कुष्ठरोगः ‘रेड जोन’ मा झापा र मोरङ,प्रदेश १ मै छैन सेवा केन्द्र र अस्पताल

0
521

पार्थ मण्डल,
झापा।

प्रदेश १मा कुष्ठरोग सेवा केन्द्र र अस्पताल नहुँदा यहाँका कुष्ठरोगीलाई उपचार गराउन अन्य जिल्ला पठाउनुपर्ने बाध्यता छ ।

प्रदेश १का १४ जिल्लामध्ये झापा र मोरङमा सबैभन्दा बढी कुष्ठरोग लागेका बिरामी रहेका छन् । कुष्ठरोगको उच्च जोखिममा रहेका दुवै जिल्ला ‘रेड जोन’मा परेका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश १ मा ३८५ नयाँ बिरामी देखिएका छन् । प्रति १० हजार जनसंख्याको आधारमा नेपालकै तेस्रो जिल्लाको रुपमा झापामा १ दशमलव ४२ प्रतिशत र ९औं जिल्लाको रुपमा मोरङमा १ दशमलव २१ प्रतिशत कुष्ठरोगी भेटिएका छन् ।

प्रदेश १ का दुई जिल्ला कुष्ठरोगको उच्च जोखिम रहे पनि प्रदेशमै कुष्ठरोग सेवा केन्द्र र अस्पताल नभएको कुष्ठरोग मिसन अस्ट्रेलियाका झापा जिल्ला कार्यक्रम संयोजक परशुराम पोखरेलले जानकारी दिए । गतआर्थिक वर्ष ०७७÷०७८ मा झापामा ९८ कुष्ठरोग लागेका बिरामी फेला परेका थिए । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ३६ जना बिरामी भेटिएका छन् । त्यसमध्ये २१ जनालाई उपचारका लागि धनुषास्थित लालगढ कुष्ठरोग सेवा केन्द्र र ललितपुर लेलेस्थित कुष्ठरोग मिसन नेपाल आनन्दवन अस्पताल पठाइएको कार्यक्रम संयोजक पोखरेलले बताए ।

‘नियमित औषधि सेवन गर्नेलाई समस्या छैन, औषधि सेवा पश्चात् पनि बिरामीको स्वास्थ्यमा जटिल समस्या देखा परेकालाई उपचारका लागि सेवा केन्द्र वा अस्पताल चाहिन्छ’– उनले भने– ‘त्यस्ता बिरामीलाई धनुषा वा ललितपुर पठाउनु बाध्यता छ । प्रदेश १को झापामा कुष्ठरोग सेवा केन्द्र स्थापनाका लागि पहल भइरहेको उनले बताए ।
‘शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय झापाले आइतबार ६९औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले आर्थिक वर्ष ०७७/७८ मा देशभर २ हजार १९७ बिरामी उपचारमा रहेको बताए । रेड जिल्लामा रहेको झापामा ०७५/०७६मा २१२, ०७६/०७७ मा १४०, ०७७/०७८मा ९८ र चालू आर्थिक वर्षको पुससम्म ३६ जना स्वास्थ्यकर्मीको सम्पर्कमा आएका बिरामी भेटिएको उनले बताए ।

जिल्लाको १५ स्थानीयमध्ये सबै बढी कचनकवल गाउँपालिकामा १९, बाह्रदशी गाउँपालिकामा १०, कमल गाउँपालिका ९, बिर्तामोड र भद्रपुर नगरपालिकामा ८÷८ जना बिरामी भेटिएको हो । विश्वमै सबैभन्दा बढी कुष्ठरोगका बिरामी छिमेकी राष्ट्र भारतमा रहेको बताउँदै उनले भने– ‘खुला सीमाना कारण तराईका जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको तथ्याङ्कले पनि पुष्टि गरेको छ ।’

कुष्ठरोग निवारणका लागि सरकारले सन् २०३० सम्म समयावधि तोकेको छ । ‘सरकारको एक्लै प्रयासले यो अभियान सफल हुँदैन, कुष्ठरोगका लक्षण देखिएका व्यक्ति स्वयम् स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ’– उनले भने– ‘छुवाछुत र समाजका कारण अहिलेसम्म कुष्ठरोग लागेका व्यक्ति उपचारमा आउन नचाहेको हो ।’ स्वास्थ्यकर्मीले उनीहरूलाई उपचारसँगै औषधि सेवनको दायरमा ल्याउन घरदैलो अभियान पनि सञ्चालन गर्दै आएको छ ।

कोभिडका कारण पछिल्लो दुई वर्ष अभियान सञ्चालन गर्न नसकेको उनले बताए । ‘कोभिड र कुष्ठरोग एकै प्रकार रोग हो’– उनले भने– ‘दुवै रोग श्वास प्रश्वासको माध्यमबाट सर्छ, त्यसैले समयमा उपचार गराउन स्वास्थ्य चौकीमा सम्पर्क गर्नुहोस् ।’

यस रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हात गोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ । समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ग हुने र ज्यान समेत जान सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here