बढ्दो सवारी दुर्घटना चिन्ताको विषय

१३ माघ २०७८, बिहीबार मा प्रकाशित

सवारी दुर्घटनामा परी प्रत्येक दिन सख्त घाइते हुने, अङ्गभङ्ग हुने वा मृत्यु हुने गरेका समाचार निरन्तर आइरहेका छन् । झापामा मात्र चालू आ.व. २०७८/०७९ को पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले तथ्याङ्क सार्वजनिक गरेको छ । झापा जिल्लामा चालू आ.व.को पुस मसान्तसम्म तीन सय १३ सवारीसाधन दुर्घटना भएका थिए । उक्त संख्या गत आ.व.को तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आ.व.मा छ सय ५७ सवारीसाधन दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका थिए । ट्राफिक कार्यालय झापाले चालू आ.व.को छ महिनाको अवधिमा सवारी नियम उल्लंघन गर्ने २३ हजार दुई सय सवारीसाधनका चालकलाई कारवाही गरेको र कारवाहीवापत उनीहरुबाट एक करोड छ लाख २२ हजार राजश्व सङ्कलन भएको जनाएको छ । ट्राफिक नियम उल्लंघनका घटना बढ्नु, सडक दुर्घटना बढ्नु र राजश्व बढ्नु चिन्ताको विषय हो ।

ट्राफिक नियम उल्लंघन गर्ने दुईपाङ्ग्रे सवारीसाधनको संख्या अत्यधिक रहेकोले जिल्लामा बर्षेनि सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएको हो । सबै सवारीसाधनमध्ये मोटरसाइकल दुर्घटना बढी देखिएको छ । सवारीसाधनको बढ्दो चाप, सडकको दुरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलना, जाडोको समयमा बाक्लो हुस्सु, मादकपदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेकोमा दुईमत हुन सक्दैन । त्यसरी नै सवारी चालकमा अनावश्यक बढी आत्मविश्वास, चालकमा कमजोर आत्मविश्वास, पैदलयात्रीको लापरवाही, सडकमा अलपत्र छोडिएका गाईवस्तु, जेब्राक्रसिङ तथा अण्डरपास, ओभरहेड पास वा ओभरहेड ब्रिजको अभाव, वैकल्पिक कृषि मार्गको अभाव, स–साना विद्यार्थी नानीहरूमा सडक प्रयोग सम्बन्धी चेतनाको कमी लगायतका कारण पनि सडक दुर्घटना बढेका छन् ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक, पैदलयात्री, ट्राफिक प्रहरी, सडक विभाग लगायत सबै पक्षको समन्वयकारी भूमिका हुनुपर्छ । विद्यार्थीलाई सडकको ठीक ढंगले प्रयोग सम्बन्धी ट्राफिक शिक्षाको जरुरी छ भने रिक्सा, अटो रिक्सा, सफारी, ठेला लगायतका साना सवारीसाधन चलाउनेलाई पनि ट्राफिक शिक्षाको खाँचो छ । बालुवा, गिटी, माटो, ढुंगा ढुवानी गर्ने टिपर अन्य साना सवारी चालक र पैदलयात्रीका लागि डरलाग्दा राक्षस जस्तै हुँदै गएको आजको अवस्था छ । टिपर चालकलाई पनि सडकमा आफू बाहेक अरु साना सवारीसाधन र पैदल हिँड्ने सर्वसाधारण पनि छन् भन्ने महशुस गराउने शिक्षाको आवश्यकता छ । त्यसैगरी बेपर्वाह रूपमा कुदाइएका ट्याक्टरबाट पनि दुर्घटना हुने गरेकाले ट्याक्टर चालकलाई पनि आफ्ना सवारीसाधन ठीक अवस्थामा राख्न र नियन्त्रित ढंगले सवारीसाधन चलाउन ट्राफिक शिक्षाको खाँचो छ । सडकमा परेका खाल्डाका कारण पनि धेरै दुर्घटना भएका छन् । तसर्थ, सडक विभागले सडक मर्मतको काम नित्यनिरन्तर गरिरहनुपर्छ । सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालक र पैदलयात्रीको सबभन्दा ठूलो भूमिका हुन्छ भन्ने सच्चाइलाई आत्मसात गर्न सके धेरै ठूलो संख्यामा सडक दुर्घटना घट्ने निश्चित छ । दोष अरूको थाप्लोमा हाल्नुभन्दा आ–आफ्नो कर्तव्य सबैले पूरा गर्न आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here