मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको शालिक राखिएको भन्दै विरोध

२८ पुष २०७८, बुधबार मा प्रकाशित

झापा,

मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राखिएको भन्दै नेपाल आदिवासी जनजाति मञ्च कचनकवलले विरोध गरेको छ।

कचनकवल गाउँपालिका–५ पाठमारीस्थित नयाँ हाटमा मंगलबार ३०० औं पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा कचनकवल गाउँपालिका र वडा कार्यालयले पृथ्वीनारायण शाह पूर्ण कदको शालिक अनावरण गरेको भन्दै नेपाल आदिवासी जनजाति मञ्चका कार्यकारी अध्यक्ष फूलचन्द्र गणेशले बुधबार विज्ञप्ति निकाल्दै विरोध गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘कचनकवल-५ नम्बर वडा कार्यालयले मेची स्तम्भ उद्घाटन कार्यक्रमको नाममा सुनियोजित ढङ्गले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेकोमा मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ।’

सङ्घीय लोकतन्त्र, गणतन्त्र नेपालको संविधानको मर्म र भावना विपरीत स्थानीय सरकारको यो कदमले समग्र आदिवासी जनजातिको पहिचानमाथि प्रहार भएको उनीहरूको दाबी छ।

उनीहरूले इतिहास सच्याउन माग गरेका छन्। कचनकवल गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय भाषा, धर्म, लिपि, संस्कार, संस्कृति, पहिचानको संरक्षण संवर्धन गर्ने व्यवस्था भए पनि कार्यान्वयन मात्र गरेको छैन, सङ्घीयताको मर्म र भावना विपरीत पनि छ।

नेपाल आदिवासी जनजाति मञ्चले कचनकवल -६ बेनियानीस्थित मूलचोकलाई आदिवासीको साझा पहिचानको रूपमा स्तम्भसहित हुकाहुकी चोक, बेनियानी नामकरण गराउन विगत २ वर्षदेखि निरन्तर सङ्घर्षरत रहेकाे बताएको छ।

सङ्घीय लोकतन्त्र र गणतन्त्र व्यवस्थाबमोजिम स्थानीय सत्तामा पुर्‍याउने आदिवासीको पहिचान समाप्त पार्न लागिपरेकाले कचनकवल गाउँपालिकाको कदमप्रति मञ्चले विरोध गरेको जनाएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here