साउदी गएका राजु तीन वर्षदेखि बेपत्ता

१५ माघ २०७८, शनिबार मा प्रकाशित

झापा ।

वैदेशिक रोजगारीमा गएका झापा मेचीनगर–७ स्थित आयाबारी निवासी राजु थापा क्षेत्री विगत तीन वर्षदेखि सम्पर्कविहीन भएका छन् ।

राजु बेपत्ता हुँदा पुरुषविहीन उनका परिवार बिचल्लीमा परेको छ । राजु १० वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । तर, उनी अहिले परिवारको सम्पर्कमा नहुँदा परिवारमा ठूलो पीडा परेको उनकी श्रीमती मनकुमारी थापाले दुखेसो पोखिन् । श्रीमान्को खोजी कार्यमा सहयोग गरिदिन उनले सबैसँग आग्रह गरेकी छिन् ।

२०६८ सालमा श्रीमती, स–साना दुई छोरी र बिरामी भएका बुबा–आमालाई छाडेर राजु काम गर्न साउदी गएका थिए । राजु विदेशमै भएका बेला सडक दुर्घटनामा परेर उनको बुबाको मृत्यु भएको थियो । बुबाको काजकिरियामा पनि छोरा नआएको बताइएको छ । अहिले ठूली छोरी १४ वर्ष र कान्छी छोरी ११ वर्ष पुगेकी छिन् । ठूली छोरीको मानसिक सन्तुलन पनि ठीक छैन ।

‘घर खर्च त के कुरा, श्रीमान नै सम्पर्कमै हुनुहुन्न’– श्रीमती मनकुमारीले भनिन्– परिवार पाल्नै धौ–धौ परिसकेको छ, श्रीमानलाई खोज्न धेरै प्रयास ग¥यौ, अहिलेसम्म उहाँ सम्पर्कमा आउनुभएको छैन । अहिलेसम्म जसोतसो मजदुरी गरी परिवार पाल्दै आएको छु । परिवार पाल्ने अभिभावक नहुँदा निक्कै कठिनाइ भइरहेको छ । मेरो कमाइले परिवार पाल्नु कि छोरी पढाउनु वा बुढी भएकी सासू र छोरीको औषधि उपचार गर्नु ?– उनले पीडा पोखिन् ।

पाँच बर्षअघि मात्र राजुले कम्पनी छाडेर अर्को कम्पनीमा गएको भनी घरमा जानकारी गराएका थिए । घर चाँडै फर्किन्छु भनेका श्रीमान् एकाएक बेपत्ता भएको उनको भनाइ छ । पाँच धुर अर्काको जग्गामा घर बनाएर थापा परिवार बसेको छ । घर व्यवहार चलाउँछु भन्दै ऋण काढेर छोरा विदेश गएको र उतै बेपत्ता भएको उनकी आमा दीपा थापाले बताइन् ।

अलिकति भएको पैसा पनि छोरालाई खोज्दामै सकियो, अब कसरी परिवार पाल्नु ठूलो चिन्ता थपिएको छ । मर्ने बेलामा एक चोटी मात्रै भए पनि परदेशिएको छोराको मुख हेर्ने ठूलो चाहना छ– उनले भनिन् । छोरा जिउँदो छ कि म¥यो त्यो पनि थाह छैन । छोरा सम्पर्कमा पनि आउँदैन । छोरीहरूले बुबा कहिले आउनुहुन्छ भनी सोधी राखेका छन् । अब छोराको खोजीका लागि यो बुढेसकालमा कहाँ जानु ? भएको सम्पत्ति पनि छोराको पखाईमा सकियो’– उनले थपिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here