आदिवासी जनजाति महासंघले धानेको नेपालको गौरव

0
476

विश्वकै सबैभन्दा ठूलो मेला ‘दुबई एक्स्पो २०२०’ मा गत बिहीबार फेबु्रअरी ३ तारिखको दिन यूएई सरकारले ‘नेपाल डे’को रूपमा मनाएको छ । एक सय बयानब्बे देशहरुले भाग लिएको उक्त विशाल मेलामा सहभागी देशहरूका राष्ट्रप्रमुख वा सरकारका विशेष प्रतिनिधिको उपस्थितिमा यूएईले सम्मानका रूपमा हरेक देशको राष्ट्रिय दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । यस्तै प्रचलन स्वरुप गत बिहीबार ‘नेपाल डे’ मनाइएको हो ।

नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत ढकालको उपस्थितिमा यूएई सरकारले नेपाललाई सम्मान व्यक्त गरेको हो । कार्यक्रममा यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीको सहभागिता रहेको थियो । कार्यक्रममा यूएईले राजदूत ढकालसहित कुटनीतिक प्रतिनिधिलाई विभिन्न बाजागाजा र झाँकीसहित परेडको आयोजना गरेर एक्स्पो स्थल परिक्रमा गरायो ।

कार्यक्रमका लागि नेपालबाट सांस्कृतिक संस्थानका १० जना कलाकारसहित निमित्त कार्यकारी निर्देशक शुयेश खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव देवीप्रसाद थपलियाको उपस्थिति रहेको थियो । अन्य देशहरुको सम्मानमा मनाइने दिवसमा राष्ट्र प्रमुख वा मन्त्रीहरुको विशेष उपस्थिति हुने गरे पनि नेपालको भने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उपस्थितिमै काम चलाइएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीले नेपाल र यूएई सम्बन्ध थप प्रगाढ र बलियो भएको बताए । यूएईमा अहिले पनि दुई लाख चालिस हजार नेपाली कार्यरत रहेको तथ्य उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध नागरिक स्तरमा फैलिएको र यसले झन् प्रगाढ बनाउने विश्वास हुसानीले व्यक्त गरे । कार्यक्रममा सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईले नेपाललाई गरेको सहयोगको लागि यूएई सरकारलाई धन्यवाद व्यक्त गरे । राजदूत ढकालले नेपालले भोगेको भूकम्प जस्तो प्राकृतिक प्रकोप तथा कोरोना महामारीको समयमा यूएईले गरेको सहयोग सधैँ सम्झनायोग्य रहेको भन्दै आगामी दिनहरुमा यो सम्बन्ध अझ बलियो बन्ने विश्वास ब्यक्त गरे ।

राजदूत ढकालका अनुसार यूएईमा हाल दुई लाख ५० हजार नेपालीहरु कार्यरत छन् । यो संख्यामा भिजिट भिसामा काम खोज्न आएकाहरु समाहित छैनन् । सन् २०२१ मा मात्र ८० हजार नेपालीहरु भिजिट भिसामा यूएई पुगेका थिए । जसमध्ये ७२ हजार वैदेशिक रोजगारीको लागि गएको अनुमान छ । कति जना फर्के वा अन्य मुलुकतर्फ गए भन्ने तथ्यांक नेपाल सरकारसँग छैन ।

सन् १८५० मा लण्डनमा पहिलो एक्स्पो सम्पन्न भएको थियो । एक सय ७० बर्षको इतिहास बोकेको यो दुबई एक्स्पो २०२० लाई भने नेपाल सरकारले त्यति महत्वका साथ हेरेको पाइएन । एक्स्पोमा रहेका विभिन्न देशहरुका पेबेलियनहरु मध्ये सम्भवत् नेपालको पेबेलियन खासै हेर्न लायक र देख्न लायक छैन । धार्मिक र सांस्कृतिक महत्व बोकेका बौद्ध स्तुपा, कुमारी, रातो मच्छिन्द्र नाथ, सेतो मछिन्द्र नाथ, स्वयम्भू, पशुपतिनाथ लगायतका नेपालका नोट तथा पुराना टिकटहरु प्रदर्शनीमा राखिएका छन् । अन्तर्राष्ट्रिय महत्व बोकेको यो प्रदर्शनी केन्द्रमा नेपालको उपस्थिति नै महत्वपूर्ण छ भनेर मन बुझाउनु बाहेक विश्वलाई आकर्षण गर्ने कुनै खास लाग्ने नयाँ खुराक भने भेटिन्न ।

