पथरीशनिश्चरे न्यायिक समितिको अवलोकन भ्रमण

११ माघ २०७८, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरको न्यायिक समितिले न्याय सम्पादनका आफ्ना गतिविधि थप प्रभावकारी बनाउने उद्धेश्यले ३ वटा पालिकाको न्यायिक अध्ययन अवलोकन भ्रमण गरेको छ ।

हेटौडा उपमहानगर उपप्रमुख मिनाकुमारी लामा, गोरखा नगर उपप्रमुख विनाकुमारी श्रेष्ठ र तानसेन नगरका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे सहित न्यायिक समितिसँग न्याय सम्पादनका विषयमा छलफल भएको हो ।

पाल्पामा कानून व्यवसायीहरु गीता शर्मा, पवित्रा खनाल सहितसँग समेत छलफल गरिएको छ भने अवलोकन भ्रमण टोलीले न्यायका लागि इतिहास कायम गरेको गोरखास्थित राम साहको प्रतिमा र ‘राम साह चौतारो’को पनि अवलोकन गरेको छ । हेटौंडा नगर प्रमुख हरिबहादुर महतसँग पनि छुट्टै भेटघाट भएको छ ।

नगर उपप्रमुख एवम न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वको न्यायिक समितिको टोलीले न्याय सम्पादनका तरिका तथा समस्याहरु सवैतिर उस्तै -उस्तै नै भेटिएको भए पनि न्यायिक समितिका लागि बजेटमा अझ प्राथमिकता दिनुपर्ने, भवन तथा इजलास र कर्मचारीको व्यवस्थापनमा जोड दिनुपर्ने देखेको छ । नगर उपप्रमुख वास्तोलाले सवै पालिकामा न्याय सम्पादनको प्रभावकारिता र विश्वसनियता पाइएको उल्लेख गर्नुभयो ।

उहाँले पथरीशनिश्चरेले भवनको अभावमा विना इजलास कक्ष तथा कर्मचारी व्यवस्थापनको समस्या खेपेर पनि प्रदेशमै सवैभन्दा बढी उजुरीहरु मेलमिलाप गराउन सफल भएको जानकारी गराउनु भयो । आर्थिक वर्ष ०७७/०७८ मा सरकारको स्वमूल्यांकनमा पथरीशनिश्चरे न्यायिक समिति शत प्रतिशत अंक प्राप्त गरी उत्कृष्ठता हाँसिल गर्न सफल भएको छ । टोलीमा न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, पर्शुराम न्यौपाने, उजुरी प्रशासक विश्वमणि निरौला, नगर सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना र महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलको सहभागिता रहेको थियो ।

समितिले गत वर्ष खोटाङ र उदयपुरका पालिकाहरुको यसैगरी अवलोकन गरेको थियो । नगरले आफ्नो क्षेत्रको वन तथा सिमसारयुक्त पर्यटनको प्राथमिकता उल्लेख गर्दै नगरको पर्यटकीय र ऐतिहासिल महत्वकास्थलहरु समेटिएको मायाको चिनो प्रदान गरेको थियो ।

पथरी शनिश्चरेको न्यायिक समितिले ०७४/०७५ मा ३५१ , ०७५/०७६ मा ३६२ र ०७६/०७७ मा ४५५, ०७७/०७८ असार मसान्तसम्म २०४ र ०७८/०७९ पुससम्म ८४ गरी हालसम्म १,४५६ वटा उजुरी मेलमिलाप गरेको छ । वडा मेलमिलाप केन्द्रबाट ०७५/०७६ मा १५१, ०७६/०७७ मा २०४ र ०७७/०७८ चैत्र मसान्तसम्म १७५ तथा ०७८ बैशाखदेखि पुससम्ममा १०४ गरी ६३४ उजुरी उपर मेलमिलाप हुन पुगेको छ । यसरी न्यायिक समिति र मेलमिलाप केन्द्रबाट हालसम्म जम्मा २,०९० वटा उजुरीहरु निरुपण गरिएको छ । जसमा ९९.५ प्रतिशत उजुरी न्यायिक समिति र मेलमिलापकर्ताबाट मेलमिलाप गराइएको छ ।

न्याय क्षेत्रमा आम जनताको पहुँच सहज पुगोस् भन्ने उद्देश्यका साथ नेपालको संविधान २०७२ को धारा २१७ को दफा १ र २ साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४६ देखि ५३ सम्मले दिएको अधिकार प्रयोग गर्दै मिति २०७४ श्रावण १५ मा पथरीशनिश्चरे नगरपालिकामा न्यायिक समिति गठन भएको थियो । समितिले दर्ता भएका उजुरीहरूको सहज र सरल तरिकाले गाउँ टोलबाटै न्याय दिलाउनका लागि २०७५ पुस २४ गते सबै वडामा मेलमिलापकर्ताहरूको प्रशिक्षणबाट नगरभित्रका १० वटै वडामा मेलमिलापकर्ताहरूको गठन तथा पुनर्ताजगिका तालिमहरु प्रदान गरिदै आएको छ ।

न्यायिक समितिले वडा वडामा ‘सार्वजनिक गुनासो सुनुवाई’ कार्यक्रम समेत सञ्चालन गरेको छ । न्यायिक समितिलाई १३ प्रकारका मुद्धाहरु हेर्ने क्षेत्राधिकार दिइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here