बजेट सक्ने हतारो : जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा आठ लाख खर्चेर क्षमता अभिवृद्धि तालिम गराउँदै माङ्सेबुङ गाउँपालिका

३० पुष २०७८, शुक्रबार मा प्रकाशित

माङ्सेवुङ, इलामको माङ्सेबुङ गाउँपालिकालाई बजेट सक्ने हतारो देखिएको छ । जनप्रतिनिधिको पाँच वर्षे कार्याकाल समापन हुनै लाग्दा गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई भन्दै क्षमता बिकास सम्वन्धि तालिमको आयोजना गर्दै वजेट सक्न लागेको हो । आठ लाख रुपैयाँ खर्च गर्दै गाउँपालिकाले झापाको दमकमा तालिमको आयोजना गरेको हो । दमकस्थित होटल कामक्षमा आयोजित तालिममा ५० जना प्रशिक्षार्थी रहेका छन् । तालिकको सहजीकरण कृष्णहरि वास्कोटा र डा केदार रायमाझीले गरिरहेका छन् ।
तालिम सञ्चालनका लागि पूर्वाञ्चल स्केल इन्जिनियरिङले जिम्मा लिएको बताइएको छ ।
यस अघि गाउँपालिकाले आयोजना गरेका हरेक तालिम गाउँपालिका भित्रै सञ्चालन गरेपनि जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि भन्दै आयोजना गरेको यो तालिममा सहभागीलाई आवास सहितको व्यवस्था गरिएको छ । यसबाटै प्रस्ट हुन्छ गाउँपालिकालाई वजेट सक्न हतारो भएको हो इलामको माङ्सेवुङका एक स्थानीयले पूर्वाञ्चललाई भने – जनप्रतिनिधिको कार्याकाल सकिन लाग्दा अब किन चाहियो जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि सम्वन्धि तालिम बरु त्यो रकम शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गरेको भए के हुन्थ्यो ?
उनले थपे आठ आठ लाख रुपैयाँ तालिममा किन खर्च गर्नु प¥यो ? त्यो पैसा एम्वुलेन्स खरिद वा भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति वा सामुदायिक विद्यालयमा सवारी खरिदका लागि दिएको भए विद्यार्थी त सहज रुपमा विद्यालय जान आउन सक्ने थिए ।
यता यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले सबैको सहजताका लागि दमकमा तालिमको आयोजना गरेको बताएका छन् । उनले इलाम सदरमुकाम भन्दा दमक नजिक पर्ने भएकाले यो तालिम दमकमा आयोजना गरेको बताए ।
यता यस विषयमा गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोसंग वुझ्न खोज्दा पटक पटक टेलिफोन सम्पर्क गरिएपनि उनको फोन उठेन । तालिम शुक्रवारबाट शुरु भएको हो ।

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here