कोभिड संक्रमणको महामारीबाट बचौं र बचाऔं

११ माघ २०७८, मंगलवार मा प्रकाशित

अहिले विश्वमा कोभिड संक्रमण ह्वात्तै बढेको छ । बेलायत, अमेरिका, स्पेन, ब्राजिल, फ्रान्स, दक्षिण अफ्रिका मात्र नभई छिमेकी देश भारत र हाम्रो देश नेपालमा पनि कोभिडको नयाँ लहर देखिएको छ । नेपाल संक्रमणको चपेटामा पर्दै गएको छ । अहिले नेपालमा देखिएका भेरिएन्ट डेल्टा र ओमिक्रोन दुवै छन् । छिटो भेट्ने, छिटो फैलने र छिट्टै छोड्ने ओमिक्रोनको विशेषता हो । यसको विस्तारको अनुपात र संक्रमण दर धेरै उच्च छ । यसलाई सुनामी आँधी जस्तो लहर भन्न सकिन्छ । सबैजसो देशहरूले कडा नियम लागू गर्दै यात्रामा पनि प्रतिबन्ध लगाउने, सुरक्षाका रणनीतिहरू लागू गर्ने र संक्रिमतहरूलाई होम आइसोलेसन वा हस्पिटल आइसोलेसनमा बसाउने लगायतका उपायहरू अबलम्बन गरिरहेका छन् । मास्क लगाउने, दुई मिटर दूरी कायम गर्ने र साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने क्रम पनि घटेर गएको छ ।

ओमिक्रोन डरलाग्दो आँधी झैं बढ्दै गएपछि नेपाल सरकारले नियन्त्रणका लागि शिक्षण संस्था बन्द लगायतका विभिन्न निर्णय गरेको छ । खुला सीमाना र नजिक दूरी भएकाले भारत र नेपालबीच सहज आउजाउ भइरहेकाले पनि कोभिड बढिरहेकोमा दुईमत हुन सक्दैन । सीमा नाकाहरूमा सरकारले अविलम्ब सतर्कता अपनाउन खाँचो छ । सीमामा क्वारेन्टिन तथा होल्डिङको प्रबन्ध गर्नेदेखि स्वास्थ्य चेकजाँचमा कडाइ गर्न सकिए मात्र कोभिडको नयाँ लहरलाई रोक्न सकिन्छ । हाल देखिएकै दरमा लहर निरन्तर हुने हो भने नेपाल सरकारले प्रबन्ध गरेको स्वास्थ्य सुरक्षा अपर्याप्त हुन्छ । हाम्रा अस्पतालदेखि स्वास्थ्यकर्मी अपर्याप्त हुन सक्छन् । स्वास्थ्य सामग्री पनि अभाव हुन सक्छ । यसले भयावह अवस्था सृजना गर्छ । जनतालाई आश्वस्त हुन खोपको व्यवस्था गर्न र त्यस अनुरूप काम गर्न सरकारको ढिलासुस्तीका कारण हुन सकेको छैन । किनेका वा सहयोगमा प्राप्त खोप पनि कालोबजारी भएको सरकारमाथि आरोप छ र यसको सरकारले खण्डन गर्न सकेको छैन । मुलुकमा खोप भित्रिए पनि सरकारले पहल नगर्दा भण्डार मै खोप थन्किएका छन् । अहिलेसम्म आधा जनसंख्याले पनि खोप पाउन नसकेकाले आगामी चैत्रसम्ममा सबै नागरिकले खोप पाउने सरकारको घोषणा व्यवहारमा लागू हुन मुश्किल छ ।

सबै जनतालाई पूर्ण खोप लगाउन सकेमात्र पनि सुरक्षित गर्न र भविष्यमा आउनसक्ने कोभिडका नयाँ स्वरूपसँगको लडाइँ जित्न सहज हुन्छ । राज्यको पहिलो कर्तव्य नै जनताको जीउज्यान र स्वास्थ्य सुरक्षा गर्नु हो । तर, यसका लागि सरकारको पहल मात्र पर्याप्त हुँदैन । कोभिड संक्रमण फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउने दायित्व जनताको पनि हो । सबैभन्दा बुद्धिमानी कुरा सबैले आफू सुरक्षित हुने नै हो । ओमिक्रोन लगायतका भेरिएन्टबारे जनतालाई सचेत र सुरक्षित बनाउनेतिर सरकारको ध्यान जान जरुरी छ । सरकार र जनताको आपसी सहयोग र आ–आफ्नो उत्तरदायित्व वहनबाट मात्र कोभिड संक्रमणबाट बच्न र बचाउन सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here