सांस्कृतिक विशिष्टताको पर्व ल्होसार

0
671

बहुजातीय विशेषता भएको नेपालमा आज तामाङ समुदायको ल्होसार पर्व । यो जातिले आजदेखि नयाँ वर्षमा प्रवेश गरेको मान्यता अनुसार हर्ष बढाइँ गर्दै ल्होसार मनाउँछन् । विशेष परम्परा र संस्कृतिको पर्व ल्होसार बौद्धमार्गीहरुको बाहुल्य रहेको देशका विभिन्न भाग र विदेशमा पनि मीठो खाएर, नाचगान गरेर पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परम्परा रहेको छ । तामाङ जाति प्रकृति पूजक जाति हो, यसैले आजको दिन परम्परा अनुसार कुल पूजा गर्दै प्रकृतिलाई समेत पूजा गरी आभार र कृतज्ञता प्रकट गर्दछन् । तामाङ बाहेक शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा लगायतका जातिले आ–आफ्नो जातीय परम्परा अनुसार ल्होसार मनाउने गरेका छन् ।

ल्होसार मनाउने समुदायमा ल्होसार बाह्रवटा हुन्छन् । ती वर्षहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता जीवजन्तु र पशुपंक्षीको नामबाट राखेको हुन्छ । अलग–अलग जातिले कुल र प्रकृतिको पूजा गर्ने समान मान्यता रहे पनि तोला, सोनाम, ग्याल्पो भनेर विभिन्न जातिले ल्होसार मनाउँछन् । यस अनुसार आज सोनाम ल्होसार तामाङ जातिको बसोबास भएको देशका विभिन्न भागमा र विदेशमा पनि उत्तिकै श्रद्धा र भक्तिपूर्वक मनाउने गरिएको छ । यस अवसरमा तामाङ समुदायले घर–बस्तीहरु सफा गरी भगवान बुद्धको पूजा–अर्चना गर्दछन् । गाउँका मुखिया र लामाको उपस्थितिमा सबैजना एकै ठाउँमा भेला भएर नाचगानसहित रमाइलो गर्ने परम्परा छ ।

परम्परागत भेषभुषामा सजिएका युवा, बालबालिका र वृद्धवृद्धाहरु सांस्कृतिक परम्परा अनुसार नकारात्मकता हटाउन, नवीन आशा जगाउन र शक्ति आर्जन गर्न तान्त्रिक विधि अनुरुप नृत्य समेत गर्छन् । आफ्ना गुरु लामासँग आशिर्वाद लिइ आउने दिनहरु सुखद् होउन्, प्राकृतिक लगायतका विपत्तिहरु नआउन् भन्ने अपेक्षासहित मेला समेतको आयोजना गरिन्छ । विविधताको सुन्दर फूलबारी भनिनुका पछि नेपालका विशिष्टता मध्येको एउटा पर्व हो सोनाम ल्होसार । यो र यस्ता पर्वहरुले हाम्रा पहिचानलाई कायम राख्दै बन्धुत्व, सहदृयता, सहिष्णुता र एकात्मकता कायम राखोस् । हाम्रा यस्ता विशिष्टताहरु नवपुस्तामा हस्तान्तरण हुँदै हार्दिकता र प्रेम बलियो हुँदै जाओस् सोनाम ल्होसार पर्वको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here