संक्रमण, त्रिफला र चम्लागाँई पुरस्कृत हुँदै

0
686

बिर्तामोड ।

जयेन्द्रप्रसाद साहित्य सेवा कोषले २०७८ सालमा पुरस्कृत गर्ने वर्षोत्कृष्ट कृति, दीर्घ साहित्य सम्मान र धनमाया सक्रिय पत्रकारिता पुरस्कृत प्रतिभा छनौट गरेको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले छनौट समितिले ल्याएका पुरस्कृत कृति, दीर्घ साहित्य सम्मान तथा पत्रकार प्रतिभालाई अनुमोदन गरेको हो ।

यस वर्ष २०७७ सालमा प्रकाशित कृतिहरु मध्येबाट राजेन्द्र संग्रौलाद्वारा लिखित ‘संक्रमण’ छनौटमा परेको छ । संग्रौलाले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले फैलाएको संत्रास र आफ्नो भोगाइलाई पुस्तकमा उतारेका छन् ।

त्यस्तै यसवर्षको दीर्घ साहित्य सम्मानका लागि झापाको धुलावारीमा अवस्थित त्रिफला राष्ट्रिय पुस्तकालयलाई छनौट गरिएको छ । वर्षौंदेखि सञ्चालनमा रहेको पुस्तकालयलाई दीर्घ साहित्य सम्मान व्यक्ति वा साहित्य क्षेत्रमै क्रियाशील संस्थालाई प्रदान गर्न सकिनेकोषको विधान बमोजिम यस वर्ष त्रिफलालाई प्रदान गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी बर्षोत्कृष्ट धनमाया सक्रिय पत्रकारितातर्फ कारोबार दैनिकमा झापा समाचारदाता मनिषा चम्लागाँईलाई प्रदान गर्ने छनौट समितिको निर्णयलाई अनुमोदन गरेको छ । कोषले यसअघि २०७७ सालमा प्रकाशित कृतिहरु मध्येबाट उत्कृष्ट कृति छनौटका लागि उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा सचिव राजेन्द्र प्रसाईसहितको छनौट समिति गठन गरेको थियो ।

त्यस्तै विष्णुचन्द्र–पद्मा–दीर्घ साहित्य सम्मान प्रतिभा छनौटका लागि कोषका अध्यक्ष प्रसाईको संयोजकत्वमा महासचिव छविलाल खतिवडा र सचिव राजेन्द्र प्रसाई सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी बर्षेनि प्रदान गर्दै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका लागि कोषका सदस्य लोकराज ढकालको संयोजकत्वमा सदस्य रेजिना गौतम र यज्ञप्रसाद पाठक सदस्य रहेको छनौट समिति गठन गरिएको थियो ।

तीनवटै समितिले पुरस्कारका लागि सिफारिस गरेका कृति तथा प्रतिभा अनुमोदन गरेको हो । पुरस्कारको राशि समान २१/२१ हजार रहेको कोषका कोषाध्यक्ष डिल्लीराम प्रसाईले जानकारी दिए । पुरस्कार आगामी फागुन ७ गते शनिबारका दिन एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने बैठकले निर्णय गरेको कोषका सदस्य गौतम शर्मा शिवाकोटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here