झापा ।

अस्ट्रेलियास्थित लान्सेस्टन नेपाली फुटबल क्लबले मोटरसाइकल दुर्घटनामा परी ओच्छ्यान परेका बिर्तामोड नगरपालिका–७ निवासी ३५ वर्षीय जयकुमार चौधरीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
लान्सेस्टन नेपाली फुटबल क्लबका सदस्य अनिल मैनालीको पहलमा संकलन गरी पठाइएको एक लाख रुपैयाँ एलिजा रायमाझीले जयको घरमै पुगेर उनकी श्रीमती बबिता चौधरीलाई हस्तान्तरण गरेकी छिन् ।
गत मंसीर २८ गते जय मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । मोटरसाइकलमा सवार उनी घरतर्फ जाँदै गरेको अवस्थामा पुलबाट तल खस्दा गम्भीर घाइते भएको उनकी श्रीमती बबिताले जानकारी गराएकी एलिजाले बताइन् ।
मोटरसाइकल दुर्घटनामा परेपछि उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड भर्ना गरिएको थियो । त्यहाँ ५७ दिन उपचार गराउँदा १७ लाख रुपैयाँ खर्च भएको थियो । जयको स्वास्थ्य अवस्था जटिल छ । महिना दिनदेखि ओच्छ्यानमा थला परेका छन् । उनको टाउको बाहेक अन्य कुनै अङ्ग चल्दैन ।
आर्थिक अवस्था पनि कमजोर भएको र उपचारमा पनि ठूलो रकम खर्च भएकोले अस्ट्रेलियास्थित लान्सेस्टन नेपाली फुटबल क्लबका पदाधिकारीबाट एक लाख रुपैयाँ संकलन गरी पठाएको क्लबका सदस्य मैनालीले बताए ।
हाल जयको महिनामा थेरापी गराउन मासिक ४० हजार खर्च लाग्दै आएको छ । घाइते भएका जय पेशाले गाडी चालक हुन् । उनी जिल्ला निर्वाचन कार्यालय झापामा चालक थिए ।































