नेपालमा समाजवादको सपना पूरा होला ?

१० माघ २०७८, सोमबार मा प्रकाशित

पहिला सपना देखिन्छ, पछि सपनालाई विपनामा परिणत गर्न कार्यनीति, कार्ययोजना, कार्यक्रम र क्रियाकलापहरू गरिन्छन् । त्यसबाट प्राप्त उपलब्धि विपना मान्न सकिन्छ । के नेपालमा देखिएको समाजवादको सपना भ्रम हो कि, भुलभुलैया हो कि, छलकपट हो कि, कि यो व्यवहारमा पनि अनुभूत गर्न सकिने सपना हो ? यो प्रश्नको गाम्भीर्यभित्र नेपालको भविष्य निहीत छ । नेपालमा यतिबेला समाजवादको सपना सबैभन्दा चर्चा गरिएको विषय हो । नेपालको संविधान २०७२ मा नेपाल अब समाजवादउन्मुख राज्य हुनेछ भनी लेखिएको छ । तर, सबै राजनीतिक दलहरुका समाजवादका आफ्नै परिभाषा र मान्यताहरु छन् । समाजवादको बहुरंगी अर्थ हुँदा त्यो सपनालाई विपनामा परिणत गर्न धेरै कठिनाइ हुन्छ । के नेपालमा समाजवादको आधार निर्माण सम्भव छ ?

समाजवादको इतिहास खोतल्ने हो भने हामी स्वप्न समाजवाद वा युटोपियासम्म पुग्न सक्छौं । कसैले गान्धीराजलाई समाजवादको आधार मान्ला, कसैले रामराज्यलाई समाजवदको प्रस्थानविन्दु मान्ला । कसैले फुकुयामाको इतिहासको अन्त्यलाई धर्मग्रन्थ मानेर समाजवाद सदाका लागि अन्त्य भएको र पुँजीवादको बेरोकटोक समुन्नति हुने दिवास्वप्न देख्ला । तर, समाजवाद सूर्यजस्तै हो, यो आँगन, चौतारी, खेतखलिहान, कलकारखाना, मजदुर बस्ती, विद्यालय, विश्वविद्यालय, चियापसल जताततै अनुभूत हुन्छ यसको खाँचोको । सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडेरिक एंगेल्सले पुँजीवादका विरुद्ध वैज्ञानिक साम्यवादी घोषणापत्र लेखेका थिए । उनीहरुले पुँजीवादी उत्पादन सम्बन्धहरूले नै पूँजीवादी समाजको विकासलाई रोकिदिन्छन्, अनि जब उत्पादक शक्तिहरूले यी अड्चनहरू पार गर्न थाल्छन्, त्यसबखत तिनले सारा पुँजीवादी समाजलाई नै डगमगाइदिन्छन् र पुँजीवादी स्वामित्वको अस्तित्वलाई नै खतरामा पारिदिन्छन् भनेर लेखेका थिए ।

पुँजीवादी सम्बन्धहरू तिनीहरूद्वारा उत्पादित सम्पत्ति समाविष्ट गर्न अत्यन्त संकुचित हुन जान्छन् । कम्युनिस्ट घोषणापत्रमा उनीहरुले एकातिर, उत्पादक शक्तिहरूको एक ठूलो भागलाई नष्ट गरेर अनि अर्कोतिर नयाँ–नयाँ बजारहरू कब्जा गर्नुका साथै पुराना बजारहरूको पुरापुर शोषण गरेर पुँजीवादी संकटमा पर्छन् भनी लेखेका छन् । तसर्थ भन्न सकिन्छ– समाजवादको जन्म पुँजीवादको गर्भबाटै हुन्छ । आज संसारमा सबैभन्दा बढी कुनै सिद्धान्तले प्रभावित गरेको छ भने त्यो माक्र्सवादले नै छ । माक्र्सवादको मानवीय स्वरूप र शोषणमुक्त समाजको आह्वानले यस दर्शनले बीसौं शताब्दीभरि एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिका सबै भूगोललाई प्रभावित ग¥यो । शोषणविहीन राज्यको परिकल्पनासहित स्थापित सोभियत संघ, पूर्वी युरोपका केही देशमा समाजवादी सरकार स्थापना भए । समाजवादी मुलुकमा नयाँ समाजमा नयाँ मान्छेको जन्म हुने विश्वास गरियो ।

एकातिर रूस, चीन, भियतनाम, कम्बोडिया, उत्तर कोरिया, क्युबा, हंगेरी लगायतका मुलुकमा समाजवादको विकास गर्न प्रयत्नहरू भएका थिए भनेर वामपन्थीहरू विश्वास गर्छन् । समाजवाद निर्माणका प्रयत्नबाट सटिक प्रकटीकरण रुढीवादी, धार्मिक, डरपोक संस्कृतिको विरोधी समाजवाद आफैं रुढीग्रस्त भयो, आफैं अधिनायकवादी शासनको हिमायती भयो र कतिपय मुलुकमा त राजकीय शोषणको माध्यम नै भयो । गरिखाने वर्गको निरन्तरको पीडा र यातनाबाट मुक्ति दिएर स्वर्णिम र सुखी संसारको कल्पना गर्ने संसारको सबैभन्दा बढी लोकतान्त्रिक भनी मानिएको व्यवस्था अलोकतान्त्रिक, जनविरोधी र लेख्ने, बोल्ने स्वतन्त्रता खोस्ने व्यवस्था भयो ।

