इमान्दार अग्रसरताको खाँचो

६ माघ २०७८, बिहीबार मा प्रकाशित

संवैधानिक व्यवस्था अनुसार यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । सबै प्रदेशका स्थानीय एवम् प्रदेश सभाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा सदस्यहरु र प्रदेशका संघीय सदस्यहरु मतदाता रहने सो निर्वाचनलाई यसपटक महत्वका साथ हेरिएको छ । अघिल्लो आम निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल र एकीकरणले सर्वाधिक ठूलो दल बनिएको बाम गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी अहिले विभाजित भएको छ । माओवादीलाई समेत मिलाएर बनेको झण्डै एकतिहाइ नजिकको दल पूर्ववत् अवस्थाबाट एकीकृत समाजवादी नामक नयाँ दल पनि थपिएको छ । इतिहासकै सर्वाधिक शक्तिशाली दलको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री ओलीको निरंकुश प्रवृत्ति र प्रतिनिधिसभा पटक–पटक विघटन गरेको भन्दै आफ्नै दलभित्र आलोचना भएको थियो ।

ठूलो बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धीलाई सुरक्षित गर्न र संस्थागत गर्न भन्दै सत्तारुढ दलकै एउटा समूहले अन्य प्रतिपक्षी दलहरुसँग सहकार्य गर्दै बनाएको गठबन्धनले सत्ता ग्रहण गरेको पनि छ महिना भइसकेको छ । गठबन्धनले आउने स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन कायम राख्ने बताइरहेका छन् । त्यसअघि हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनको परिणामले उक्त प्रतिबद्धता कति पूरा गर्छ त्यसमै भविष्यको चित्र स्पष्ट हुनेछ । यद्यपि पाँचतिर मुख फर्किएको वर्तमान सत्तारुढ दलहरुका बीचमा अहिलेसम्म असमझदारी प्रकट भएको छैन । आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदार गठबन्धनले साझा उम्मेदवार तय गरेर निर्वाचन प्रक्रियालाई अघि बढाएका छन् । अंकगणितले प्रदेश नम्बर १ मात्रै कमजोर देखिएकाले आफ्ना मतदाताहरुलाई सुरक्षित राख्नुपर्ने चुनौति छ गठबन्धनका दलहरुलाई । थोरै पनि मत ‘यता–उता’ नहोस्, त्यसका लागि सबै साझेदार दलका नेतृत्वले सजग हुन जरुरी छ ।

यही तथ्यलाई अनुभूत गरी प्रदेश नम्बर १ का गठबन्धनका सबै उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट र अन्तरक्रियामा व्यस्त छन् । यहाँबाट गोपालकुमार बस्नेत, जयन्ती राई र हेमराज राईले उम्मेदवारी दिएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनु ती पाँचवटै दलका स्थानीय जिम्मेवार नेतृत्वको दायित्व नै हो । आफ्ना मतदातालाई मतदान स्थलसम्म सुरक्षित पु¥याउनु पनि उनीहरुको कर्तव्य हो । यसका लागि गठबन्धनमा रहेका दल, तिनका नेतृत्व र पालिका, क्षेत्रीय, जिल्ला र प्रदेशको नेतृत्व गर्ने नेताहरुको इमान्दार अग्रसरता देखिनु पर्दछ । अहिले निर्वाचन क्षेत्रको दौडाहामा रहेका उम्मेदवार तथा नेताहरुको अभियान लोकतन्त्र र संविधान रक्षाका लागि पनि सफल हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here