व्यवसायी मोहन पोखरेलको उदाहरणीय कार्य: असहाय परिवारको घर निर्माण

0
561

झापा, झापाको अर्जुनधारा – ५ नमूना बस्ती (फूलवारी) निवासी राजकुमारी गिरीले ६ सन्तान जन्माइनन् । तर, जन्मिएका कुनै पनि सन्तान जीवित रहेनन् । संखुवासभाका धर्मराज गिरीसँग वैवाहिक जीवनमा बाँधिएपछि उनले जुम्ल्याहा सहित तीन छोरी र तीन छोरालाई जन्म दिएकी थिइन् । जन्मिएका सन्तानमध्ये पाँचौ सन्तान १३ दिनसम्म बाँचे पनि बाँकी सन्तानको भने न्वारन समेत गर्न नपाउँदाको पीडा राजकुमारीसँग अहिले पनि ताजै छ ।
धेरै सन्तान जन्माएकै कारण अहिले उनी ओच्छ्यान परेकी छिन् । मेची अञ्चल अस्पताल भद्रपुरमा जुम्ल्याहा सन्तानलाई जन्म दिए पछि बिरामी बनेकी उनी अहिले हिँड्डुल समेत गर्न नसक्ने अवस्थामा रहेकी छिन् । धेरै सन्तान जन्माएकै कारण आङ खस्ने समस्या देखापरेसँगै राजकुमारी ढाड कुप्रो परेर हिँड्डुल नै गर्न नसक्ने अवस्थामा पुगेको उनका भाइ बिर्तामोड–२ निवासी टंकबहादुर गिरी बताउँछन् । त्यसमाथि उनका दुवै आँखाको ज्योति गुमेपछि उनी लामो समयदेखि ओच्छ्यान परेकी छिन् ।
विवाहपछि सन्तान जन्माउने, हुर्काउने, बढाउने र पढाउने हरेक आमाबुवाको सपना हुन्छ । त्यस्तै सपना थियो राजकुमारीको पनि । जन्मिएको सन्तान हुर्किएला र बुढेसकालमा आमावुवाको सहारा बन्ला भन्ने राजकुमारीमा पनि आशा थियो । तर, जति सन्तान जन्मिँदै गए उति–उति सन्तान गुमाउनु पर्दाको पीडा एकातर्फ छ नै त्यो भन्दा ठूलो पीडा थपियो राजकुमारीको जीवनमा आफै थलिनु ।
एकातर्फ गरिवी, अर्का तर्फ आङ खस्ने समस्या । समयमा उपचार गराउने खर्च नहुँदा दिनदिनै बिरामी पर्दै गएकी राजकुमारी अहिले आँखाको ज्योति समेत गुमाएर थलिएकी छिन् । भएका श्रीमान् धर्मराज गिरीको पनि श्रवण शक्ति छैन् । श्रीमान्÷ श्रीमती नै अशक्त भएपछि इसाराको भरमा चलेको छ– राजकुमारी र धर्मराजको जीवन ।
आर्थिक अवस्था कमजोर भएपछि संखुवासभाबाट झापा बसाईँ सरेका धर्मराजले ३० हजार रुपैयाँ दिएर रामलाल पुरीसँग एक कठ्ठा जमिन जोडेका थिए । त्यही जमिनमा बनिबुतो गरेर सानो घर निर्माण गरेसँगै उनीहरुको जीविका चलेको थियो । तर, राजकुमारी ओच्छ्यान परेपछि धर्मराजको जीवनमा संकट आइप¥यो ।
आफू कान नसुन्ने र श्रीमतीका दुवै आँखाको ज्योति गुमेपछि ओच्छ्यान परेसँगै गिरी परिवारमा बज्रमाथि बज्र परेको छ । बुढेसकाल लागेसँगै उनीहरु सहाराविहीन भएका छन् । शारीरिक अशक्तता, सन्तानको बियोग एकातर्फ छँदैछ भने अर्कातर्फ बिहान बेलुका के खाने भन्ने चिन्ताले समेत पिरोलेको छ– गिरी दम्पत्तिलाई अहिले । घर समेत जीर्ण अवस्थामा पुगेपछि उनीहरु अहिले भाञ्जा प्रताप पुरीको सहारामा बसेका छन्. ।

