गल्ती गर्ने दण्डित हुनुपर्छ

0
627

नक्कली तथा अवैध काम गर्नु अपराध हो । कानूनले नदिएको काम नक्कली हो र अवैध पनि । समाजलाई नीति–नियम, कानून र व्यवस्था अनुरुप चल्न र गलत काम गर्नेलाई दण्डित गर्न प्रहरी–प्रशासनको व्यवस्था गरिएको हुन्छ । हामीकहाँ अवैध काम गर्नेहरु कानूनद्वारा वर्जित तथा प्रतिबन्धित काम गर्नेहरु पक्राउ परेका समाचार पनि दिनहुँ आउँछन्÷आइरहेकै छन् । तर, त्यस्तो काम गर्नेहरु दुरुत्साहित भएको, अपराध कर्महरु न्यूनीकरण हुँदै गएको सुन्न र पढ्न पाइँदैन । भनिने गरेको छ ‘कानून सानालाई मात्र लाग्छ, ठूलाहरु कानूनभन्दा माथि हुन्छन्’ यस्तै देखिएको पनि छ विगतदेखि नै । समाजमा व्याप्त यस्ता सामाजिक, आर्थिक तथा अख्तियार दुरुपयोग सम्बन्धी अपराधका थुप्रै घटनाहरु समाचार बनिन्छन् । तर, थोरैमात्र कानूनको दायरामा आउँछन् र अझै थोरै दोषीहरु दण्डित हुन्छन् ।

हेर्दा सानो लाग्ने तर अत्यन्त संवेदनशील अपराधको सूचीमा थपिन थालेको छ, स्वास्थ्य परीक्षण सम्बन्धी नक्कली रिपोर्टका घटना । वैदेशिक रोजगारीमा जाने नेपालीले वर्तमानको कोरोना महामारीका कारण पीसीआर परीक्षण गराउनु पर्ने हुन्छ । राजधानीका नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पतालका कर्मचारीहरुले कोरोना परीक्षण गर्ने पीसीआरको नक्कली रिपोर्ट बनाइदिएर ठूलो रकम लिने गरेको रहस्य खुलेको छ । गएको मंगलबार महानगरीय अपराध महाशाखाले ती अस्पतालहरुमा कार्यरत कर्मचारीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा अवैध कार्यमा संलग्न रहेको खुलेको हो । यस्तो अवैध कार्य विचौलियाको सहयोगमा संगठित रुपमा भइरहेको प्रहरीको भनाइ छ ।

प्रविधिको विकास, पहुँच र प्रयोगले मानिसको जीवन पद्धतिमा सुधार आएको छ र परिवर्त पनि ल्याएको छ । तर, त्यही प्रयोग तथा उपलब्धी कहिलेकाहीँ मानिस कै लागि प्रत्युत्पादक पनि बनिन्छ । कोरोना नभएको रिपोर्ट लिएर विदेश जानेहरु नक्कली रिपोर्टकै आधारमा पक्राउ परे वा कोरोना नै पुष्टि भएको खण्डमा त्यसले निम्त्याउने जोखिम सबैका लागि हानिकारक हुनसक्छ । पैसा कमाउने लोभमा स्वावबिनै परीक्षण र नेगेटिभ रिपोर्ट दिने काममा संलग्न अस्पतालका सञ्चालकहरु भने फरार रहेको प्रहरीले जनाएको छ । सियो चोर्नेले घर फोर्न सक्छ, तसर्थ अवैध काम गर्ने जो कोही दण्डित हुनुपर्छ अनि मात्र जनताले सुशासनको अनुभूति गर्न पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here