कहिले पूरा होला शहीदको सपना

१२ माघ २०७८, बुधबार मा प्रकाशित

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए,

हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी शुरु गरे जस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपुतहरुको बलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको सप्ताह शहीद दिवस चलिरहेको छ ।

परिवर्तित परिपेक्षमा नेपाललाई शहीद दिवसका रुपमा मात्र नभई शहीद सप्ताहका रुपमा एक हप्ता अगाडिदेखि नै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रुपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि शहीदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरु अनि घटनाक्रमहरुले दिने गरेको छ ।

हरेक वर्ष झैं माघको दोस्रो सातालाई शहीदहरुको सम्मान प्रकट गर्ने तथा शहीद सप्ताह मनाउने साताको रुपमा हामीमा माझ प्रस्तुत हुने गर्दछ । शहीदहरुले देखेको त्यो सपनालाई हामीले कतिसम्म विपनामा परिणत गर्न सक्यौं त्यो त समयले बताउँदै जाने नै छ । तर, हालसम्म आईपुग्दा वीर शहीदहरु शालिकमा परिणत भएको आठ दशक भएको भएता पनि देश र जनताले यो आठ दशकमा सात वटा संविधान फटाए । सात वटा संविधानको जगमा बसेको नेपाली समाजको वर्तमान परिवेशले आठ दशकदेखि शालिक बनेर बसेका ज्ञात–अज्ञात शहीदहरुको सपना भने असरल्ल अवस्था मै रहेको छ । देशका लागि बलिदानी दिने अमर सपुतहरुले देखेका ती सपनाहरुले मूर्त रुप दिन आजको दिनसम्म हामी सक्षम र सफल हुन नसके पनि धर्मभक्त, शुक्रराज, गंगालाल, दशरथचन्ददेखि सबै ज्ञात–अज्ञात शहीदहरु प्रति पंक्तिकार हृदयदेखि सम्मान र श्रद्धासुमन अर्पण गर्दछ ।

देशले रगत मागे बलि मेरो चढाउ,
रुदीनन् मेरी आमा नेपालकी छोरी,

जस्ता भावपूर्ण र संवेदनशील रचनाहरुको बलमा शहीदले दिएको त्यो बलिदानीको संस्मरण गर्न बाहेक ती शहीदका सपना पूरा गर्ने बाटोमा केही नभएको देख्दा लाग्छ पुर्खाले विरासतमा छोडेर गएको गोर्खालीको इतिहास बेचेर पाएको ब्याज मै रमाइरहेका छौं । विगतमा देशले आफ्नो उत्पादन क्षमता देखाएर जल, जमिन, जडीबुटी, जंगल आदिबाट प्राप्त प्राकृतिक सम्पदाबाट स्वदेशमा मात्र होइन विदेशी मुलुकलाई पनि सहयोग गर्न सक्ने अवस्थामा थियो भने आज अधिकांश क्षेत्र आयातमा परनिर्भर भएको छ ।

विगतको इतिहासको ब्याज खाएर कतिञ्जेल बस्नुपर्ने हो थाह छैन । त्यो बेलाको व्यवस्थित कृषि प्रणाली, कृषि उत्पादनमा बृद्धि, फस्टाउँदो पशुपालन, सुन्दर हरभरा दृश्य, शान्त, विशाल सौम्य भावनाले ओतप्रोत नेपालीको उच्चो शिर तिनै शहीदको सपनाको जगमा बनेको थियो । तर, हाल आएर ती शहीदले स्थापना गरेको गौरव र विचारको रक्षा गर्न हामी पछि परेका छौं ।

पछिल्लो समयमा नेपाली राजनीतिक पृष्ठपोषकहरुले झिना–मसिना घटनाक्रम अनि राजनीतिक स्वार्थ अनुरुप शहीदहरु तोक्ने अनि खुद्रारुपमै शहीदहरुको फेहरिस्त तयार गरिदिएकोमा धेरै जनगुनासोहरु सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिकताको अनुपम अट्टाहसमा मुस्कुराइरहेका हरेक नेपाली अनुहारमा शहीदहरुको अनुहार मुस्कुराइरहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबैतिर शहीदको रगतको रङ्गहरु माटामा मिसिएका छन्, नेपाली आकाशमा उनीहरुको सपना छ अनि नेपाली प्रजातान्त्रिक अभ्यासमा शहीदहरुको निःस्वार्थ बलिदान अतुलनीय छ ।

