आफ्नै माटोमा रमाउन सिकौं

0
567

वैदेशिक रोजगारी नेपालीको सर्वोत्तम रोजाइ हुन थालेको छ । स्वदेशमा रोजगारको सुनिश्चितता नभएकाले आफू र आफ्नो परिवारको लालन–पालन, शिक्षा–स्वास्थ्य लगायतका आवश्यकता पूरा गर्ने एकमात्र भरपर्दो माध्यम वैदेशिक रोजगारी भन्ने मनस्थितिले लाखौं युवा विदेशिएका छन् । विदेशिएका सबैले अपेक्षित काम पाएका छैनन् र सेवा–सुविधा पनि उपभोग गर्न सकेका छैनन् । विदेशमा गर्नुपर्ने काम र त्यसका लागि आवश्यक पर्ने सिप र क्षमताको अभावमा जोखिमपूर्ण काम गर्नुपर्दा धेरैको ज्यान पनि गएको छ । यस्तो दुरावस्था नआओस् भन्नका लागि सरकारका तर्फबाट व्यावसायिक तथा सिपमूलक प्रशिक्षण प्रदान गरिएको पनि छ । तर, सबैले नियम र न्यूनतम् मापदण्डको पालना नगर्दा शारीरिक, मानसिक क्षति मात्र होइन मृत्यु नै वरण गर्नुपरेको दुःखद् अवस्था पनि व्यहोर्नु परेको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले वैदेशिक रोाजगार विभाग गठन गरेको छ । उसले यस सम्बन्धी अवस्था, व्यवस्था र चुनौतिहरुको अध्ययन, अनुगमन र नियन्त्रणको काम गर्दछ । उसकै तथ्यांकले नेपालबाट सबैभन्दा बढी अदक्ष कामदार खाडी मुलुक जाने गरेको देखाएको छ । रोजगारीमा गएका मध्ये चौहत्तर प्रतिशत कामदार अदक्ष छन् भने अर्ध दक्ष र दक्ष गरी चार प्रतिशत खाडी मुलुकमा पुगेका छन् । त्यस बाहेकका अर्थात् बाइस प्रतिशत नेपाली विकसित मुलुक गएका छन् । वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले कोरोनाकालमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कम भएको भन्दै श्रम स्वीकृति लिएर जानेहरु नियम र सुविधाको पहुँचमा नआउने बताए ।

रोजगारीमा जानेहरुलाई व्यवस्थित गर्ने उद्देश्यले स्थापित वैदेशिक क रोजगार बोर्डले दिएको तथ्यांक अनुसार प्रत्येक पछिल्लो आर्थिक वर्षमा रोजगारमै रहँदा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । आ.व. ०७५–०७६ मा वैदेशिक रोजगारीमा गएका मध्ये तीन सय तेत्तीस जनाको मृत्यु भएको थियो भने पछिल्लो अर्थात् आ.व. ०७७–०७८ मा यो संख्या बढेर एक हजार दुई सय बयालीस पुगेको छ । ती मध्ये अनौपचारिक, व्यक्तिगत रुपले जानेहरु न तथ्यांकमा समेटिन्छन् न त क्षतिपूर्ति र राहत मै । बोर्डकै अध्ययनले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लापरवाही कै कारण मृत्यु हुने गरेको देखाएको छ । प्रचण्ड गर्मीमा कामबाट फर्किए लगत्तै एसी चलाउने, चिसो पिउने, चिसोपानीले नुहाउने, अत्यधिक मदिरा पिउने जस्ता लापरवाहीले नेपालीको ज्यान जाने गरेको छ । त्यसबाहेक कामका विषयमा कुनै सिप नसिकेकै कारण दुर्घटनामा पर्ने गरेको पनि पाइएको छ । त्यसैले आफ्नो माटोमा रमाउन, बाँच्न र संघर्ष गर्ने रस नभिजुञ्जेल यसले निम्त्याउने पीडाको पनि अन्त्य हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here