पुल भत्काइएपछि स्थानीयको विरोध

२८ पुष २०७८, बुधबार मा प्रकाशित

झापा,

वैकल्पिक सडक नराखी भद्रपुर बसपार्क र मुख्य बजार जोड्ने पक्की पुल भत्काउँदा आवतजावतमा गर्न कठिनाइ उत्पन्न भएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्। मेची पुलदेखि झापा चोकसम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गमा पर्ने भद्रपुर–५ स्थित बसपार्क नजिकैको जीर्ण पक्की पुल १५ दिनअघि भत्काइएको थियो।

जीर्ण पक्की पुल भत्काएर त्यस ठाउँमा हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले ट्रिपल सेल बक्स कल्भर्ट बनाउन लागेको हो। कल्भर्टको ठेक्का खामपाते, शेर्पा निर्माण सेवा, चाहबेल काठमाडौँले पाएको छ।

तीव्र गतिमा कल्भर्ट बनाउने काम गर्ने निर्माण कम्पनी पक्षले आयोजनाका कर्मचारीसमक्ष प्रतिबद्धता जनाएपछि जनप्रतिनिधि र स्थानीयले जीर्ण पुल भत्काउन दिएका थिए। तर, पुल भत्काएको दुई साता दिन बित्न लाग्दा समेत काम सुरु नभएपछि अहिले स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।

भद्रपुर बजार, मेची पुल जाने मुख्य सडकमा पुल नहुँदा आउजाउसँगै भद्रपुरको व्यापार–व्यवसायमा प्रत्यक्ष असरमा परेको स्थानीय मनान शेखले बताए। ‘पुल भत्काउँदा नजिकै आउजाउका लागि छुट्टै डाइभर्सन बनाउनुपर्नेमा त्यो पनि छैन’, उनले भने, ‘काम सञ्चालन नभएपछि यसबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनवाइ भएन।’

विरोधमा उत्रिएका २० देखि २५ जना स्थानीय बासिन्दा मंगलबार भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई भेटेर मौखिक ध्यानाकर्षण गराइसकेको उनले बताए।

बक्स कल्भर्ट बनाउने निर्माण कम्पनीको काम राम्रो छैन। ‘धेरै ठाउँमा अधुरो काम गरेर छाडेको बुझिएको छ’, उनले थपे। ‘पुल नहुँदा सवारीसाधन चल्नु त परै जाओस्, मान्छे समेत हिँड्ने वैकल्पिक बाटो राखिएको छैन’, स्थानीय गोकुल कानुले भने।

‘बसपार्क जहिले चहलपहल हुने ठाउँ हो, अहिले सुनसान छ’, स्थानीय दुर्गा गौतमले भने, ‘यहाँको व्यापार व्यवसाय ह्वात्तै घटेको छ, यहाँका जनप्रतिनिधि के हेरेर बसिरहेका छन्, विकास यस्तै हुन्छ ?’

निर्माण कम्पनीले पुल भत्काएर त्यत्तिकै छाडेर बेपत्ता हुँदा तोकिएको समयावधिमा निर्माण सम्पन्न नहुनेमा स्थानीय चिन्तित देखिएका छन्। कम्पनीले अहिलेसम्म निर्माण स्थलमा जनताले देख्ने गरी बजेट र अवधिसहितको होडिङ बोर्ड समेत राखेको छैन।

हुलाकी राजमार्ग आयोजनाले खामपाते, शेर्पा निर्माण सेवालाई ५ करोड ९१ लाख ३८ हजार ३३६ रुपैयाँमा दुईवटा ट्रिपल सेल बक्स कल्भर्ट, एउटा सिङ्गल सेल बक्स कल्भर्ट, राजगढ बजारमा पक्की नाला र भद्रपुरदेखि राजगढसम्मको हुलाकी राजमार्ग सडक किनारमा तारजाली लगाउन ठेक्का दिएको फिल्ड कार्यालय झापाका सब इन्जिनियर रामभरोस चौधरीले जानकारी दिए।

२०७७ चैत ११ गते सम्झौता गरेको निर्माण कम्पनीले १८ महिनाभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने उनले बताए। त्यही ठेक्कामा भद्रपुर बसपार्कमा बक्स कल्भर्ट बन्न लागेको बताउँदै उनले भने, ‘निर्माण कम्पनीले तीव्र गतिमा काम गर्ने बताएको थियो, काममा ढिलासुस्ती गरिरहेको जनगुनासो आएकै हो।’

ठेक्का सम्झौता गरेदेखि ९ महिनासम्म निर्माण कम्पनीले राजगढमा ३ सय मिटर नालामा मात्र बनाएको छ। अहिले बसपार्कमा कल्भर्ट बनाउन लागेको उनले बताए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here