बालकृष्ण समको त्यो भनाइ देशभक्ति त मर्दैन चुत्थै देश भए पनि भन्ने कुरालाई आत्मसाथ गर्दै मुलुकको गुमेको साख माथि उठाउन र कमजोर हुँदै गएको राष्ट्रियता बलियो बनाउन नेपालले गुमाएका भूगोल माथि हक कायम गर्नै पर्छ । भू–परिवेष्ठित मुलुक भएर मात्र हाम्रो राष्ट्रियता कमजोर भएको भन्ने पनि प्रशस्तै छन् यहाँ । तर, राष्ट्रियता भन्नु भूगोल मात्र होइन, मुटु पनि हो । देशप्रतिको माया पनि हो । हामीमा देशप्रति माया नै भएन भने अरु जुनसुकै बहाना बनाए पनि देशभक्तिको पथमा हामी गन्तव्यविमूख नै रहने छौं । नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको हिसावमा धनी राष्ट्र हो । नेपालको प्राकृतिक र सांस्कृतिक अवस्थाको सुवास विश्वभर फैलिएको छ । नेपालभित्र अनेकौं जाति मिलेर एक साझा सगोलरूपमा प्रजातान्त्रिक मूल्य र मान्यता जोगाउँदै एकीकृत हुँदै आएका छौं । हाम्रो देश सानो भए पनि यहाँ धेरैथरीका जाति छांै ।

यहाँ कुनै पनि समूह, संस्था र जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पूर्ण हुँदैन । नेपालको एकीकरणपछि पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेन थापा, चार अमर शहीद, राजा त्रिभुवन, राजा महेन्द्र, राजा वीरेन्द्र लगायत वीपी कोइराला, गणेशमान सिंह जस्ता देशभक्त प्रजातान्त्रिक योद्धाहरुको योगदान अविस्मरणीय छन् । तर, जुनसुकै सिद्धान्त र राजनीतिक आस्थाका नाममा युगपुरुष राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक फोर्ने, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हटाउने, राष्ट्रपिता त्रिभुवन, आदिकवि भानुभक्त, कवि शिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, धरणीधर, युगकवि सिद्धिचरण श्रेष्ठ, प्रजातन्त्रका योद्धा वीपी कोइराला, गणेशमान सिंह आदि निर्माता, स्रष्टाहरुको तेजोबध गर्न खोज्नु नेपालको अस्तित्वमाथि खेलवाड गर्न खोज्नु हो जुन सबैका लागि निन्दनीय कुरा हो ।

पछिल्लो समय शहीद दिवस केवल औपचारिकतामा सीमित हुन थालेको छ । तर, यस्तो दिवसलाई केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राख्नु बिडम्वना हो । यस्ता अवसरलाई शहीदले देखाएको बाटो र दिशातर्फ इमान्दारीका साथ अग्रसर हुने प्रतिबद्धता जनाउने अवसरको रूपमा लिन सक्नुपर्छ । ती महान् आत्माहरूको सपना साकार पार्न इमान्दार हुने अठोट गर्न सक्नुपर्छ ।

यसो हुन सकेमा मात्र शहीद दिवस मनाउनुको सार्थकता र औचित्य रहन्छ । यसो भएको हुनाले प्रमुख राजनीतिक दलहरुले देश र जनताको सर्वोत्तम हितमा काम गर्न अनि शहीदले देखाएको बाटोमा लाग्न शहीद दिवसले सबैमा प्रेरणा दिओस् भन्ने कामना गर्दछु । देश र जनताका लागि आफ्नो जीवनको आहुती दिने ती तमाम महान शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जलि ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here