतन राजनीतिक थिति बसाल्नका लागि नयाँ ढङ्गको राजनीतिक सङ्गठन कै खाँचो पर्छ । र, नेपालमा विद्यमान राजनीतिक पार्टीमा आबद्ध आलोचनात्मक चेतका युवाहरुले सुरमा पार्टीभित्रै र पार्टीमा नरहेका नवयुवाहरुले आमरुपमै राजनीतिक विकल्पको नयाँ बहस चलाउन अब ढिला गर्नु हुँदैन ।

त्यसका लागि सङ्गठित प्रयत्नसहित अघि बढ्नुपर्छ– आजको विश्व व्यवस्था बुझ्दै र बदल्दै, ज्यामीजनलाई सङ्गठित र एकताबद्ध गर्दै, पितृसत्ता र जातसत्ताका विरुद्धमा अभियानहरु चलाउँदै, सभ्यता, संस्कृति, पृथ्वी र पर्यावरणको रक्षा गर्दै, मिडिया र ज्ञानोत्पादनका वैकल्पिक थलोबाट सांस्कृतिक जागरण चलाउँदै ! युवा राजनीतिकर्मीबीच युगले पक्षधरताको गम्भीर प्रश्न पनि सोधिरहेको छ– यही थिति जोगाउने कि नयाँ थिति बसाउने ?

प्रतिनिधिसभा विघटन र पुनःस्थापना, नेकपा (नेकपा)को एकता बदर र नयाँ सरकार गठनको संसदीय खेल सम्बन्धी पुरानै चक्करमा फसिसकेको आजको दिगमिगलाग्दो, भ्रष्ट र धोकापूर्ण राजनीतिबाट आममानिस दिक्क भइसकेका छन् । अहिलेको राजनीतिक नेतृत्वले जनतामा पुनः मत माग्न जाने नैतिकता पनि गुमाइसकेको छ । सतहमा प्रकट भएको यो चौतर्फी विघटनले नयाँ राजनीतिक पुनर्गठनको आवश्यकता र औचित्य पुनर्पुष्टि गरेको छ । यस्तो बेलामा पनि कतिपय नेता, कार्यकर्ता विद्यमान प्रणालीलाई नै संसारको सर्वोत्कृष्ट प्रणाली हो भनेर वकालत गर्दछन् । उनीहरु लोकतन्त्रको नयाँ ढाँचा खोज्न चाहँदैनन् ।

किन नखोज्ने ? उनीहरु भन्छन्– किनभने संसारमा त्यस्ता उदाहरण छैनन् । समाजवादको नयाँ मोडल किन विकास नगर्ने ? कतिले भन्छन्– किनभने दुनियाँमा नयाँ मोडलको अभ्यास भएकै छैन । के त्यसो भने हामीले नेपालमै क्रान्ति र लोकतन्त्रको नयाँ मोडल विकास गर्न सक्दैनौंं ? ज्ञान–विज्ञानमा सीधै पहुँच राख्न सक्ने आजको संसारमा नेपाली युवाले नै आफ्नो मुलुकका लागि आफैं नयाँ थिति बसाल्न सक्दैनन् ? अवश्य सक्छन् ।

नयाँ व्यवस्था खोजी गर्न सक्छन्, स्थापना गर्न सक्छन् । आधारभूत रुपमा गरिखाने वर्गको हित गर्ने थिति ल्याउन र टिकाउन नेपालमा पनि सम्भव छ, त्यसका लागि युवाहरुले आ–आफ्ना ठाउँबाट नयाँ जागरण अभियान थाल्न आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here