र्दुुलभ प्रजातिको चरा “पाङरो खाने हाङरो”

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

यो महिना जैविक विविधताको क्षेत्रमा नेपालमा एउटा रोचक घटना घट्न पुगेको छ । झण्डै दुई सय बर्षयता कसैले नदेखेको भनिएको हाङ्रो चरा फेला परेको छ । लोप भइसकेको भनिएको हाङ्रो देखिनुले खुशीको लहर छाएको छ । पाङ्रो जस्तो ठूलो र कडा बीऊ सुलुक्कै निलिदिने हाङ्रो हराएको र पुनः भेटिएको चाखलाग्दो विवरण यस आलेखमा अटाउने प्रयास गरिने छ ।

सन् १८२९ डिसेम्बर २१ तारिखको दिन हड्सन भन्ने प्रकृतिविद्ले पूर्वी नेपालको पहाडी क्षेत्रमा रहरलाग्दो पक्षी देखे । अक्सर गरेर चुच्चो ज्याँदै ठूलो लाग्ने उक्त चराको नामकरण ‘बुसिरोस निपालेन्सिस’ भनेर उनैले गरे । उनले स्थानीय नेपाली नाम ‘होमराई’ भनेर उल्लेख गरेको उक्त चरो हाङरो हो । उच्चारण नबुझेर त्यसो भनेको हुनसक्ने जैविक विविधताका अधेता कमल मादेनले बताएका छन् । चुच्चोमाथि थप हाड पदार्थ खाग जमेको चरोलाई ‘बुसेरस’ या धनेश चरो भनिन्छ । तर, उक्त चरोमा त्यस्तो थप हाडीय पदार्थ जमेको नपाइएकोले ‘बुसेरस’ नामको सट्टा ‘असेरस’ भन्ने नाम राखियो । अब त्यस चरोको नाम ‘असेरस निपालेन्सिस’ बन्न पुग्यो ।

सन् १८४८ नोभेम्बर ९ तारिखको दिन महान वनस्पतिशास्त्री जोसेफ डाल्टन हुकर इलामबाट ताप्लेजुङको ओलाङ्चोङ्गोलातर्फ यात्राको क्रममा थिए । उनको प्रमुख उद्देश्य हिमालय क्षेत्रमा पाइने वनस्पतिहरुको नमूना सङ्कलन र अध्ययन थियो । प्रकृतिविद् हुकरको अाँखा एकदमै अचम्म पार्ने सुन्दर चरामथि पर्यो । उनी टक्क अडिए । मज्जाले अघाइन्जेल चरालाई हेरे तर उनको प्यास मेटिएन । उनले आफ्नो यात्रा वृत्तान्तमा लेखेका छन्– ‘मझौला पहाडमा हामी उक्लदै उत्तरतर्फ लाग्यौं, रमणीय वनको बाटो लोभलाग्दो थियो, वनभरि धनेश चरा नाचिरहेका देखिन्थे ।

जसको आकार–प्रकार टुकन चरासँग मिल्दोजुल्दो थियो ।’ उनले तुलना गर्न खोजेको टुकन चरा दक्षिणी अमेरिकामा ज्याँदै प्रख्यात थियो । टुकनको सानो टाउकोले विशाल चुच्चो अड्याउनु चानचुने कुरो हुन्न थियो । हुकर पनि यसलाई बुसेरोस नै भनेर झुक्किएका थिए भनेर अध्येता मादेन बताउँछन् । बुसेरोस र असेरोस जेनेरिक नाम पाएका चराहरुले धेरैलाई झुक्याएको कारण, तिनीहरुबीचको शारीरिक र आन्तरिक सम्रचनागत पृथकताबारेको लामै लेख मादेनले लेखेका छन् । नेपाली चराविद्हरुमा समेत भ्रमहरु रहेको र उक्त भ्रमहरु अब नरहने कुरामा सबै ढुक्क बन्नुपर्ने हुन्छ । अर्कोतर्फ मोफसलका वाईल्ड्लाईफ फोटोग्राफर देवेन खरेलले खुद आफैंले खिचेका तस्विरहरु असेरस निपालेन्सिस कै भएका र यसले हाङ्रो नेपालबाट लोप भइसकेको छैन भन्ने प्रमाणित गरेको छ ।