दुबई एक्स्पो २०२० यसअघि २० अक्टोबर २०२० देखि शुरु भएर १० अप्रिल २०२१ मा गर्ने तय गरिएको थियो । कोरोना महामारीको कारण यसलाई एक बर्ष पछि सारियो । अर्थात् १ अक्टोबर २०२१ देखि ३१ मार्च २०२२ सम्म प्रदर्शनी केन्द्र चल्नेछ । यसलाई विश्वका ठूला–ठूला आविस्कारहरुको पहिलो प्रदर्शनी केन्द्रको रुपमा लिइन्छ । टिभी लाइभ प्रशारण सन १९३९ मा न्यूयोर्कमा सम्पन्न भएको एक्स्पोमा पहिलो पटक प्रदर्शन गरिएको थियो भने अहिले बजारमा आएको अल्ट्रा एचडीटिभी सन् २००५ मा जापानमा पहिलो पटक प्रदर्शन गरिएको हो ।

त्यसैगरी पहिलो मेकानिकल कम्प्युटरको प्रदर्शनी पनि यही एक्स्पोमा सन् १८६२ मा लण्डनमा गरिएको थियो । पहिलो टेलिफोनको प्रदर्शनी सन् १८७६ मा र मोबाइल फोनको पहिलो प्रदर्शनी सन् १९७० मा जापानको ओशाकामा गरिएको थियो । यस्तै फ्रान्सको चर्चित आईफल टावरको प्रदर्शनी सन् १८८९ मा गरिएको थियो । विश्वका ठूला–ठूला आविस्कारहरु यही प्रदर्शनी केन्द्रमा आम सर्वसाधारणको लागि पहिलो पटक देखाइने गरिन्छ । जुनपछि गएर सर्वसाधारणको प्रयोगको लागि बजारमा पठाइन्छ । दुबईमा आयोजना गरिएको यो एक्स्पोमा हालसम्ममै ठूलो ‘डोम’ बनाइएको छ । जसलाई अल वासल प्लाजा डोम नाम दिइएको छ ।

संसारभरका देशहरुलाई आफ्नो प्रगति संसारलाई देखाउने र सुनाउने मौकाको रुपमा यो प्रदर्शनीलाई लिइन्छ । दुबई एक्स्पो २०२० ले सबैको क्षमतालाई एकसाथ ल्याऔं, आउने भविस्यको रचना गरौं (Connecting Minds, Creating the future) भन्ने नारा तय गरेको छ । अवसर, गतिशिलता र स्थिरता यो मेलाका उद्देश्य रहेको छ ।

आदिवासी जनजाति महासंघले बढाएको गौरव

आदिवासी जनजाति महासंघ यूएई शाखाले दुबई एक्स्पोमा हरेक हप्ता जस्तो नेपाली संस्कृति झल्किने विभिन्न जातजातिका झाँकी प्रदर्शनी, लाखे नाच तथा विविध परम्परागत नृत्य प्रदर्शन गर्ने गरेको छ । वैदेशिक रोजगारीका लागि दुबई पुगेका नेपालीहरुले स्वतःफूर्त रुपमा उक्त कार्य गरेका हुन् ।

गत बिहीबार सम्पन्न ‘नेपाल डे’मा पनि संघले जनजातिहरुको मौलिक पहिरनसहितको रातो मच्छिन्द्रनाथ रथको परेड मार्च, लाखे नाच र सी–स्टेज प्रस्तुति दिएर कार्यक्रममा रौनक ल्याएको थियो । उक्त संघमा किरात, नेवा पुचः, तामाङ, मगर, सुनुवार, थारु, शेर्पा, तमु, भुजेल समाज गरेर ११ वटाभन्दा बढी जातजातिका संगठनहरु आवद्ध छन् । हरेक साप्ताहिक छुट्टीको दिन पारेर यी संस्थाहरुले विभिन्न प्रदर्शनी गरिरहेका हुन्छन् ।

विश्वकै ठूलो प्रदर्शनी केन्द्रमा जनजातिहरुले यो अवसर पाउनु गौरवको कुरा हो, नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक पासाङ शेर्पाले भने नेपालको इज्जतलाई उँचो बनाउन र नेपालभित्रको विविधतालाई विश्वसामु चिनाउन यो प्रदर्शनी केन्द्र निकै महत्व बोकेको हुनाले हामीले हरेक हप्ता जस्तै छुट्टीको समयमा बिभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छौं । यसले नेपाललाई विश्वमा चिनाएको छ । आदिवासी जनजाति महासंघ यूएई शाखाकी अध्यक्ष बिजय लक्ष्मी राईले यो अवसरलाई नेपालीहरुको पहिचानलाई विश्वभर स्थापित गर्न कोशेढुङो हुने विश्वास व्यक्त गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here