यथासमय निर्वाचन गर

0
468

यसबेला हाम्रो विभिन्न तहको सरकार निर्माण गर्ने आवधिक निर्वाचनको चर्चा जोडतोडले उठेको छ । तीन तहको निर्वाचन एकैपटक गर्ने कि चरण–चरणमा गर्ने भन्नेमा पनि फरक–फरक मत सार्वजनिक भइरहेका छन् । सरकार स्थानीय निर्वाचनलाई पछि धकेल्न कोशिस गर्दैछ भन्ने प्रतिपक्षीको आरोपको पनि सत्तारुढ गठबन्धनले आगामी जेठसम्ममा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेर खण्डन गरिसकेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सम्पन्न बैठकले आगामी जेठसम्ममा स्थानीय तहको निर्वाचन गर्ने निर्णयसहित सरकारलाई सिफारिस गरिसकेको सन्दर्भले स्थानीय तहको निर्वाचन सुनिश्चित भएको छ । स्थानीय तहको निर्वाचनका बारेमा कतिपय नेताले सत्ता साझेदारले स्थानीय तहको निर्वाचन पछि धकेल्न खोजेको आरोप लगाएका थिए ।

सत्ता साझेदार पाँच दलको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ मसान्तसम्ममा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सूचना दिएपछि यस सम्बन्धी आशंका हटेको छ । यसका सम्बन्धमा उत्पन्न हुनसक्ने कानूनी जटिलता र कानूनी बाधाहरु हटाएर निर्वाचनको तयारी गर्न गठबन्धनले सुझाव पनि दिएको छ । यद्यपि सत्ता साझेदार दलहरुको सुझाव र सिफारिस मात्रैले विद्यमान जटिलता अन्त्य हुन्छ भन्ने अवस्था छैन । लामो समयदेखि प्रतिनिधिसभाको नियमित बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुचारु हुन दिएको छैन । सर्वोच्च अदालतमा विचाराधीन संसद सदस्यको सदस्यताको विषयमा लगातार संसद अवरोध गरेर बसेको एमालेले अवरोध नखोलुञ्जेल विद्यमान समस्याको अन्त्य हुने देखिँदैन ।

देशको भौगोलिक, आर्थिक तथा सुरक्षाका दृष्टिले पनि चरणबद्ध निर्वाचन गर्नैपर्ने हुन्छ । निर्वाचनको जिम्मेवारी संविधानतः निर्वाचन आयोगकै हो । सरकारको सिफारिसमा निर्वाचनसँग सम्बन्धित व्यवस्था र आधार तयार गर्नुपर्ने आयोगले सरकारको सिफारिसका आधारमा यथासमय निर्वाचन गराउनु पर्दछ । गठबन्धनको सरकारले संवैधानिक व्यवस्था अनुसार प्रदेश तथा संसदको निर्वाचनका लागि समेत वातावरण तयार गर्न अग्रसरता देखाउनु पर्दछ । सत्ता साझेदार दलहरु स्थानीय निर्वाचन गर्न चाहँदैनन् भन्ने आरोप खण्डन गर्दै भएको निर्णयले सरकारलाई काम गर्न सहज बनाइदिएको छ । तर, त्यसका लागि संसद अवरोध गरेर बसेको एमालेको इमान्दारिता देखिनु पर्दछ । यसतर्फ आम नागरिक तथा सम्बद्ध पक्षको पनि ध्यान जानुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here