पीडा, वेदना र कठिनाइमा जिइरहेको कामदार वर्गमा भित्रभित्रै क्रान्तिको ज्वाला दन्किँदै जाँदा व्यापक परिवर्तन हुन्छ । मजदुरहरुको सामुहिकता र संगठनमा शक्ति हुन्छ र यो नै समाजवादी क्रान्तिको आधार हो भन्ने सच्चाइ हो । मूल प्रश्न समाजवाद ल्याएर कसैले दिने हो कि कामदार वर्ग आफैंले निर्माण गर्ने हो ? सर्वहाराको यो समाजवादी विचारले नवीन मानवजातिको विकास हुन्छ र ईश्वर पनि नयाँ रुपमा प्रकट हुन्छन् भन्ने विश्वास जागृत हुँदै जान्छ । भौतिक परिस्थितिले मानवीय चेतनाको विकास हुने र मानवीय चेतनाले भौतिक परिवेशलाई आफू अनुरुप बदल्न कोशिस हुने निरन्तरको अन्तरविरोधका वीचबाट नयाँ युगको आरम्भ हुन्छ भन्ने कुरा आम मजदुरवर्गले व्यवहारबाटै बुझेपछि मात्र उनीहरू संगठित हुन्छन् ।

श्रम गरेर पनि बाँच्न कठिनाइ हुने रौरव नरक जस्तो निसासिँदो वातावरणबाट पार पाउन श्रमजीवी जनताले संघर्ष गर्ने बाहेक अन्य कुनै विकल्प छैन । संघर्षमा सामेल भएपछि मात्र समाजवादी क्रान्तिकारीहरूमा ऊर्जा सञ्चार हुन्छ । लखतरान भई चौतारीमा सुस्ताएका क्रान्तिकारीहरूलाई समाजवादी विजयकथाले उत्साहको लौरो थमाउँछ उनीहरूलाई क्रान्तिको उज्यालो किरणले आफ्नो देश, समाज, घरपरिवारलाई सिँचेर अघि बढ्न उत्प्रेरित गर्छ । समाजवाद वास्तवमा जिउँदै हुँदाका मृत आत्माको पुनर्जीवन र पुनः उत्थानको सिद्धान्त हो । सामन्तवाद र पुँजीवादको निर्मम पर्खालले घेरिएको छ मेहनतकश जनताको जीवन । उनीहरूको शरीर त जिउँदो छ, तर आत्मा मरिसकेको छ । जब मानिस साँचो अर्थमा समाजवादी विचारहरूबाट प्रभावित हुँदै जान्छ, उसको मृत आत्मा फेरि ब्यूँतिन्छ ।

समाजवादी क्रान्तिको दिशानिर्देशले मेहेनतकश मजदुरवर्गका लागि प्रेरणाको काम गर्दछ । समाजवाद मानव जातिको मुक्तिपथ हो । समाजवाद क्रान्तिको गोरेटो हो । वास्तवमा कामदार वा मजदुरवर्ग नै क्रान्तिको वास्तविक संवाहक हो, उत्प्रेरक हो र पहलकर्ता हो । मजदुरवर्गका लागि अरुले क्रान्ति गरिदिँदैनन् । यो सच्चाइलाई आत्मसात नगर्दा समाजवादले धक्का खाएको हो । क्रान्तिले चेतना दिन्छ, खराब मानिसलाई पनि असल मार्गमा लाग्ने प्रेरणा दिन्छ । माक्र्सवादको आलोकमा समाजवादी÷साम्यवादी सपनालाई साकार तुल्याउन सम्पूर्ण सामाजिक, राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी छ भन्नेमा विश्वास गर्छन् कम्युनिष्टहरु । माक्र्सले संसारको व्याख्या गर्ने मात्र होइन, परिवर्तन गर्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनको वकालत गरेका छन् । वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्थामध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था मानिन्छ । वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ ।

नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, धर्मबीचका अन्तर्विरोधहरूलाई समाधान गर्दछ । वास्तवमा माक्र्सवाद भनेको समाजको ब्याख्या र विश्लेषण मात्र गर्ने शास्त्र होइन, यो त जीवनदर्शन र शैली पनि हो । नेपालमा वामपन्थी पार्टीहरु आफूलाई वैज्ञानिक समाजवादको हिमायती ठान्छन् । नेपालका कम्युनिष्टहरूबाट समाजवादको सपना पूरा होला ? सिद्धान्ततः समाजवादको अपरिहार्यतालाई मान्न सकिए पनि नेपालमा कसरी, कस्ता कार्यक्रमका आधारमा समाजवाद निर्माण हुन्छ भन्ने गुरूत्व बोकेको प्रश्न हो । ढाँटछल, लोभलालच, पाखण्ड र त्यसले निम्त्याउने मनुष्यहीनताको रजाइँ चल्ने समाजलाई बदलेर समाजको पीँधमा सर्वाधिक पेलान र चेपानमा पर्ने मानिसहरूको मुक्तिको सपना हो समाजवाद । दुःखीजनहरूका निम्ति समाजवाद दूर क्षितिजमा देखिने आशाको झुल्केघाम हो । समाजवाद एउटा विशाल र रोक्नै नसकिने क्रान्तिको नाम हो र यसका लागि धेरै पूर्वाभ्यास हुन जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here