यी दुई नेता जसलाई राष्ट्रियसभा प्रवेश गर्न रोकेकी थिइन् राष्ट्रपति भण्डारीले, निर्वाचित भएरै ‘इन्ट्री’ मार्दै

१३ माघ २०७८, बिहीबार मा प्रकाशित

काठमाडौँ,

२०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार थियो। स्थानीय निर्वाचनमा मात्र हैन, प्रदेश-प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा पनि कांग्रेस नराम्ररी पराजित भयो। सरकारबाट जाँदाजाँदै देउवाले आफू निकटका तीन जनालाई राष्ट्रियसभाको सदस्यमा सिफारिस गरे।

संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यीय सभामा तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। सोही अनुसार देउवाले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेका थिए।

देउवा सरकारले माघ २६ गते गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई सदस्यका लागि सिफारिस गर्‍यो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुसार नियुक्ति गरिनन्।

दुई सातापछि देउवा सरकारबाट बाहिरिए। लगत्तै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हाले। ओलीले सत्ता सम्हालेको केही दिनमै डा युवराज खतिवडा, बिमला पौडेल राई र रामनारायण बिडारीलाई उक्त पदमा सिफारिस गरे। राष्ट्रपतिले नियुक्त गरिन्। र, कांग्रेसका तीन नेताको राष्ट्रियसभाको यात्रा त्यतिबेला रोकियो।

आफूहरुलाई मनोनीत नगरेपछि फागुन दोस्रो हप्ता कांग्रेसका नेताहरु सर्वोच्चमा रिट लिएर पुगे। तर फैसला उनीहरुको पक्षमा आएन।

राष्ट्रपतिले रोकेका यिनै दुई जना कांग्रेस नेताहरु बुधबार राष्ट्रियसभामा निर्वाचित भएका छन्। निर्वाचित हुनेमा कांग्रेस पार्टी कार्यालयका मुख्य सचिवसमेत रहेका कृष्णप्रसाद पौडेल र अर्का नेता गोपाल बस्नेत हुन्।

गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका पौडेल वाग्मती प्रदेशबाट ४ हजार ७९४ मतभार प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम एमालेका गोपाल शाक्यले ४ सय ३४४ मतभार प्राप्त गरे। नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरे।

यता प्रदेश १ मा गठबन्धनका उम्मेद्वार रहेका बस्नेत गोलाप्रथाबाट निर्वाचित भएका छन्। बस्नेत र एमालेका उम्मेदवार गुरू बरालले बराबर मत ल्याएपछि गोला भएको थियो। बराबर मत आएपछि गोला तान्दा भाग्यले साथ दिएसँगै बस्नेत निर्वाचित भएका हुन्। दुबै नेता देउवा निकट हुन्।-पहिलोपोष्टबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here