संगीत क्षेत्रमा अपूरणीय क्षति

0
620

तीन वर्षअघि चीनबाट शुरु भएको महामारीले मानव सभ्यतामै ठूलो क्षति पु¥याएको छ । लाखौं मानिसको असमय मरण भएर भएको क्षति बेहिसाब छ । समय–समयमा रुप परिवर्तन गर्दै विस्तार हुँदै गएको कोरोना भाइरसका कारण ज्यान गुमाउन बाध्य परिवारको पीडा कहिल्यै कुनै विधिले पनि कम गर्न सक्दैन । अहिले पनि त्यसकै परिवर्तित स्वरुप ओमिक्रोनले विश्वभरि नै त्रास सिर्जना गरिरहेको छ । यद्यपि त्यसको असर अघिल्लो रुपको भन्दा कम विनाशक भनिएको छ । तथापि संक्रमण रोकिएको छैन, मृत्युदर कम भए पनि मरण भइरहेकै छ । यही ओरालो लागेको संक्रमणका बीच पूर्वी संसारकी संगीत क्षेत्रकी उज्ज्वल नक्षत्र लता मङ्गेशकरको स्वर्गारोहण भएको छ । हजारौं कर्णप्रिय तथा कालजयी गीत–संगीतको स्रष्टाको देहावसानले सांगीतिक क्षेत्र अहिले शोकमा डुबेको छ ।

संगीतलाई कुनै पनि देशको भूगोलले अलग गर्न सक्दैन । भनिन्छ, संगीतले मानिस र प्राणी मात्रलाई होइन सारा प्रकृतिलाई आकर्षित गर्न सक्ने क्षमता राख्छ । त्यसैले हुनसक्छ लताको श्वरले नेपाली संगीत जगत पनि प्रभावित थियो । विश्वलाई संगीतको जादुले आफूतर्फ आकर्षित गर्न सक्ने उनको क्षमतालाई कतिपयले ‘ईश्वर प्रदत्त’ क्षमता भन्ने गरेका थिए । विश्वका छत्तीस वटा भाषामा पचास हजारभन्दा बढी गीतमा स्वर दिएकी लताले चलचित्रकै मात्रै हजारभन्दा बढी गीत गाएकी थिइन् । तेह्र वर्षकै उमेरदेखि गायन यात्रा शुरु गरेकी विश्वभरका उनका प्रशंसकहरुले अत्यन्त सम्मान गरेर ‘दिदी’ भनेर सम्बोधन गरिएको लताले छत्तीस वटा भाषामा गीत गाएकी थिइन् । ती मध्ये नेपाली भाषामा गाएको गीत पनि त्यत्तिकै चर्चित छन् ।

कोकिल श्वरकी धनी लताको निधनले संगीत क्षेत्रलाई अपूरणीय क्षति पु¥याएको छ । भारतका सर्वोच्च सम्मानद्वारा सम्मानित उनको निधनमा भारत सरकारले दुई दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेर उनीप्रति विशेष सम्मान प्रकट गरेको छ । अनौपचारिक शिक्षा मात्र लिएको लता मङ्गेशकरको सांगीतिक यात्रा र प्राप्त सफलता उनको कठोर साधनाको प्रतिफल थियो । स्वधर्म र संस्कृतिमा रमाउनुपर्छ र त्यस्तै मर्नुपर्छ भन्ने मान्यता राख्ने लता दिदीको जीवनबाट ग्रहण गर्नुपर्ने कुरा धेरै छन् । नेपाली संगीत क्षेत्रमा लाग्नेहरुले उनको जीवन र कर्मबाट प्रेरणा लिन सक्ने नेपाली संगीतले पनि नयाँ उचाइ प्राप्त गर्न सक्छ । अलविदा स्वरकिन्नरी लता दिदी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here