हराउँदै गएको जवाफदेहीता

७ माघ २०७८, शुक्रबार मा प्रकाशित

आफ्नो जिम्मेवारी के हो ? मैले आफ्नो परिवार, समाज र राष्ट्रप्रति के गर्नुपर्छ ? मेरो भूमिका के हो ? भन्ने कुरा मानिसले बिर्सदै गएको छ । आफूलाई लाभ हुने काम छ भने ऊ सधैँ अग्रसर रहन्छ । तर, समाज र राष्ट्रलाई फाइदा हुने काम छ भने मान्छे अग्रसर बन्दैन मैले मात्रै गरेर के हुन्छ र अरुले गरिहाल्छ नी भनेर पन्छिन खोज्छ ?

मान्छे आफ्नो जिम्मेवारी र त्यसका जवाफदेहीताबाट पछिल्लो समय पछि हट्दै गएको छ । हामी के हौं, त्यो हिजोको कारणले हो । आज हामी कहाँनेर आईपुगेका छौं, त्यो हिजो हामीले हिँडेको बाटोले तय गरेको गरेको कुरा हो । आज हाम्रो कस्तो सोच छ त्यो हाम्रो हिजोको संस्कार र भोगाईको उपज हो । समाज हाम्रो सोचको प्रतिफल हो भन्ने कुरा बुझ्न जरुरी छ । देश कुन–कुन राजनीतिक विचारप्रति झुकेको छ ? किन देशमा भ्रष्टाचार मौलाएको छ ? ठिक होइन भन्ने जान्दाजान्दै पनि किन सामाजिक असमानता बढिरहेका छन् ? किन निरन्तरको कोशिसका बाबजुत पनि महिला हिंसाका घटनामा कमी आएको छैन ? यी र यस्तै–यस्तै अनगिन्ती समाजिक, राजनीतिक एवम् आर्थिक, वर्तमान अवस्थाका आयामहरु समाजको हरेक तप्काको नेतृत्व तहमा रहेकाहरुले जानकार हुन आवश्यक छ यसो गर्न सकेमा मात्र सही मार्गमा समाजलाई डो¥याउन सकिन्छ ।

हाम्रो समाज, देश बनाउने भनेको विदेशी आएर बनाउने होइन हामी नेपालीले नै बनाउने हो । संसारभरको नेपालीले सोच्ने तरिकामा केही समानता हुन्छ, तर भूगोल, लिङ्ग, उमेर, पेशा आदि अनुसार हामीले सोच्ने चिजलाई प्रभाव पार्दछ । दुर्गम गाउँमा बस्नेहरुको एक किसिमको मनोविज्ञान हुन्छ । आधुनिक सहरमा बस्नेको अर्को किसिमको मनोविज्ञान हुन्छ । नेपाली राजनीतिको अध्ययन गर्न राजनीतिमा प्रभाव पार्ने केही शीर्ष नेताहरुको मनोविज्ञानको अध्ययन गर्न जरुरी छ । हुन पनि अझै पनि दुई दशक जति युवा पुस्ताको हातमा देशको नेतृत्व पुग्दैन पुरानो राजनीतिक नेतृत्वसँग नै नेतृत्व रहने हुनाले उनीहरुको सोचाई र बुझाईलाई परिर्वतन गर्न सके र उनीहरुलाई जवाफदेही बनाउन सकेमात्र समाजलाई सही बाटोमा लैजान सकिन्छ ।

शंका होइन, विश्वास गर्न सिक । जसले शंका गर्छ, उसले खोज गर्छ । खोज गर्नका लागि नयाँ–नयाँ कुरा सिक्नु अपरिहार्य छ । कसैलाई गायक बन्न मन पर्ला, कसैलाई संगीत सृजना गर्न, कसैलाई चिकित्सक, कसैलाई पत्रकार, कसैलाई राजनीति गर्न मन पर्ला । मान्छेमा भएको स्वभाव, गुण, क्षमता वा प्रतिभा आदिका आधारमा मानिसले के पेशा अँगाल्ने भन्ने इन्छालाई स्वरुप प्रदान गर्छ । यति मात्र होइन हामी भाकलको संस्कारमा हुकेका छौं । सानैदेखि काम, कामना पूरा गरिदिए वापत हामीले नदेखिने भगवानलाई लड्डु, पेडा, नरिवल चढाउँदै आएका छौं । यस्तो संस्कारमा हुर्केका हामी, जहाँ केही रुपैयाँमा भगवानको इमानलाई लिलाम गरिदिन्छौं भने हाम्रो मुलुकका जनता र कर्मचारी दुबैले घुस नखाने कुरै भएन ।

समस्याका निराकरण गर्ने सम्बन्धमा सबैभन्दा पहिले परिवर्तन गरिनुपर्ने चिज भनेको त्यहाँ कार्यरत् व्यतिहरु सोचमा परिवर्तन ल्याउनुु हो । द्रूतगतिमा गाडी कुदाउन सक्नेका लागि पनि अगाडिका गाडीहरुको लस्करका कारण अगाडि बढ्न मुस्किल हुन्छ । समाजिक परिवर्तनले सामुहिक सोचलाई परिवर्तन गरिदिन्छ । आम जनताका पनि कानूनी रुपमा अधिकार सम्पन्न हुँदै जानु, आयस्रोत बढ्दै जानु र समाजिक रुपमा हैसियत बढ्दै जादा सिङ्गै नेपालीको सामुहिक सोचमा परिवर्तन आउने छ । विकास, उद्योग, उत्पादन आदि क्षेत्रमा सरकारी लगानीको तुलनामा निजी लगानी बढ्दै गएको सन्दर्भमा आम जनताका जीवनमा सुधार आएको छ ।

समग्रमा भन्नुपर्दा आफूले गरेको काम र जिम्मेवारी र आफ्नो पद र प्रतिष्ठाप्रति जवाफदेहिता बन्न सकेमात्र मुलुकको विकास सम्भव छ । पछिल्लो समय समाजका हरेक तह र तप्का र जुनसुकै जिम्मेवारी प्राप्त गरेका व्यक्तिहरुमा पनि जवाफदेहिता हराउँदै गएको छ यसले समाजमा नकारात्मक प्रभाव पारेको छ भने समाज विकासको लागि पनि बाधक बनेको छ । जसरी हामी हाम्रो परिवारप्रति जवाफदेही बन्छौं, त्यसरी नै देशको नेतृत्वमा पुगेका राजनीतिककर्मी कर्मचारीतन्त्र लगायत समाजका सबै क्षेत्र र वर्गको नेतृत्व तहमा रहेका र आमनेपाली नागरिकले पनि आफ्नो काम–कतव्र्यप्रति जवाफदेही बन्न सकेका समाज रुपान्तरण गर्न कुनै समय लाग्दैन ।

(गिरी अधिवक्ता हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here