झापा । 
नेकपा एमालेको भातृ संस्था प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका छन् ।
झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेलले मंगलवार एक प्रेस बक्तव्य प्रकाशित गरी आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका हुन् ।
विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै विभिन्न जिम्मेवारी सम्हालिरहेका मेचीनगर–६ काँकरभिट्टा निवासी पौडेल २०६४ सालदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्य भई हालसम्म सक्रिय रहेका थिए ।
नेकपा एमालेले प्रजातान्त्रिक पद्धति एवम् लोकतान्त्रिक विधि र नीतिको पालना नगरेको र व्यक्तिवाद हावी भएका कारण एमाले पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले आजैका मितिबाट नेकपा एमालेको सदस्य एवम् प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने प्रेस बक्तव्यमा पौडेलले उल्लेख गरेका छन् ।































