पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरेका विभिन्न वडामा कृषि तथा पशुपालनका लागि पकेट कार्यक्रमको आज सार्वजनिक सुनुवाई कार्यक्रम भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको साना व्यवसायी कृषि उत्पादन कार्यक्रममार्फत वडा नम्बर २ मा मौरी र ३ मा मकै पकेट कार्यक्रमको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । पथरीशनिश्चरे मौरीपालन समूहको ५ लाख र नगरपालिकाको ६ लाख गरी ११ लाखमा १४ जना मौरीपालक किसानका लागि कार्यक्रम तय भएको छ ।
यसै गरी, वडा नम्बर ३ मा सूचारु कृषि सहकारी संस्थाले ९ लाख ७५ हजार र नगरपालिकाको १२ लाख गरी २१ लाख ७५ हजारमा ८० जना किसानका लागि मकै पकेट कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस्तै, वडा नम्बर ८ मा समुन्नत बाख्रा पालन समूहले ५ लाख ६२ हजार ५ सय र नगरपालिकाले ७ लाख गरी १२ लाख ६२ हजार ५ सयको बजेटमा २७ घरधुरीका लागि बाख्रा पालन कार्यक्रमको पनि पहिलो सार्वजनिक सुनुवाई गरेको छ ।
तिनवटै कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरपालिकाले कृषि तथा पशुपंक्षीका क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्मका कार्यक्रमहरु तय गरी कृषिमा व्यवसायिकता खोज्ने प्रयत्न गरिरहेको बताउनु भयो । वडा नम्बर ३ मा वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, ८ मा वडाध्यक्ष बाबुराम दहालले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्कीले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै चुस्त रुपमा कार्यक्रम कार्यान्वयनको सुझाव समेत दिनुभयो ।