दुबईमा नेपालीहरुको आत्महत्या, सरकार बेखबर

९ माघ २०७८, आईतवार मा प्रकाशित

भिजिट भिसामा दुबई आएका भोजपुरका सागर राइले मार्चको २३ तारिखमा आत्महत्या गरे । दलाललाई ३ लाख दिराम तिरेर राम्रो कामको आशामा दुबई आएका राईले पनि दलालले भने जस्तो काम नपाएपछि आत्महत्या रोजेका थिए । उनले दुबइको मरिना जुमेराबाट समुन्द्रमा हाम फालेर आत्महत्या गरेका थिए । भिजिट भिसामा आएको हुँदा उनले नेपाल सरकारबाट पाउने कुनै पनि क्षतिपूर्ति पाएनन् ।

धादिङकी रेणु थापाले सन् २०२० डिसेम्बर २६ तारिखका दिन दुबईमा आत्महत्या गरिन् । दलालको अध्यागमन सेटिङमार्फत भिजिट भिसामा दुबइ पुगेकी थापाले के कारणले आत्महत्या गरिन् अहिलेसम्म खुलेको छैन । भिजिट भिसामा दुबई आउनको लागि उनले एजेन्टलाई १ लाख ३० हजार रुपैयाँ तिरेकी थिइन् । परिवारको सहमतिमा उनको शप दुबईमै जलाइयो । २ छोरीकी आमा थापाको बिदेशमा मृत्यु हुँदा पनि उनको परिवारले कुनै क्षतिपूर्ति पाइनन् ।

त्यसैगरी स्याङ्जाका राजकुमार श्रेष्ठ र नवलपरासीका बिबेक थापाले पनि दुबईमा आएर आत्महत्या गरे । उनीहरु दुबैजना अध्यागमन सेटिङमार्फत भिजिट भिसामा दुबइ आएका थिए ।

नेपाली दूताबास अबुधाबीका अनुसार सन् २०२१ मा भिजिट भिसामा यूएई आएर मृत्यु भएका नेपालीहरुको संख्या १२ जना रहेको छ । रुकुमका मिलन घर्ती मगर, उदयपूरका स्वस्ती विश्वकर्मा, सुनसरीका भोजराज सञ्जेल, काठमाडौँकी पूर्ण शोभा मानन्धर, नुवाकोटका अम्बरबहादुर गुरुङ, दाङका बिबस केसी र सर्लाहीका बुद्धसिंह वाइबाको बिभिन्न कारणले यूएईमा मृत्यु भएको हो । उनीहरु सबैजना उसैगरी मानब तस्करको अध्यागमन सेटिङमार्फत दुबई पुगेका थिए ।

भिजिट भिसामा आएर मृत्यु हुनेहरुमध्ये ५ जनाको मृत्यु कोभिड–१९को कारण भएको थियो । उनीहरुको शवलाई यूएईमै व्यवस्थापन गरिएको छ । ३ जनाको मृत्यु भने हृदयघातबाट भएको दूताबासले जनाएको छ ।

काभ्रेपलान्चोक चौरी देउरालीका लक्षुराम तामाङको शव ३ महिनासम्म अलपत्र प¥यो । भिजिट भिसामा असोज २२ गते दुबई पुगेका उनी दुबई पुगे लगत्तै बेपत्ता भएका थिए । दुबईको स्थानीय प्रहरीले तामाङको बारेमा दूताबासलाई केही दिन अघि जानकारी गराएको थियो । प्रहरीले नाम र पासपोर्ट नम्बर मात्र उपलब्ध गराएकोले मृतकको परिवार खोज्न दूताबासलाई निकै कठिन भयो । दलाललाई ३ लाख रुपैयाँ तिरेर उनी दुवई उडेका थिए । परिवार श्रोतका अनुसार दुबई उड्न लागेको त्यो सबै खर्च ऋण गरेर जुटाइएको थियो । तामाङको शवलाई नेपाल पठाउन उनको परिवारले झण्डै अढाइ लाख रुपैयाँ खर्च गर्नु प¥यो । परिवारले ऋण गरेर त्यो श्रोत जुटाए । तर, बिदेशमा भएको मृत्यु बापत पाउने क्षतिपुर्ति तामाङको परिवारले पाएन ।

त्यसैगरी नेपालको ठेगाना नखुलेको पासपोर्ट नम्बर ११९७१०८८ गरेका बिकास भुजेलको शब बिगत केही महिनादेखि दुबईमा अलपत्र परेको भन्दै स्थानीय प्रहरीले नेपाली दूताबासलाई जानकारी गरायो । बिकास पनि भिजिट भिसामै दुबई आइपुगेका थिए । उनको मृत्यु के कारणले भयो ? अहिलेसम्म खुलेको छैन । जुनसुकै कारणले मृत्यु भए पनि भुजेलको परिवारले पनि नेपाल सरकारबाट कुनै क्षतिपूर्ति पाउने आधार छैन ।

भुजेलको परिवारले त उनको शव नेपाल झिकाउन सार्वजनिक रुपमै हार गुहार गरेको थियो । बिभिन्न सामाजिक अभियन्ताहरुको सहयोगमा उनको शव नेपाल लगियो ।