हड्सनले नामाकरण गरेको र टुकन भनेर हुकर झुक्किएको उक्त चरो ‘रुफस नेक्ड हर्न बिल’ अर्थात् ‘असेरस निपालेन्सिस’ हो । हड्सनले सन् १८२९ मा देखेयता कुनै चरा विज्ञले उक्त चरा नदेखेको, नभेटेको भनेर यसलाई आईयुसीएनले समेत १९९४ यता लोपोन्मुख भनेर उल्लेख गर्यो । पछि यो नेपालबाट लोप भइसकेको भनियो । यस कुरामा वनस्पतिशास्त्री एवम् नेपालको जैविक विविधताको क्षेत्रमा पछिल्लो दिनमा रोचक ढंगले कलम चलाउँदै आएका कमल मादेन सहमत थिएनन् । उनले चरा विज्ञहरुको पूरा अध्ययबिना हाङ्रो लोप भइसकेको भनिनु दुःखको कुरा भएको आफ्नो लेख मार्फत उल्लेख गरेका थिए । उनकै सल्लाह बमोजिम झापा काँकरभिट्टाका वाईल्ड लाईफ फोटोग्राफर देवेन खरेल उक्त चरा भेटिन्छ भन्ने कुरामा केही आशावादी थिए ।

सन् २०२१ डिसेम्बर २१ याने वि.सं.२०७८ पौष महिनाको ६ गते देवेन खरेल ताप्लेजुङतर्फको यात्रामा निक्ले । सैयौं चराहरुका रोचक फोटाहरुले मन लोभ्याउन सक्षम खरेल इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा रहेको सिमधाप भन्ने क्षेत्रमा अडिए । उनका आँखामा एक जोडी सुन्दर चराको दृश्य पर्यो । उनी आफ्नो केमेराले दर्जनौं फोटो खिच्न सफल भए । उक्त चरा अर्को कुनै नभएर सन् १८२९ मा हड्ग्सनले ब्याख्या गरेको हाङ्रो नै थियो ।

आधिकारिक रुपमा १९२ बर्षपछि नेपालमा यो पाइएकोले सबै जैविक विविधताको क्षेत्रमा काम गर्ने र रूची राख्नेका लागि खुशीको कुरा बन्न पुग्यो । खरेल खुशी नहुने त झन कुरै रहेन । उनीभन्दा बढी खुशी त कमल मादेन बनेका छन् । त्यसपछि मादेनले यसै बिषयमा गज्जबले कलम चलाएका छन् । ग्लोबल भोइसमा सञ्जिव चौधरीले लेखेका छन् । अनलाईन खबर, नयाँ पत्रिका लगायतमा मादेनले लेखे । त्यस्तै कान्तिपुर दैनिक लगायतमा यसबारेका समाचारहरु प्रकाशित भए ।

जङ्गलमा एक प्रकारको लहरे प्रजातीको वनस्पतिको ठूलो तथा कडा बीऊलाई पाङ्रो भनिन्छ । उक्त पाङ््रोलाई सुलुक्कै निलिदिने चरा नै हाङ्रो हो । मानिसहरुमा ‘पाङ्रो खाने हाङ््रो’, ‘हाङ्रोले जस्तो खानु अलच्छिन हो’ आदि यस सम्बन्धी प्रचलित लोक भनाइहरु रहिआएका छन् । यो नेपालबाट हराएको भन्ने कुरा एउटा भ्रम मात्र रहेको प्रमाणित भएको छ । यसको वासस्थान ठूला चौडा पात भएको जङ्गल हो र त्यो इलामको सूर्योदय, रोङ्ग र सन्दकपुर क्षेत्रमा प्रशस्त रहेकोले हाङ्रोको वासस्थान त्यही हुन सकेको हो ।

फेरि नजिकै भारतमा रहेको सुकुना वन्यजन्तु आरक्षणमा केही भारतीय फोटोग्राफरहरुले यसको पहिचान गरेका र पूर्वोत्तर भारत र मेची पहाडी जिल्लाहरु हाङ्रोको वासस्थान बन्न रहेको पक्का हुन्छ । अब यसको प्रजनन केन्द्र खोल्न वैज्ञानिक अध्यन थाल्न, यसको संरक्षणको लागि पाइला चाल्न स्थानीय, प्रादेशिक र संघीय सरकारहरुले ढिलो गर्नुहुन्न । अर्कोतर्फ आईयुसिएनले आफ्नो सूची तुरुन्तै सुधार्नुपर्ने देखिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here