लामो समेदेखि मामामाइजूको हेरचाह गर्दै आएका प्रतापले माइजू थलिएसँगैको पीडा सुनाउँदै भने– ‘अहिले मामामाइजूको जेनतेन हेरचाह गर्दैछौं, थलिएकी माइजू कुन बेला आगोमा पर्नु हुन्छ भन्ने ठूलो चिन्ता छ । सँधै घरमा रहन पाइँदैन, मामाको पनि भर छैन, माइजूले बोलाएको मामा सुन्नु हुन्न, मामालाई ढुक्कै माइजू छाड्न मिल्ले भए पनि त केही समस्या हल हुने थियो । अहिले मामा माइजुसँगै हामी पनि यही भूमरीमा रुमल्लिएका छौं ।’
मामा गर्न सक्ने हुञ्जेल जसोतसो परिवार धान्नु भएको थियो– प्रतापले भने– अहिले मामा पनि बुढ्यौलीले काम गर्न सक्नु हुन्न, माइजूको यो हालत छ । के गर्ने के नगर्ने ? आफैं दोधारमा छौं । माइजूको उपचारका लागि कतैबाट सहयोग जुटे गुमेको आँखाको ज्योति फर्काउन सकिन्छ कि भन्ने आशा छ । राम्रो ठाउँमा उपचार गराउन पाए माइजू हिँड्डुल गर्न सक्नुहुन्थ्यो होला तर केले गर्ने उहाँहरुसँग एक रुपैयाँ निकाल्ने अवस्था छैन ।


मामामाइजूको यो अवस्था देखेर सहारा नेपालका दाइ महेन्द्र गिरीले उहाँहरुको घर बनाइ दिने भन्नुभएको थियो– प्रतापले भने – ‘अहिले मामा माइजूको घर बन्दैछ । पुरानो जीर्ण बनेको घर हटाएर महेन्द्र दाइकै पहलमा यो घर बनेको हो’– निर्माणाधीन घर देखाउँदै प्रतापले भने –‘यो घरको विषयमा हामीलाई केही थाह हुन्न सबै सामग्री उतैबाट आएर धमाधम घर निर्माण भइरहेको छ ।’ दशैंमा महेन्द्र दाइ यो ठाउँमा आउनु भएको थियो– प्रतापले भने – ‘मेरा मामामाइजूको यो अवस्था देखेपछि उहाँले केही गर्नु पर्ला भन्दै फर्कनु भएको थियो । नभन्दै अहिले उहाँकै पहलमा यो घर बनिरहेको छ ।’
यता सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले राजकुमारी र धर्मराज गिरीको घर निर्माणमा बिर्तामोडका मोहन पोखरेलले आर्थिक सहयोग पु¥याएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– एक बिपन्न परिवार–श्रीमान् बोल्न नसक्ने (श्रीमती आँखा नदेख्ने) लाई व्यक्तिगत रूपमा मोहन पोखरेल सरको आर्थिक सहयोगमा हस्तान्तरण हुन लागेको घर । यसरी नै हुने व्यक्तिले नहुनेको एक–एक घर बनाइँदिदा पनि घरको समस्या समाधान हुने थियो ।


ह्याविट्याडसँगको सहकार्यमा प्रदेश नम्वर १मा विपन्न आवास कार्यक्रम सञ्चालन गर्दै आएको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक समेत रहेका गिरीले घर नहुने परिवारका लागि हुने परिवारले सहयोग पु¥याए घरको समस्या समाधान हुने सार्वजनिक रुपमै उल्लेख गरेका छन् ।


यता बिर्तामोडका व्यवसायी मोहन पोखरेलले आफूले कमाएको हिस्साबाट गिरी दम्पत्तिको घर निर्माणमा सहयोग पु¥याएको बताएका छन् । एक हुने नागरिकले एक विपन्न परिवारको घर निर्माणमा सहयोग पु¥याउने विषयमा महेन्द्र गिरी सरले मलाई सल्लाह दिएपछि आफूले गिरी दम्पत्तिको घर निर्माणमा सहयोग पु¥याएको पोखरेलले बताए ।
महेन्द्र सरकै प्रेरणाबाट यो कामको थालनी गरेको हुँ– पोखरेलले भने– एक हुने खाने व्यक्तिले आपत विपद्मा परेका एक व्यक्तिलाई मात्रै सहयोग गर्ने हो भने देशभरकै समस्या हल हुने रहेछ अहिले मलाई आफै अनुभव भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here