नेपाली दूताबास अबुधाबीका अनुसार सन् २०२१ मा यूएईमा १३८ जना नेपालीहरुको मृत्यु भएको छ । जसमध्ये २८ जनाको मृत्यु आत्महत्याको कारण भएको थियो । ६५ जनाको मृत्यु प्राकृतिक कारण भनिएको छ भने २५ जनाको मृत्यु दुर्घटनाको कारण भएको दूताबासले जनाएको छ । एक जनाको हत्या भएको थियो भने १८ जना नेपालीहरुको मृत्यु कोभिड–१९को कारण भएको थियो । बाँकी एक जनाको मृत्युको कारण खुलाइएको छैन र उनलाई परिवारको अनुरोधमा साउदी अरबमा लगि दाहसँस्कार गरिएको थियो ।

सन् २०१८ मा यूएईमा आत्महत्या गर्नेको संख्या ३३ जना रहेको थियो । त्यसैगरी २०१९ मा आत्माहत्या गर्नेको संख्या १७ र सन् २०२० मा ४४ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ । सन् २०२१मा २८ जनाले आत्महत्या गरे । यूएई दूताबासका अनुसार सन् २०२२को दोश्रो हप्तासम्म १२ जना नेपालीहरुको मृत्यु भइसकेको छ । गत बर्ष कोभिड–१९को कारण मानसिक तनावले गर्दा धेरै नेपालीहरुले आत्माहत्या गरेको बताइन्छ ।

बर्षेनी यतिधेरै नेपालीहरुले एउटै मुलुकमा गएर आत्महत्या गर्दा पनि सरकारले यसबारे चासो देखाएको छैन । नेपाली दूतावास अबुधाबीका राजदूत कृष्णप्रसाद ढकालले नेपालीहरुले दुबईमा आएर आत्महत्या गर्नुको पछाडि दलालले आश्वासन दिएको जस्तो काम नपाउनु हुनसक्ने बताए । ‘ठूलो धनराशि खर्चेर भिजिटमा आउँदा जुन सपना देखेर आउनु भएको हुन्छ, यहाँ आएपछि त्यो पुरा नहुँदा निराशा उत्पन्न भई आत्महत्या गरेको हुनसक्छ’– ढकालले भने– यद्यपि यस बारे ठोस् अनुसन्धान र अध्ययन हुन जरुरी छ । बैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले भिजिट भिसामा बिदेश गएर आत्महत्या गर्नु दुःखद् बताए । मानव तस्करहरुको प्रलोभनमा ठूलो रकम तिरेर बिदेश जाने र दलालले देखाएको दुस्वप्ना पुरा नहुँदा निराशा उत्पन्न भई आत्महत्या गरेको हुनसक्ने उनले बताए ।

पाछिल्लो तथ्यांकले गत एक बर्षमा ८० हजारको हाराहारीमा नेपालीहरु भिजिट भिसामा काम खोज्न दुवई पुगेका छन् । भिजिटमा गएका नेपालीहरुको तथ्याँक नेपाल सरकारसँग नहुने र उनीहरु श्रम नगरिकनै बिदेश गएको हुनाले बिदेशमा बिरामी भएमा, दुर्घटना भई अङ्गभङ्ग भएमा वा कुनै कारणले मृत्यु भएमा कुनै पनि किसिमको सहयोग नपाइने दुताबासकी श्रम काउन्सिलर निर्मला थापाले बताइन् ।

तसर्थ भिजिट भिसामा जानेहरुको बिमा अनिबार्य गरिनुपर्छ । बिदेशमा केही कारण दुर्घटना भएर घाइते भए वा मृत्यु भएमा बिमाले खर्च धान्ने व्यवस्था गर्न जरुरी देखिन्छ । नेपाल सरकारले अबैध रुपमा भिजिट भिसाको कारोबार गर्ने मानब तस्करहरुलाई कानूनी कारबाहीको दायारामा लयाउन हालसम्म कुनै पहल गरेको छैन । यसले दिनहुँ मानव तस्करी बढ्दो छ । भिजिट भिसाका दलालहरु खुलेआम गाउँ–गाउँ पुगेर भिजिटको विज्ञापन गरिरहेका छन् ।

यसैबीच नेपाल सरकारले कोभिडको कारण देखाउँदै माघ १० देखि खाडी राष्ट्र र मलेशियामा भिजिट भिसामा जान रोक लगाएको छ । यसले बिदेशमा बस्ने नेपालीहरुको आमाबुवा आफन्त नातागोतादेखि व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई जतिसुकै आवश्यक काम परेको खण्डमा पनि ती देश जान बन्देज गरेको छ । यी मुलुकहरुमा भिजिटमा जाने अधिकांश नेपाल सरकारकै अध्यागमन पार गरेर त्रिभुवन बिमानास्थलबाट नै जाने गरेका छन् । काम खोज्न जाने नेपाली र घुम्न जाने नेपालीहरुको आर्थिक हैसियत प्रष्टै छुटिन्छन् । तर, पनि अध्यागमनका कर्मचारीले सेटिङ गरेर जानेलाई छोड्ने र सेटिङ नगरि जानेलाई फर्काउने गरेका छन् । आफू मातहतका निकायले गरेको गलत कार्यको रोकथाम र निर्मुलीकरण गर्नु भन्दा पनि सरकारले यी देशहरुमा घुम्न जानै बन्द गरेर आफ्नो लाचारी प्रदर्शन गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here